भर्खरै :

के चीन अमेरिकाको लागि खतरा हो ?

वसन्त पञ्च
इतिहासको पाना पल्टाउने हो भने एक साम्राज्यवादी देशले आफ्नो हैकम जमाउन र आफ्नो स्वार्थ पूर्तिको लागि कमजोर देशमाथि हस्तक्षेप गरेको पाइन्छ भने आफ्नो विपक्षमा उठ्न सक्ने प्रतिद्वन्द्वी देशको खुट्टा तान्ने काम गरेको पाइन्छ । उदाहरणको लागि दोस्रो विश्वयुद्धपछि संरा अमेरिका र रुसबीचको शीत युद्धलाई हामी हेर्नसक्छौँ । यसरी नै अहिले चीनलाई भौतिक, राजनीतिक तथा आर्थिकरूपमा प्रतिद्वन्द्वीको रुपमा लिएको अमेरिकाले चीनको खुट्टा तान्न लागिपरेको छ । संरा अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१८ जनवरी ३० तारिखको दिन एक औपचारिक कार्यक्रममा चीनलाई एक प्रतिद्वन्द्वी र खतरा भएको उल्लेख गरेका थिए । त्यसैगरी अमेरिकी रक्षा सचिव रेक्स तिलर्सनले चीनलाई ‘नयाँसाम्राज्यवादी शक्ति’ र ‘लुटाहा पात्र’ को रुपमा चित्रण गरेका थिए ।
संरा अमेरिकी राष्ट्रपति रक्षा सचिवजस्ता उच्च पदका व्यक्तिहरुको भनाइले अमेरिकाको आर्थिक, व्यापारिक, सैनिक तथा कूटनीटिक स्थिति निकै कमजोर रहेको एकातिर बुद्धिजीवीहरुको अनुमान छ भने अर्कोतिर चीनको बढ्दै गइरहेको विकासको तुलनामा अमेरिकाले आफूलाई असम्भव ठानेकोले चीनलाई खतराको रुपमा लिएको भनाइ छ । अमेरिका अहिले एसियामा युद्ध छेडी चीनलाई युृद्धमा फसाउन चाहन्छ । कोलम्बियाको पनामाका आदिवासीहरुलाई विद्रोह गराउन लगाई पनामा क्षेत्र कब्जा गरी त्यहाँ जहाज चल्ने नहर बनाएको अमेरिकाले प्रशान्त महासागरबाट एसिया पुग्ने छोटो बाटो बनाई हवाई, ग्वाम, फिलिपिन्स गर्दै अहिले चीनमा समेत व्यापार युद्धको रुपमा हमला गर्न पुगेका छन् । व्यापार युद्धका कारण अहिले चीन र अमेरिकाको सम्बन्ध एक गम्भीर चौबाटोमा उभिन पुगेको छ । यी दुई राष्ट्रले द्वन्द्वको बाटो लिन्छन् वा आपसी संवादबाट सम्बन्ध व्यवस्थित गर्छन्, यो यसै भन्न सकिने अवस्था छैन ।
तर व्यापार युद्ध लम्बिदै जाने हो भने यी दुई देशको आर्थिक र कूटनीतिक सम्बन्धमात्र नभई पुरै संसारकै आर्थिक स्थितिमा धक्का पुग्ने निश्चित छ । तसर्थ व्यापार विवादको समस्या समाधान गर्न चीनले आफ्नो खुलापनलाई अझ विस्तार गरी बहुपक्षवादलाई निरन्तरता दिनुपर्छ भने अमेरिकाले एकपक्षवाद वा संरक्षणवादी नीतिलाई त्याग्नुपर्छ । ताइवान टापुमा स्थिरता कायम राखी एक चीन नीतिलाई संरा अमेरिकाले सम्बोधन गर्नुपर्छ । त्यसैगरी दक्षिण सागरमा संरा अमेरिकाले जलयात्राको स्वतन्त्रताको नाममा गर्दै आएको गतिविधिलाई विरोध गर्दै आएको चीनले संरा अमेरिकालगायत सम्बन्धित देशहरुको जलयात्राको स्वतन्त्रता र सुरक्षाको संयुक्त चासोलाई सम्बोधन गरी रणनीतिक संवादद्वारा उपर्युक्त समाधान निकाली यी दुई देशबीचको सम्बन्धलाई अझ दिगो र स्थायी बनाउनु आजको आवश्यकता देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *