भर्खरै :

एटीएमबाट बीस लाख निकाल्ने पक्राउ

काठमाडौँ, ६ असार (रासस) ः नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न कार्डको प्रयोग गरी अनाधिकृत रुपमा एटीएमबाट रकम निकालेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले फ्रड प्लाष्टिक म्यागनेटिक कार्डको प्रयोग गरी राष्ट्रिय वाणिज्य बैंकको विभिन्न एटीएम शाखाबाट रु २० लाखभन्दा बढी रकम निकाल्ने बाराका ३३ वर्षीय राजुकुमार पाण्डेलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक रेग्मीले विभिन्न कार्डको प्रयोग गरेर गैरकानुनी रुपमा रकम निकालेको सूचनाका आधारमा पाण्डेलाई पक्राउ गरिएको जानकारी दिनुभयो । “पाण्डेले विदेशी नागरिकसँग मिलेर उक्त पेशा गर्दै आएको र विदेशी नागरिक अहिले नेपाल बाहिर रहेको अनुसन्धानमा खुलेको छ,” उहाँले भन्नुभयो ।
पक्राउ पाण्डेसँग प्रहरीले सादा कार्ड दुई थान, मोबाइल एक थान, मोटरसाइकल एक थान, ल्यापटप एक थान र रकम बरामद गरेको छ । पाण्डेलाई उच्च अदालत पाटनबाट सातदिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *