भर्खरै :

हायातका मजदुर काममा फर्किए

काठमाडाँै, ४ असार श्रम ऐन, २०७४ ले तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हयात रिजेन्सी, काठमाडौँ) का मजदुर आजदेखि काममा फर्किएका छन् ।
श्रम तथा रोजगार कार्यालयले मजदुरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर्ण श्रमिक काममा फर्किएको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर सङ्घका महासचिव एवं हयात होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले जानकारी दिनुभयो । श्रम कार्यालयले सेवा सुविधा प्राप्त गर्ने कानुनी बाटो खुला गरेकाले आन्दोलन नगरी काममा फर्कन मजदूरलाई आग्रह गरेको थियो ।
मजदुर काममा फर्के पनि व्यवस्थापनले अझै पनि होटल सञ्चालन गरेको छैन । “आन्दोलरत मजदुर सबै काममा फर्केका छन्”, अध्यक्ष दाहालले भन्नुभयो, “तर होटल व्यवस्थापनले अहिलेसम्म बुकिङ खुला गरेको छैन, व्यवस्थापकले गैरकानुनी बन्द कायमै राखेको छ ।” मजदुर काममा फर्किए पनि होटलमा कुनै चहलपहल देखिएको छैन ।
पछिल्लो समयमा होटल व्यवस्थापनले निरन्तर घाटा देखाएर सरकारी स्वामित्वको तारा गाउँ विकास समितिलाई कम शेयर दिएकाले होटल विवादित बन्दै आएको थियो । होटललाई शेयर संरचना परिवर्तन गरेर सरकारी शेयर ३९ प्रतिशतबाट नौ प्रतिशतमा झारेको र ३०४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ । “जग्गा र शेयरको विवादका कारण व्यवस्थापक होटल पुनः सञ्चालन गर्नबाट पन्छिन खोजेका छन्”, उहाँले भन्नुभयो, “मजदुरका कारण होटल बन्द भयो भनेर व्यवस्थापन भाग्न खोजिरहेको छ ।”
मजदुरले खाइपाई आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरिएकाले बाध्य भएर सङ्घर्षमा उत्रिनुपरेको अध्यक्ष दाहालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *