जात्रा, संस्कृति र सम्पदा संरक्षण गर्नु आवश्यक
- भाद्र १३, २०८३
काठमाडौँ, १२ भदौ । नेपालभाषाका वरिष्ठ कवि पूर्णबहादुर वैद्यको ८५ औँ जन्मोत्सवको अवसरमा उहाँको आफ्नै घरको आँगनमा कवि वैद्यको प्रतिमा अनावरण तथा स्तुपा प्रतिस्थापन शुक्रबार एक कार्यक्रमबिच सम्पन्न भयो ।
कार्यक्रममा कवि वैद्यबारे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को सन्देश साहित्यकार प्रतिसरा सायमीले वाचन गर्र्नुभएको थियो ।
कवि वैद्यको प्रतिमा अनावरण गर्दै नेपालभाषाका साहित्यकार तथा समालोचक पुष्प चित्रकारले कवि वैद्य परम्परावादी कविहरूलाई चुनौती दिने, साधारण जनताले बुझ्ने जनपक्षीय कविता लेख्ने विद्रोही स्वभावका हुनुहुन्थ्यो भन्नुभयो ।
कवि वैद्यले गद्यशैलीको कविता लेख्नुको साथै कवितामा नयाँ नयाँ बिम्बको प्रयोगको थालनी गरेको उहाँले बताउनुभयो ।
कवि तथा साहित्यकार डा. योगेन्द्रभक्त प्रधानाङ्गले कवि वैद्य आफूभन्दा उमेरले केही वर्ष जेठो भए पनि विक्रम संवत् २०१४ सालदेखि उहाँसँगै रहेको स्मरण गर्नुभयो ।
“भक्तपुर क्याम्पस केही वर्षअघि स्थापना भएको भए त्यतिबेलाका अध्ययनशील युवाहरू पढाइको निम्ति काठमाडौँमा बस्नुपर्ने बाध्यता आउने थिएन”, उहाँले भन्नुभयो ।
कवि वैद्यको काव्यिक विशेषता सरल भए पनि काव्यमा हुनुपर्ने गुणको कारण उहाँको रचना कहिलेकाहीँ क्लिष्ट देखिने प्रधानाङ्गले बताउनुभयो ।
बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले विद्यार्थीकालमा आफूहरूले प्रकाशित गर्ने पत्रिकामा अन्तर्वार्ता लिन तथा तःमुंज्या कार्यक्रममा आमन्त्रण गर्न कवि वैद्यकहाँ आइराख्ने स्मरण गर्नुभयो ।
राजनीतिक रूपमा सचेत र विदेशी थिचोमिचोको विरोधमा सडकमा उत्रने कवि वैद्यको व्यक्तित्व आफूलाई गर्व लाग्ने उहाँले बताउनुभयो ।
नेपालभाषाका साहित्यकार हितवीर सिं कंसाकारले सधै मुसुमुसु हासिरहने कवि वैद्यको कवितामा आफ्नै जीवन दर्शन र विद्रोही भाव देखिने बताउनुभयो ।
नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले कविमात्र नभइ अन्यायको विरोधमा सडकमै ओर्लने कवि वैद्य अभियन्ता पनि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालभाषा साहित्य जगतले प्रतिसरा सायमी, मोतीलक्ष्मी शाक्य, सुलोचना मानन्धरजस्ता हस्तीहरू पाउनु कवि वैद्यकै देन हो ।”
कार्यक्रममा नेपालभाषा तःमुंज्याका अध्यक्ष आशकुमार चिकंबन्जार, युवाकवि दामोदर सुवाल तथा प्राध्यापक समाज नेपालका अध्यक्ष सरोजराज गोसाईको उपस्थिति थियो ।
प्रतिमा अनावरणपछि उपस्थित साहित्यकार, परिवारजन तथा आफन्तहरूलाई प्रतिमामा फूलको गुच्छा अपर्णको लागि कवि वैद्यका जीवन सङ्गिनी मीरा वैद्यले अनुरोध गर्नुभएको थियो ।
नेमकिपाका अध्यक्ष बिजुक्छेँको सन्देश
१२ भदौ २०८३
श्री मीरा वैद्यज्यू,
साहित्यकार प्रतिसरा सायमी र जानकी रघुवंशीज्यू !
नेपालभाषाको आधुनिक कविताका अग्रणी, निबन्धकार, लेखक एवम् कथाकार पूर्णबहादुर वैद्य मेरो विद्यार्थी कालदेखिकै साथी हुनुहुन्छ । ‘बौद्धिक विकास मण्डल’ नामको एक पुस्तकालयका हामी कार्यकर्ता पनि थियौँ । उहाँको पहिलो कवितासङ्ग्रहमा ‘म मास्टर’ शीर्षकको कविता लेखेर उहाँले आफूलाई यथार्थवादी तथा प्रगतिशील कवि भएको प्रमाण दिनुभयो ।
कवि वैद्यले अमेरिकी साम्राज्यवादले एसियाको एक देश भियतनाममाथि गरेको अन्यायपूर्ण आक्रमणको विरोध गर्नुभयो । लेखक वैद्यको ‘घटना’ शीर्षकको निबन्धमा लेनिनका दाजुलाई रुसका राजा जारमाथि बम प्रहार गरेको कारणले ज्यान सजाय दिएको विषयवस्तु समेटिएको छ । आतङ्कवाद तथा अराजकतावादले क्रान्ति पूरा गर्न सक्दैन, बरू ठुल्ठुला ऐनकानुन बनाएर जनतालाई दबाउने हतियार बन्नसक्ने भन्ने लेनिनको व्याख्या वैद्यको निबन्धमा उल्लेख थियो । दाजुको ज्यान सजायबारेको ‘घटना’ पछि लेनिनले समाजवादी क्रान्तिबारे गम्भीर अध्ययन गर्नुभयो, रुसी समाजवादी क्रान्तिको नेता बन्नुभयो, साथै संसारमै सबभन्दा पहिलो समाजवादी राज्य सोभियत सङ्घको स्थापना गर्न आफ्नो जीवन अर्पण गर्नुभयो । यसरी पूर्ण वैद्य एक आतङ्कवाद तथा अराकतावादीविरोधी बन्नुभयो । विद्यार्थीहरूको ‘क्रान्ति’ नामको नेपाली तथा नेपालभाषाको एक हस्तलिखित पत्रिका पूर्ण वैद्यकै सम्पादनमा प्रकाशित हुन्थ्यो ।
‘सिनां दाजु’ शीर्षकको एक कथामा कामगरी खाने श्रमिकहरूको परिश्रमको फल र परिवारको बन्दोबस्त हुनुपर्ने तर्क गर्दै कथाकार वैद्यले पुँजीवादी व्यवस्थाको ठाउँमा समाजवादी व्यवस्था आवश्यक भएको पक्षमा वकालत गर्नुभयो । त्यस अर्थमा उहाँलाई एक प्रगतिशील लेखक भनेर सम्बोधन गर्नु आवश्यक छ ।
पूर्ण वैद्यको प्रतिमा अनावरण तथा चैत्य स्थापना गर्ने शुभ दिनमा आफ्नो स्वास्थ्यको कारण उपस्थित हुन नसक्दा सा¥है नरमाइलो महसुस भएको छ । कार्यक्रममा सहभागी सबै लेखक तथा अतिथि सबैलाई धन्यवाद ¤
(कवि पूर्ण वैद्यको प्रतिमा अनावरण कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालभाषामा पठाउनुभएको लिखित सन्देशलाई नेपाली भाषामा अनुवाद गरिएको छ–सं)
Leave a Reply