भर्खरै :

अकल्पनीय जनधनको क्षतिप्रति नेमकिपाद्वारा गहिरो दुःख प्रकट

अकल्पनीय जनधनको क्षतिप्रति नेमकिपाद्वारा गहिरो दुःख प्रकट

काठमाडौँ, ११ भदौ । बुधबार भोटेकोसी नदीमा आएको भेलबाढी र पहिरोले रसुवा, नुवाकोट, धादिङ जिल्लामा पु¥याएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै नेपाल मजदुर किसान पार्टीले बिहीबार प्रेस विज्ञप्ति निकालेको छ । पार्टी केन्द्रीय सदस्य एवं नेमकिपा बागमती प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईको हस्ताक्षरमा बिहीबार प्रकाशित विज्ञप्तिमा भनिएको छ –
“यही भाद्र १० गते बुधबार बिहान करिब ९ बजे अचानक भोटेकोसी नदीमा आएको भेलबाढी र पहिरोले रसुवा, नुवाकोट, धादिङ जिल्लामा पु¥याएको अकल्पनीय जनधनको क्षतिप्रति नेपाल मजदुर किसान पार्टी गहिरो दुःख व्यक्त गर्दछ ।
यो भेलबाढी तथा डुबानमा परेकाको खोजी, उद्धार, राहत, पुनःस्थापना तथा घाइतेहरूको यथोचित उपचारको बन्दोबस्त तत्काल गर्न हामी नेमकिपाका नेता, कार्यकर्ता र शुभेच्छुकहरू नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।
यो विपद्को समयमा सबै नेपाली जनता एकजुट भई उद्धार, राहत र पुनःस्थापनाको कार्यमा लाग्नु पहिलो कर्तव्य भएको यहाँ जोड दिन्छौँ ।
यो विपत्तिमा जीवन गुमाएका नेपाली र विदेशी नागरिकहरूप्रति पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछ । यो विपत्तिमा नैतिक, भौतिक एवम् आर्थिक सहयोग गर्ने सबैप्रति पार्टी धन्यवाद ज्ञापन गर्दछ । साथै प्रभावित क्षेत्रमा सम्भावित स्वास्थ्य सङ्कटलाई ध्यानमा राखी स्वास्थ्य टोली परिचालन एवम् शीघ्र स्वास्थ्य सामग्री उपलब्ध गराउन आह्वान गर्दछौँ ।
पार्टीले २५–३० वर्ष अघिदेखि पानीको बहाव नाप्ने हाइड्रो ल्याव बनाउनुपर्ने विषय उठाउँदै आएकोलाई अहिलेसम्मका सरकारहरूले बेवास्ता गर्दा जनधनको क्षति बढ्यो । ढिलै भए पनि हाइड्रो ल्याव निर्माण गरी थप जनधनको क्षति रोक्नु आवश्यक छ ।
प्राकृतिक विपद्बारे समयमा पूर्वसूचना प्राप्तिको संयन्त्र निर्माणमा सरकारले छिमेकी मित्र देश चीनसँग समेत सहकार्य गर्नु जरुरी भएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउँदछौँ । उच्च जोखिम कायम नै रहेको र पुनः बाढी आउने अनुमानलाई ध्यानमा राखी सजगता अपनाउन आह्वान गर्दछौँ ।
भेलबाढीबाट प्रभावित हुन सक्ने महाकाली, कर्णाली, कोसी, मेची नदीलगायतको छेउछाउका बस्तीहरूको अध्ययन गरी ती बस्तीलाई सरकारले सुरक्षित स्थानमा स्थानान्तरण गर्न अथवा उपयुक्त विकल्पको तयारी गर्न पनि नेमकिपा आह्वान गर्दछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *