भोटेकोसी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
- भाद्र १४, २०८३
भक्तपुर, १४ भदौ । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) ले भदौ १० गते रसुवा जिल्लाको भोटेकोसी नदीमा बाढी आई नदीको आसपास तथा नुवाकोट एवं धादिङ जिल्लामा डुबानका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । विज्ञप्तिमा भनिएको छ –
प्राकृतिक विपद्का कारण कतिपय स्थानमा मानिसहरूको मृत्यु भएको र बेपत्ता हुनुका साथै ठुलो सङ्ख्यामा नागरिकहरू विस्थापित भएका, घर तथा भौतिक संरचनामा क्षति पुगेको र सडक, पुल, विद्युत् तथा सञ्चार सेवासमेत प्रभावित भएको घटनाले सङ्घलाई अत्यन्त दुःखी बनाएको छ । यस विपद्मा परी ज्यान गुमाउनु हुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । बेपत्ता नागरिकहरूको शीघ्र खोजी तथा सकुशल उद्धारका लागि हार्दिक अनुरोध गर्दछौँ ।
सङ्घ सरकार, स्थानीय तह, सुरक्षा निकाय, आदिलाई विपद् प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार, राहत तथा उपचार कार्यलाई प्रभावकारी र समन्वयात्मक रूपमा अगाडि बढाउन हार्दिक आग्रह गर्दछौँ ।
विशेष गरी बाढी तथा पहिरोका कारण जोखिममा परेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समुदायको सुरक्षालाई प्राथमिकतामा राखी सुरक्षित स्थानमा स्थानान्तरण, खाद्यान्न, खानेपानी, औषधि, अस्थायी आवास तथा आवश्यक शैक्षिक सामग्रीको तत्काल व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।
यस दुखद् परिस्थितिमा सङ्घअन्तर्गतका सम्पूर्ण विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारलाई आफ्नो क्षमताअनुसार विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न हार्दिक आह्वान गर्दछौँ ।
साथै, विपद्को समयमा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिन सक्ने भ्रामक सूचना र अफवाहबाट सचेत रहन तथा आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन सबैमा अनुरोध गर्दछौँ ।
संस्थागत विद्यालय सङ्घ, नेपाल विपद् प्रभावित नागरिकको दुःखमा साथमा रहेको प्रतिबद्धता व्यक्त गर्दै मानवीय सहयोग, उद्धार, राहत र पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्य गर्न सदैव तयार रहेको जानकारी गराउँदछौँ ।
Leave a Reply