कीर्तिपुर, १ असार । जनसाहित्य गोष्ठी पाँगा कीर्तिपुरको आयोजनामा भएको पाँचौँ नेपालभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमका कलाकार र प्रशिक्षकहरूलाई ललितपुर बुङ्गमतीस्थित कार्यविनायक परिसरमा प्रशंसापत्र वितरण गरियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् साहित्य गोष्ठी आयोजनाका संयोजक नारायण महर्जनले जनसाहित्यको सांस्कृतिक कार्यक्रम र साहित्य वाचनले आफ्नो प्रतिभा प्रस्फुटन हुने बताउनुभयो ।
उहाँले खोकना र बुङ्गमतीको फास्ट ट्रयाक, स्मार्ट सिटी, हाइटेन्सन लाइन, बागमती करिडोरजस्ता परियोजनाले ती ऐतिहासिक सहरको सम्पदा र भूमिमाथि राज्यले दोहन गर्न खोजेको बताउनुभयो । अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले जनसाहित्यबाट जनचेतना जगाउन सांस्कृतिक कार्यक्रम एउटा राम्रो माध्यम बनेको छ भन्नुभयो ।
साहित्य गोष्ठीका अध्यक्ष बुद्धिमान महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नृत्य प्रशिक्षक सुजिता श्रेष्ठ र नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा बुद्धिमान महर्जनले २८ जना कलाकारहरूलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।