भर्खरै :

“नेपालभाषा साहित्य तःमुंज्याले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नेपाली जनतालाई शिक्षित र सचेत पार्दै आएको छ”

“नेपालभाषा साहित्य तःमुंज्याले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नेपाली जनतालाई शिक्षित र सचेत पार्दै आएको छ”

भक्तपुर, १४ भदौ । पीखुकगू नेपालभाषा साहित्य तःमुंज्या ग्वसाखलः कार्यालयको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले आइतबार एक कार्यक्रमबिच गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेपालभाषा साहित्य तःमुंज्याले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नेपाली जनतालाई शिक्षित र सचेत पार्दै आएको हो† यसपालि यी विषयलगायत हिमपहिरो पीडित जनताको दुःख पीडाबारे तःमुंज्याको दबुमा प्रस्तुत हुनु उपयुक्त हुन्छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेपालभाषा साहित्य तःमुंज्यालाई जनताले नै माथि उकास्नुपर्ने बताउँदै भाषा संरक्षणसँगै समाजलाई जागरुक बनाउने काममा पनि तःमुंज्याले भूमिका खेल्दै आएको बताउनुभयो ।
उहाँले पहाडी क्षेत्रमा विपद्को जोखिमलाई ध्यानमा राख्दै भ्युटावर निर्माणभन्दा सम्भावित विपद्को पूर्वसूचना दिन साइरनलगायतका व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । देश अहिले पीडामा रहेको उल्लेख गर्दै उहाँले देशको वर्तमान अवस्था र जनताको समस्यालाई साहित्यमा समेट्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्य अभिलेख हो, साहित्य इतिहास बन्छ, त्यसैले देशका समस्याका विषयमा साहित्य लेखिनुपर्छ ।”
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्जारले साहित्यभित्र पनि वर्ग हुने भएकोले आफूहरूले लेख्ने साहित्यले कामदारवर्गको बोली बोल्नुपर्ने धारणा राख्नुभयो । उहाँले नेपाली भाषाका सामग्री नेपालभाषामा अनुवाद गर्दा शब्दशः अनुवाद मात्र पर्याप्त नहुने भन्दै भाषाको मर्म र भावलाई ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका सल्लाहकार तथा जनकवि चन्द्रबहादुर उलकले दबाइराखिएको जनताको भाषा तथा मातृभाषालाई माथि उकास्न नेपालभाषा साहित्य तःमुंज्याको जन्म भएको बताउनुभयो ।
उहाँले साहित्य लेखनसँगै नेपालभाषा र विभिन्न लिपि सिकाउने अभ्यासलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
पीङाकगू नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष रवीन्द्र खर्बुजाले तःमुंज्या सबैको साझा कार्यक्रम भएको बताउँदै यसलाई सफल बनाउन ग्वसाखलका सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले तःमुंज्यालाई सामूहिक सहभागिताबाट सफल बनाउने अभ्यास विगतदेखि नै चल्दै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पीखुकगू नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष उकेश कवांले नेपालभाषा साहित्य तःमुंज्या कामदारवर्गको आवाज बोल्ने क्षेत्र भएको बताउँदै विभिन्न समितिहरूको सक्रियताले तःमुंज्या भव्यरूपमा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पीखुकगू नेपालभाषा साहित्य तःमुंज्याका सचिव पुरुषोतम ग्वाछाले नेपालभाषा साहित्य तःमुंज्या सबैको साझा कार्यक्रम भएकाले सबै मिलेर सफल बनाउनुपर्ने बताउनुभयो ।
पीखुकगू नेपालभाषा साहित्य तःमुंज्या आगामी कार्तिक ६ र ७ गते गोमारीमा आयोजना हुँदै छ । तःमुंज्यालाई सफल बनाउन विभिन्न समितिहरू गठन गरी तयारीलाई तीव्रता दिइएको आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *