भर्खरै :

इन्काउन्टरको संस्कृति विकास हुँदै जाँदा कानुनी राज्यको उपहासः आयोग

काठमाडाँै, ७ असार । काठमाडौँ–राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले इन्काउन्टरको संस्कृति विकास हुँदै जाँदा कानुनी राज्यको उपहास हुने भन्दै सरकार र मातहतका निकायलाई त्यसतर्फ सचेत बन्न सुझाव दिएका छन् ।
आयोगले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले पछिल्लो समय इन्काउन्टर संस्कृति विकास हँुदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।
कुनै पनि आपराधिक घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरी अपराध प्रमाणित गर्नुपर्नेमा प्रहरीले आफ्नो सजिलोका लागि इन्काउन्टर शब्द प्रयोग गरी व्यक्तिहत्या गर्ने प्रवृत्ति बढ्दै जाँदा त्यसले कानुनलाई उपहास गर्ने उनको भनाइ थियो ।
उनले भने, “इन्काउन्टर संस्कृतिको विकास भयो भने कानुनी राज्यको उपहार गर्छ ।”
चरि, घैटे र भक्तपुरका बालक अपहरण पछि हत्यामा संलग्न दुईजनाको इन्काउन्टरमा मृत्यु भएको घटनालाई आयोगले अध्ययन गरिररहेको पनि उनले स्पष्ट पारे ।
पछिल्लो समय नेत्रविक्रम चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको इन्काउन्टरमा मृत्यु भएको छ ।
प्रहरीले दोहोरो भिडन्तमा मारिएका दाबी गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु (प्रकरण) ले नयाँ मोड लिएको छ ।
प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षीसहित सत्तापक्षकै सांसदले नक्कली भिडन्तको आशङ्का व्यक्त गर्दै गृहमन्त्रीको जवाफ माग गरेका छन् ।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकले स्थलगत अनुसन्धान सुरू गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले दोहोरो भिडन्तमा पौडेल मारिएको बताएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै उसले “दुईवटा मोटरसाइकलमा रहेका चारजनाले गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ गोली चलाएपछि प्रहरीले आत्मरक्षाको निम्ति जवाफी फायर गर्दा एकजनाको घटनास्थलमै मृत्यु भएको” उल्लेख गरेको छ ।
प्रहरीले “बरामद परिचयपत्रको आधारमा मृतक कुमार पौडेल भएको, उनी चन्दको दलको सर्लाही जिल्ला इन्चार्ज रहेको तथा उनीविरूद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएको अभिलेखबाट खुलेको” जनाएको छ ।
तर चन्दको दलको जनकपुर ब्युरोले “साथीहरू कुरिरहेको बेला पौडेललाई नियन्त्रणमा लिएर गोली हानेर हत्या गरेको” आरोप लगाएको छ ।
विप्लवले पनि वक्तव्यमा ‘राजनीतिक कार्यक्रम सकेर फर्किंदै गर्दा पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको’ र सरकारले ‘गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न भिडन्तको कथा सार्वजनिक गरेको’ उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *