के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
–अभिनव प्रकृति
काठमाडौँउपत्यकाका जनता दशकौँदेखि काकाकुलको अवस्थामा छन् । काठमाडौँउपत्यकामा तीव्रदरमा बसाइसराइ हुन थालेदेखि बस्ती विस्तार र जनसङ्ख्या वृद्धि हुन थाल्यो र यहाँउपलब्ध खानेपानी अपर्याप्त हुन गयो । यहाँको खानेपानी समस्या समाधान गर्ने घोषित उद्देश्यले एसियाली विकास बैङ्कसँग ऋण लिएर मेलम्ची खानेपानी परियोजना सुरु गरिएको थियो । मेलम्ची आयोजना जनचासोको विषय बन्दै आएको छ । सञ्चारकर्मीहरूले मेलम्चीका हरेकजसो प्रगति र बिसङ्गतिलाई समाचार बनाएर जनतामाझ राख्दै आएका छन् । भित्री चलखेल र लेनदेनका कुराबाहेक अरू सबै कुरा जनतामाझ स्पष्ट छ । हरेक विभागीय मन्त्रीहरूले आफ्नो कार्यकालभित्रै मेलम्ची परियोजना पूरा हुने र काठमाडौँका धाराहरूमा मेलम्चीको पानी झर्ने बताउँदै आएका छन् । तर, व्यवहारमा परियोजना कुनै न कुनै रूपमा ढिला हुन थालेको छ । मेलम्चीलाई हरेक सरकार र खानेपानीसम्बन्धी मन्त्रीहरूले आफ्नो दुनो सोझ्याउने मेसोमात्र बनाएको आरोप लाग्दै आएको छ ।
राष्ट्रिय योजना आयोगमा बुधबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले मेलम्ची खानेपानी आयोजनाको प्रसङ्ग निकाल्दै आफूलाई सही ब्रिफिङ नहुँदा आयोजना प्रभावित भएको बताए । पछिल्लो समय गत असोज कार्तिकमै र पछि चैत वैशाखसम्ममा काठमाडौँउपत्यकावासीले मेलम्चीको खानेपानी खान पाउने छन्, उपयोग गर्न पाउने छन् भनी प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले पटकपटक बोलेकै कुरा हो । पछि इटालियन कम्पनी सीएमसी समयमै कामको भुक्तानी नपाएको भन्दै काम छोडेर गएको थियो । इटालियन कम्पनीसित कामको ठेक्का रकम भुक्तानी गर्न कमिसन माग गरिएको कुरा सो कम्पनीले खुलासा गरेकै थियो । त्यत्तिखेर विभागका सचिवको सरुवा गरियो तर समस्या समाधान गर्ने ध्येयले सरकारले कार्यरत निर्माण कम्पनीसित वार्ता गरेन । न त नेकपाका शक्तिशाली अध्यक्षका बुहारी खानेपानीमन्त्री विना मगरसित प्रधानमन्त्री ओलीले स्पष्टीकरण माग्न सक्यो न समस्या समाधान गर्न नै । फलतः झण्डै ९५ प्रतिशत काम सम्पन्न भइसकेको भनिएको मेलम्ची अलपत्र अवस्थामा पुगेको छ ।
अहिले आएर प्रम ओलीले मेलम्ची खानेपानी आयोजनाको बारेमा आफूलाई सही ब्रिफिङ नभएको बताउनु पानीमाथि ओभानो बस्ने चालबाहेक अर्थोक होइन । प्रम ओली संवेदनशील हुन् भने राष्ट्रिय समाचारपत्रहरूले प्रकाशन गरेका समाचारहरू नै सही र सत्यतथ्य जानकारीका निम्ति पर्याप्त थियो । मेलम्चीका बारेमा आफूलाई सही ब्रिफिङ्ग नगरिएको र जानकारी नै नभएको भनेर प्रमले एकातिर जनता ढाँट्ने असफल प्रयास गरेका छन् भने अर्कोतिर आफूले अन्तर्राष्ट्रिय गुणस्तरको वर्षको करोडौँरुपैयाँबढीको प्रशोधित मिनरल वाटर खाएर राजधानीका जनताले भोग्दै आएको खानेपानी समस्यामा आफू संवेदनहीन रहेको तथ्य आफैले उदाङ्गो पारेका छन् ।
Leave a Reply