जारशाही संसद्मा बोल्शेभिक सांसद–३
- कार्तिक २१, २०८२
(सोमबारबाट प्रारम्भ भएको भक्तपुर नगरपालिकाको पाँचौँ नगर सभामा प्रमुख सुनिल प्रजापतिले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम)
– प्रजातन्त्र र गणतन्त्र स्थापनाका लागि भएका जनआन्दोलन एवम् सङ्घर्षहरूमा आफ्नो जीवन बलिदान गर्नुभएका प्रातःस्मरणीय सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ । जनआन्दोलनमा घाइते हुनुभएका, प्रवास र भूमिगत भएर राजनैतिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौँ ।
– नेपालको संविधानबमोजिम स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष पूरा भयो । यस अवधिमा भक्तपुर नगरपालिकाका हामी जनप्रतिनिधिहरू नगर र नगरवासीहरूकै हितलाई केन्द्रमा राखेर काम गर्दैछौँ । नगरपालिकाको काममा सधैँ साथ र सहयोग गर्नुहुने सम्पूर्ण नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ र निरन्तर सहयोगको अपेक्षा पनि गर्दछौँ ।
– हामी नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू हौँ । निर्वाचनको बेला जनताबीच नेमकिपाले अगाडि सारेको निर्वाचन घोषणापत्र नै हाम्रो काम गर्ने आधार हो । घोषणापत्रका हरेक बुँदालाई एक एक गरी पूरा गर्न हामी प्रतिबद्ध छौँ ।
– भक्तपुर सांस्कृतिक र ऐतिहासिक नगर हो । यहाँका पुरातात्विक महत्वका सम्पदाहरूले विश्वकै ध्यान आकर्षित गरेका छन् । विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुरको दरबार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्रको महत्व झन् झन् बढ्दै छ । यस नगरलाई पर्यटकीय गन्तव्यस्थल र ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्यअनुरुप नगरपालिकाका जनप्रतिनिधिहरू सक्रिय छौँ ।
– सङ्घीयताको अर्थ प्रशासनिक र वित्तीय स्वायत्तता र विकेन्द्रीकरण हो । सङ्घ, प्रदेश र स्थानीय तहबीच एकल र साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक स्रोत र साधनको उपयोग र बाँडफाँडमा समन्वय हुन आवश्यक छ । सङ्घले प्रदेश र स्थानीय तहलाई तथा प्रदेशले स्थानीय तहलाई हस्तक्षेप रोक्नु आवश्यक छ ।
– नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम सबै स्थानीय तहहरू स्वायत्त छन् । जनताको नजिकको सरकार र जनभावनाअनुसार काम गर्ने नगरपालिका र गाउँपालिकाका कर्मचारीहरू भर्ना गर्ने अधिकार स्थानीय तहलाई हुनु आवश्यक छ । सङ्घ र प्रदेशले स्थानीय तहको लागि कर्मचारी भर्ना गर्ने काम गाउँ–गाउँमा सिंहदरबारको नाराअनुरुप छैन । यो स्थानीय तहको स्वायत्तताकै अपहरण हो । यो कानुनी प्रावधान स्थानीय स्वायत्त शासन ऐन, २०५५ भन्दा पनि प्रतिगामी छ । यसको खारेजी आवश्यक छ ।
– सङ्घीयता कार्यान्वयनका लागि काठमाडौँकेन्द्रित विकासलाई देशको सन्तुलित विकासमा रुपान्तरण गरिनु आवश्यक छ । स–साना कामको लागि प्रधानमन्त्री र मन्त्रीहरूको आदेश चाहिने प्रथा गलत छ । स्थानीय तहलाई माथिको आदेश पालना गर्ने एकाइबाट मुक्त गरेर स्वायत्त ढङ्गले आ–आफ्नो क्षेत्रको विकास गर्ने अवसर प्रदान गर्नु नै सङ्घीयताको मर्म हो । तर प्रदेश र स्थानीय तहलाई सङ्घको एकाइको रूपमा परिभाषित गर्दै सङ्घको मातहतमा बस्नुपर्ने वा निर्देशन पालना गर्ने एकाइको रूपमा परिभाषित गर्नु पञ्चायती मानसिकता हो । यो सङ्घीयता, संविधान र कानुनको भावनाविपरीत छ । संविधान र कानुनभन्दा माथि कोही हुनसक्दैन । सङ्घ, प्रदेश र स्थानीय तह संविधान र कानुनको सीमामा रही स्वायत्तरूपमा काम गर्ने प्रावधानमाथि सङ्घ र प्रदेशका जिम्मेवार पदाधिकारीहरू हस्तक्षेप गर्दै छन्, जुन आपत्तिजनक छ ।
– यसअघिसम्म किसानहरूको लागि चाहिने रासायनिक मल बिक्री वितरण गर्न स्थानीय तहले सिफारिस गर्दै आएकोमा हालै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले समिति गठन गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले सिफारिसमार्फत गर्ने निर्णय गर्नु स्थानीय तहको अधिकार कटौतीकै रूप हो ।
– सङ्घीय संसद र प्रदेश संसद मूलतः नीति निर्माण गर्ने थलो हुन् । सांसदहरू नीति निर्माताहरू हुन् । स्थानीय पूर्वाधार विकासको नाममा प्रधानमन्त्री, मन्त्री र सांसदहरूको सिफारिसमा बजेट विनियोजन गर्नु राष्ट्रिय दृष्टिकोण होइन । विगतमा स्थानीय तह नभएको बेला राखिएको निर्वाचन क्षेत्र विकास कोष हटाउन र विकास बजेट स्थानीय तहमा पठाउन आवश्यक छ ।
– भक्तपुर नगरपालिकाले सम्पदा पुनःनिर्माण वा जीर्णोद्धार तथा भौतिक पूर्वाधार निर्माण गुणस्तरीय बनाउन, स्थानीय जनताको अपनत्व कायम गर्न र स्थानीय जनतालाई रोजगारीको अवसर प्रदान गर्न अमानत र उपभोक्ता समितिमार्पmत कार्य गर्दै आएको छ । यसलाई निरन्तरता दिंदै जाने छौँ ।
– देशका विभिन्न स्थानमा अवस्थित मठ–मन्दिर, पर्व, संस्कृति र सम्पदाहरू संरक्षणका लागि गुठी जग्गा र अन्य आयस्ताको व्यवस्था छ । तर उद्देश्यअनुरुप मठ–मन्दिरहरू, पर्व र सम्पदाहरू संरक्षण हुन सकिरहेको छैन । गुठीको जग्गा बेचबिखन गरी कैयौँ महन्त र मठाधीशहरू अर्बपति बनेका छन् । जग्गा कमाउने जोताहा किसानहरू अहिलेसम्म मोहियानी हकबाट वञ्चित छन् । यसर्थ गुठी जग्गा कमाउने जोताहा किसानहरूलाई मोहियानी हक दिनुका साथै रैतानीको अधिकार प्रदान गर्नु आवश्यक छ । गुठी संस्थान खारेज गरी मठ मन्दिरहरूको आयस्ता र सम्पति स्थानीय तहहरूलाई दिनु उपयुक्त हुन्छ । गुठीसम्बन्धी विधेयक परिमार्जन गरी पेश गर्न सङ्घीय सरकारसँग माग गर्दछौँ ।
– दुई वर्षको अवधिमा भक्तपुर नगरपालिकाले गरेका कार्यहरू जनताबीच सार्वजनिक गरेका छौँ । शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माण, खेलकुद, बजार अनुगमनजस्ता विषयहरूमा भक्तपुर नगरपालिकाले महत्वपूर्ण कार्यहरू गर्दै आएको छ । दुई वर्षमा गरेका कामलाई आधार बनाउँदै आगामी आर्थिक वर्ष नगरवासीहरूको हितमा अझ बढी काम गर्न हामी प्रतिबद्ध भएर लाग्ने छौँ । यही विश्वासका साथ आ.व. २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दछौँ ।
शिक्षा
१. भक्तपुर नगरपालिकाले दुईवटा इन्जिनियरिङ कलेजसहित सातवटा शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएकोमा विद्यार्थीको माग र समयको आवश्यकताअनुसार नयाँ विषयहरू थपिंदै लगिने छ । यही शैक्षिक वर्षदेखि ख्वप कलेजमा कृषि विज्ञान कक्षा सञ्चालनको तयारी गरिने छ । ख्वप मा.वि. मा कक्षा ११ र १२ मा कानुन र चित्रकला विषयको पढाइ सुरु गरिने छ । ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा पनि नयाँ विषय थप्न प्रक्रिया अगाडि बढाइने छ ।
२. नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गुणस्तरको अन्तरलाई कम गर्दै सबै विद्यालयहरूको समान शैक्षिक गुणस्तर कायम गर्ने नीति कार्यान्वयन गरिने छ । विद्यालयका शिक्षकहरूलाई तालिमसँगै अनुगमनको व्यवस्था मिलाइने छ ।
३. सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर वृद्धिसँगै विद्यालयको भौतिक पूर्वाधारहरू निर्माण गर्न सहयोगको नीति लिइने छ ।
४. लामो समयदेखि संसदमा विचाराधीन ख्वप विश्वविद्यालय विधेयक अगाडि बढाउन निरन्तर पहल जारी राखिने छ । त्यसको लागि प्राज्ञिक व्यक्तित्वहरूमध्येबाट ख्वप विश्वविद्यालय कार्यदल गठन गरिने छ ।
५. जनज्योति पुस्तकालयलाई राष्ट्रिय स्तरको पुस्तकालयको रूपमा विकास गर्न ई–लाइब्रेरीको व्यवस्थाको साथै आवश्यक पूर्वाधारहरूको निर्माण गर्दै लगिने छ । युवा पिंढीमाझ अध्ययन संस्कार वृद्धि गर्न जनज्योति पुस्तकालयको तर्फबाट समय–समयमा अतिरिक्त क्रियाकलाप तथा साहित्यिक अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिने छ । वडा वडामा रहेका पुस्तकालय तथा वाचनालयहरूलाई आवश्यकताअनुसार सुधार गर्न सहयोगको व्यवस्था मिलाइने छ ।
६. विद्यार्थीहरूलाई स्थानीय इतिहास, भूगोल, राजनीति, सम्पदा, कला–संस्कृति, भाषा, खेलकुदलगायतबारे जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम बनाई कक्षा १, २, ६ र ७ मा लागू गर्दै आएकोमा आगामी वर्ष कक्षा ३ र ८ मा पनि लागू गरिने छ ।
७. भक्तपुरको इतिहास, भूगोल, कला संस्कृति, भाषा, पुरातत्व, वातावरण, सरसफाइ, खानेपानीलगायत विभिन्न विषयमा अध्ययन—अनुसन्धान गर्न चाहने अनुसन्धानकर्ताहरूलाई आर्थिक सहयोगको नीतिलाई निरन्तरता दिइने छ । साथै विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थीहरू भक्तपुर नगरपालिकामा इन्टर्न गर्न चाहेमा आवश्यकताअनुसार सोको व्यवस्था मिलाइने छ ।
८. इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषा विषयमा अध्ययन अनुसन्धान गर्ने विद्यार्थीहरू घट्दै गएको हुँदा ती विषयमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले विशेष छात्रवृत्ति दिने कार्यलाई निरन्तरता दिइने छ । साथै उच्च शिक्षा हासिल गर्न चाहने योग्य तर आर्थिक अवस्था कमजोर भएका नगरवासी विद्यार्थीहरूलाई शैक्षिक प्रमाणपत्र धितो राखी रु. ५ लाखसम्म सहुलियत व्याजदरमा ऋण दिने व्यवस्थालाई आगामी वर्ष निरन्तरता दिइने छ ।
९. चिकित्साशास्त्रअन्तर्गत विभिन्न विषयहरूमा स्नातकोत्तर तह (एमडी वा सो सरह) अध्ययन गर्न चाहने नगरवासी विद्यार्थीहरूमध्ये वार्षिक २ जनालाई नगरपालिकाको तर्फबाट छात्रवृत्तिको व्यवस्थालाई आगामी वर्ष निरन्तरता दिइने छ । छात्रवृत्ति पाउने चिकित्सकहरूले कम्तीमा ५ वर्ष ख्वप अस्पतालमा पूर्णकालीन सेवा गर्नुपर्ने छ ।
१०. शिशु स्याहार केन्द्रहरूमा कार्यरत शिक्षिकाहरूको स्तरोन्नतिको लागि समयानुकुल तालिमको व्यवस्था गरिने छ । शिशु स्याहार केन्द्रहरूको भौतिक पूर्वाधारहरूको पनि सुधार गर्दै लगिने छ ।
११. नगरपालिकाभित्र सञ्चालित कलेजहरूमा अध्ययन अध्यापनको साथै अनुसन्धानमा पनि जोड दिइने छ ।
१२. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम नगरभित्र विशेष विद्यालय सञ्चालन गर्न चाहेमा त्यसलाई अनुमति दिई विद्यालय सञ्चालनको लागि आवश्यक सहयोग गरिने छ ।
१३. विद्यालयहरूमा कार्यरत बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) हरूको मिहेनतको कदर गर्दै थप सुविधा प्रदान गर्ने व्यवस्था मिलाइने छ ।
१४. नगरका कुनै एक सामुदायिक विद्यालयलाई नमुना विद्यालय घोषणा गरी विशेष अनुदानको व्यवस्था गरिने छ ।
१५. नगरभित्रका सामुदायिक विद्यालयहरूको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर सबल विद्यालयले दुर्बल विद्यालयलाई हेर्न उसाहित गरिने छ ।
१६. जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायतलाई आप्mना सन्तानहरूलाई सामुदायिक विद्यालयमा अध्ययनका लागि उत्साहित गरिने छ ।
स्वास्थ्य
१७. भनपाले च्याम्हासिंह, भवगतीस्थान र व्यासी गरी ३ वटा सहरी स्वास्थ्य केन्द्रहरूमार्पmत बिरामीहरूको सेवा गर्दै आएको छ । जनस्वास्थ्य केन्द्रमा नयाँ नयाँ उपकरणहरू जडान गरी सेवाहरू थप्दै लगिने छ ।
१८. घरदैलो नर्सिङ सेवालाई विस्तार गरी विद्यालय तहसम्म पु¥याइने छ । विद्यालयहरूमा समय–समयमा चिकित्सकहरूद्वारा स्वास्थ्य जाँचको व्यवस्था मिलाइने छ । चिकित्सक र नर्सहरूबाट विद्यालयहरूमा स्वास्थ्यसम्बन्धी कक्षा सञ्चालनको व्यवस्था मिलाइने छ ।
१९. शारीरिक तथा बौद्धिक अपाङ्गता भएका नगरवासीहरूका लागि नियमित स्वास्थ्य परिक्षणको व्यवस्था गरिने छ ।
२०. आयुर्वेदिक स्वास्थ्य सेवालाई विस्तार गरी वडा वडाका साथै कलेज–विद्यालयसम्म पु¥याउन आवश्यक व्यवस्था गरिने छ ।
२१. वडा–वडामा विभिन्न रोगहरू तथा स्वास्थ्य चेतनासम्बन्धी शिविरहरू सञ्चालन गरिने छ ।
२२. क्यान्सर, मृगौला, मुटुको शल्यक्रिया, मस्तिष्कघातजस्ता कडा रोग लागेका बिरामीहरूलाई दिइँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिइने छ ।
२३. च्याम्हासिंहमा सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्रको सेवा विस्तार गरिने छ । हाल १५ दिनको १ पटकमात्रै शल्यक्रिया हुँदै आएकोमा अब नियमित शल्यक्रियाको व्यवस्था मिलाइने छ ।
सम्पदा र संस्कृति संरक्षण
२४. भक्तपुरको कला–संस्कृति संरक्षण गर्न निरन्तर क्रियाशील रहने दाफा–भजन तथा परम्परागत सांस्कृतिक कलाकार र गुरुहरूलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
२५. भक्तपुर दरबार क्षेत्र वरिपरिको ऐतिहासिक ९९ चोक तथा जगनाथ मन्दिर क्षेत्रको उत्खननको अध्ययन कार्यलाई अगाडि बढाइने छ ।
२६. भक्तपुरमा मनाइने गाईजात्रा देशकै विशिष्ट र छुट्टै पहिचान बोकेको हुँदा गाईजात्रामा प्रस्तुत हुने घिन्ताङ्घिसी, परम्परागत र आधुनिक विधाका नृत्य, नाटक तथा ख्याल र कुनै पनि सांस्कृतिक विधालाई प्रतियोगितात्मक मूल्याङ्कन गरी पुरस्कारको व्यवस्था गरिने छ । यसबाट गाईजात्रा पर्वलाई व्यवस्थित, अनुशासित र मर्यादित बनाउन थप मद्दत पुग्ने छ । यससँगै आधुनिक विधाका सांस्कृतिक तथा साहित्यिक प्रतियोगिताहरू पनि सञ्चालन गरिने छ । यसका साथै अन्य नगरपालिकाहरूसँग सांस्कृतिक आदानप्रदान गरी आपसी सम्बन्ध सुधार गर्दै लगिने छ ।
२७. परम्परागत बाजा तथा विभिन्न सांस्कृतिक विधाहरू नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रशिक्षण दिने टोलीहरूलाई मूल्याङ्कनको आधारमा सहयोगको नीति लिइने छ । विद्यालयहरूमा सांस्कृतिक प्रशिक्षण सञ्चालन गरिने छ ।
२८. भक्तपुरको परम्परागत सांस्कृतिक विधाहरूको नगरव्यापी प्रतियोगिता सञ्चालन गरिने छ ।
२९. भक्तपुरको सांस्कृतिक, पुरातात्विक महत्व बोकेका पाटी–पौवा, ढुङ्गेधारा, पोखरी, इनार, सत्तल, द्योछेँलगायतका सम्पदाहरूको संरक्षणलाई निरन्तरता दिइने छ । ती सम्पदाहरू पुनःनिर्माण वा जीर्णोद्धार गर्दा अध्ययन अनुसन्धानको साथै मौलिक शैलीलाई जोड दिइने छ ।
३०. भक्तपुरको सम्पदा संरक्षित क्षेत्रको निश्चित सीमा तोकी सांस्कृतिक क्षेत्र घोषणा गरिने छ ।
विकास निर्माण
३१. २०७२ को भूकम्पबाट क्षतिग्रस्त भनपा वडा नं. ५ टौमढीस्थित विश्व प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धार कार्यलाई अगाडि बढाइने छ ।
३२. भनपा वडा नं. १ स्थित भाजुपोखरी र रानीपोखरीको जीर्णोद्धार कार्यलाई निरन्तरता दिइने छ ।
३३. भनपा वडा नं. ३ दरबार क्षेत्रस्थित नगरपालिकाको साविक भवन (थन्थु दरबार) र दरबार क्षेत्रकै नक्सा शाखा रहेको भवनको मौलिक शैलीमै पुनःनिर्माणको काम अगाडि बढाइने छ ।
३४. भनपा २ स्थित पुरानो जनज्योति पुस्तकालय रहेको भवनलाई पर्यटन प्रवद्र्धनको उद्देश्यअनुरुप कोसेली पसः बनाउने प्रक्रिया अघि बढाइने छ ।
३५. च्याम्हासिंहस्थित ख्वप अस्पतालको भवन आगामी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अगाडि बढाइने छ ।
३६. भनपा ९ स्थित ब्रह्मायणी बहुउद्देश्यीय भवन निर्माण सम्पन्न गरी उपयोगमा ल्याइने छ ।
३७. नगरको महत्वपूर्ण पर्यटकीय स्थलहरूमा क्रमशः फ्रि वाइफाईको व्यवस्था गर्दै लगिने छ ।
३८. नगरका ठाउँ–ठाउँमा बाल उद्यानको विकास गर्नेतर्फ ध्यान दिइने छ ।
३९. ज्येष्ठ नागरिकहरूको लागि नगरको उपयुक्त ठाउँमा आदर निकेतन सञ्चालनको लागि प्रक्रिया अगाडि बढाइने छ ।
४०. च्याम्हासिंहमा निर्माणाधीन छाती पुनःस्थापना केन्द्रको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने छ । केन्द्रमा आवश्यक उपकरणहरूको जडान गरी दम खोकी रोगको उपचार गर्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूलाई तालिम सञ्चालन गरी जनताको सेवामा खटाइने छ ।
४१. भनपा वडा नं. १ मा बहुउद्देश्यीय भवन निर्माणको कार्य सुरु गरिने छ ।
४२. भनपा वडा नं. ७ स्थित माहेश्वरी खेल मैदान र भनपा वडा नं. २ स्थित सहिद स्मृति खेल मैदानको स्तरोन्नति गर्दै खेलाडीहरूको आवश्यकताअनुसार कभर्ड हल र रङ्गशालाको निर्माण प्रक्रिया अगाडि बढाइने छ । भक्तपुर नपा वडा नं. ८ लिबालीमा कभर्ड हल निर्माण कार्य सम्पन्न गरिने छ ।
४३. सांस्कृतिक नगरको पहिचानलाई जोगाइराख्न नगरका विभिन्न स्थानहरूमा ठूला तथा भारी गाडीहरूलाई क्रमशः प्रवेश निषेध गर्दै लगिने छ । नियमविपरीत प्रवेश गर्ने गाडी चालक वा धनीलाई कडा दण्ड जरिवानाको व्यवस्था मिलाइने छ ।
४४. नगरवासीहरूको लागि तरकारीको सहज आपूर्तिको व्यवस्था गर्न नगरभित्र उपयुक्त ठाउँमा तरकारी बजारको व्यवस्थापन गरिने छ । यसले तरकारी उत्पादन गर्ने किसान र उपभोक्ता दुवैको हित हुने हाम्रो विश्वास छ ।
४५. माहेश्वरी पीठ, ब्रह्मायणी पीठ, हनुमानघाट, बाराही स्थान, महाकाली स्थानलगायत ऐतिहासिक र धार्मिक स्थलहरू तथा भनपा ५ स्थित पुरानो डम्पिङ साइट क्षेत्रको क्रमशः गुरु योजना तयार गर्दै लगिने छ ।
४६. जथाभावी गाडी र मोटरसाइकलहरू पार्किङ्ग गरेको कारण नगरको सौन्दर्यमा बाधा पुग्नुको साथै सडकमा हिँड्ने यात्रुहरूलाई समस्या भई दुर्घटनासमेत हुने गरेको हुँदा नगरको विभिन्न स्थानमा गाडी तथा मोटरसाइकल पार्किङ्गको व्यवस्था मिलाइने छ ।
४७. नगरका टोल–टोलमा सङ्कलित कुहिने र नकुहिने फोहरमध्ये कुहिने फोहरको कम्पोष्ट मल बनाई किसानहरूलाई सस्तोमा बिक्री गर्ने उद्देश्यले कम्पोष्ट मल प्लान्ट निर्माण गर्ने प्रक्रिया अगाडि बढाइने छ । साथै नकुहिने फोहरलाई पुनः प्रयोग वा अन्य प्र्रक्रियाबाट आयको स्रोत बनाइने छ ।
४८. नगरवासीहरूलाई घुमफिर गर्ने उपयुक्त ठाउँहरूको अभावलाई ध्यानमा राखी नगरको उपयुक्त ठाउँमा पार्कको निर्माण गरिने छ ।
४९. भनपा ७ स्थित हनुमानघाटमा विद्युतीय शवदाह गृह निर्माणको सम्भाव्यता अध्ययन गरिने छ ।
५०. नगरको पुराना तथा नयाँ बस्तीहरू तथा सम्पदा क्षेत्रहरूमा आवश्यकताअनुसार बत्तीको व्यवस्था गरिने छ ।
५१. भनपा ६ स्थित देकोचामा आधुनिक सुविधासम्पन्न अरनिको सभाभवन निर्माण
खेलकुद
५२. भक्तपुर नगरपालिकाले पूmटबल, भलिबल, टेबुलटेनिस, सितेरियो, कराँते, बक्सिङ, जिम्नेष्टिकको नियमित प्रशिक्षण दिँंदै आएकोमा ती खेलहरूको प्रशिक्षणलाई थप प्रभावकारी बनाउने प्रयत्न गरिने छ । साथै नगरवासी युवाहरूको चाहनाबमोजिम थप खेलको प्रशिक्षण सञ्चालन गर्ने तयारी गरिने छ । खेल प्रशिक्षकहरूको सेवालाई ध्यानमा राखेर पूर्णकालीन प्रशिक्षकहरूको सङ्ख्यामा वृद्धि गर्दै लगिने छ ।
५३. वडा खेलकुद समितिमार्फत वडा–वडामा रहेका टीम, क्लवलाई सक्रिय बनाइने छ ।
५४. विद्यालय÷कलेजहरूमा पनि प्रतिस्पर्धी खेलाडीहरू तयार गर्न क्रमशः खेल प्रशिक्षकहरूको व्यवस्था गर्दै लगिने छ । समय–समयमा अन्तर विद्यालय खेलकुदको आयोजना गरी खेलाडीहरूको प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्नुका साथै स्तरीय खेलाडीहरू उत्पादन गर्ने नीति लिइने छ ।
५५. महिलामाथि हुने सम्भावित हिंसात्मक गतिविधिबाट नगरवासी महिलाहरूलाई सुरक्षित बनाउन आत्मरक्षाको तालिमको व्यवस्था गरिने छ ।
५६. विगत वर्षझैँ कुनै एक खेलको अन्तर नगर खेल प्रतियोगिता आयोजना गरिने छ । खेलकुदको माध्यमबाट भक्तपुरलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन प्रतियोगिताले मद्दत पु¥याउने विश्वास छ ।
५७. ज्येष्ठ नागरिक, बालबालिका तथा युवाहरूको स्वास्थ्यलाई ध्यानमा राखी नगरका ठाउँ–ठाउँमा राखिएका शारीरिक व्यायाम स्थलहरूको विस्तार गरी विद्यालय र कलेज–कलेजमा पु¥याउने व्यवस्था मिलाइने छ ।
बजार अनुगमन
५८. उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राखी बजार अनुगमनलाई निरन्तरता दिइने छ । अनुगमनको क्रममा कानुनविपरीत म्याद नाघेको, कुहेको वा स्वास्थ्यको लागि हानिकारक कुनै वस्तु फेला परेमा त्यस्तालाई कडा कारबाही गरिने छ ।
कृषि
५९. कम जग्गामा बढी उत्पादन गर्ने उद्देश्यले किसानहरूलाई विभिन्न किसिमका तरकारी वा बाली उत्पादनसम्बन्धी कृषि विशेषज्ञहरूबाट तालिमको व्यवस्था मिलाइने छ ।
६०. किसानहरूको लागि आवश्यक कृषि उपकरण तथा कृषि सामग्री, बीउबिजन वितरण गरिने छ ।
पर्यटन
६१. भक्तपुरलाई आन्तरिक तथा बाह्य पर्यटकहरूको उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यसहित भक्तपुर महोत्सवको आयोजना गरिने छ ।
६२. भक्तपुर आउने पर्यटकहरूको सुविधाको लागि पर्यटकीय क्षेत्रहरूमा स्तरीय शौचालय, हरियाली प्रवद्र्धनलगायतका कार्यहरू क्रमशः गर्दै लगिने छ ।
६३. परम्परागत गाईजात्रा मार्गलाई पर्यटन पैदल मार्गको रूपमा विकास गर्न आवश्यक पूर्वाधार तयार गरिने छ ।
६४. पर्यटकहरूको बसाइ लम्ब्याउनका लागि साँझको समयमा ठाउँ–ठाउँमा सांस्कृतिक गतिविधिहरू सञ्चालनको व्यवस्था मिलाइने छ । यससँगै सांस्कृतिक प्रदर्शनी केन्द्र स्थापना गरिने छ । सम्पदा क्षेत्र र पर्यटकीय स्थलहरूमा सन्ध्याकालीन बत्तीको बन्दोबस्त गरी थप आकर्षण बढाउन जोड दिइने छ ।
६५. नगरभित्र भइरहेको अनियमितता नियन्त्रण गर्न र सहज बजार व्यवस्थापनको लागि नगर प्रहरीको व्यवस्था गरिने छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई जनस्तर र विद्यालय स्तरसम्म पु¥याइने छ । साथै पर्यटक प्रहरीको प्रभावकारी परिचालन गरी भक्तपुरलाई सुरक्षित पर्यटकीय स्थल बनाउन पहल गरिने छ ।
६६. भक्तपुरका मौलिक उत्पादनहरू कालो टोपी, जुजु धौ, हाकुपतासी, ताइच्यून चिउराजस्ता घरेलु तथा साना उद्योगहरूलाई वातावरणमैत्री ढङ्गबाट प्रोत्साहित गर्न विभिन्न गतिविधिहरू अगाडि बढाइने छ ।
६७. स्थानीय युवाहरूलाई चिनियाँ, जापानी, अङ्ग्रेजी, फ्रान्सेली, स्पेनिस भाषालगायत विदेशी भाषाहरूको तालिम दिइने छ । यसका साथै नगरवासीहरूलाई होमस्टे सञ्चालनसम्बन्धि तालिम पनि दिइने छ ।
६८. भक्तपुरको जीवनशैली, रहनसहन र संस्कृति झल्किने सांस्कृतिक सङ्ग्रहालयको व्यवस्था गरिने छ ।
६९. पर्यटकहरूको सुविधाको लागि उपयुक्त स्थानमा पर्यटक बसपार्कको व्यवस्था गरिने छ ।
७०. भक्तपुरको सुन्दरता बढाउन र प्रदूषण कम गर्न सहरको मुख्य सडक च्याम्हासिंहदेखि भार्वाचोसम्म ढुङ्गा छाप्ने कार्यलाई निरन्तरता दिइने छ ।
७१. अपराध नियन्त्रणमा सहयोग पु¥याउन नगरको मुख्य सडक, गल्ली र सम्पदा क्षेत्रहरूमा सी.सी. क्यामेराको बन्दोबस्त गरिने छ ।
७२. भक्तपुरबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्न एफ.एम. रेडियो सञ्चालन र टेलिभिजन प्रसारणको तयारी गरिने छ । साथै नगरपालिकाका हरेक गतिविधिलाई जनतामाझ पारदर्शीरूपमा समयमै सम्प्रेषण गर्न तथा नगरवासीहरूका न्यायोचित गुनासाहरूको तत्काल सम्बोधन गर्ने हेतुले नगरपालिकाको तर्फबाट विभिन्न छापा तथा अनलाइन प्रकाशन एवम् सामाजिक सञ्जालको प्रभावकारी उपयोग गरिने छ ।
७३. सहकारी र स्थानीय जनताको सहभागितामा गुणस्तरीय पर्यटकीय होटल सञ्चालन गर्न सहकारी संस्थाहरूलाई उत्साहित गरिने छ ।
युवालक्षित तालिमहरू
७४. युवाहरूलाई सीपयुक्त र आत्मनिर्भर बनाउन काष्ठकला, प्रस्तरकला, धातुकला, विभिन्न विदेशी भाषा, सिलाइ, रेडियो–टेलिभिजन प्रस्तोता, पथ प्रदर्शकलगायतका तालिमहरू सञ्चालनलाई निरन्तरता दिइने छ । त्यसैगरी विद्युतीय सामग्रीहरू मोबाइल, रेडियो–टेलिभिजन, रेफ्रिजेरेटरजस्ता मर्मतका तालिमहरू, मोटरसाइकल मर्मतजस्ता रोजगारीमूलक तालिमहरू सञ्चालन गरी युवाहरूलाई आत्मनिर्भर बनाउन जोड दिइने छ ।
अन्य
७५. मौलिक शैलीका घर र सम्पदाहरूको संरक्षणको लागि पुरानो नगर क्षेत्रभित्र निजी घर निर्माण गर्ने घरधनीहरूलाई घरको मोहडामा लाग्ने काठ, इँटा र झिङ्गटीमा दिइँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिइने छ ।
७६. भूकम्प पीडितका प्रमाणपत्र प्राप्त घरधनीहरूलाई नक्सापासमा दिइँदै आएको छुटलाई यथावत राखिने छ ।
७७. नगरका विभिन्न स्थानहरूमा जथाभावी छाडिएका भुस्याहा कुकुर, गाई—भैंसीजस्ता चौपायाहरूलाई नियन्त्रणमा लिई सम्बन्धित घरधनीहरूलाई कानुनी कारबाही गर्ने नीति लिइने छ ।
७८. विशेषज्ञहरूको सुझावअनुसार फोहरमैला व्यवस्थापनको स्थायी समाधानको लागि नगरपालिका अगाडि बढ्ने छ । फोहरमैला व्यवस्थापनसम्बन्धी गठित कार्यदलद्वारा प्रस्तुत प्रतिवेदनलाई कार्यान्वयनमा ल्याइने छ । घरबाट निस्कने फोहर कम गर्ने उद्देश्यले कौसी खेतीलाई प्रोत्साहित गरिने छ ।
७९. नगरका मूल सडकका दायाँबायाँ पेटीमा रुख–बिरुवा रोपेर हरियाली प्रवद्र्धन गरिने छ र सम्पदा क्षेत्रहरूमा समेत विभिन्न प्रजातिका फूलहरू रोपेर नगरलाई प्रदूषणमुक्त र सुन्दर बनाउने प्रयत्न गरिने छ ।
८०. स–साना विकास निर्माणका कामहरू वडास्तरबाटै सम्पन्न गर्न र छिटो छरितो सेवाको लागि निश्चित रकम वडाबाटै खर्च गर्न मिल्ने गरी वडा बजेटको व्यवस्था गरिने छ ।
८१. भक्तपुर नगरभित्र रहेका सम्पदाहरूको सङ्क्षिप्त परिचयसहितको सम्पदा बोर्ड क्रमशः राख्दै लगिने छ ।
८२. नगरभित्र काम गर्न चाहने कुनै गैरसरकारी वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले नगरपालिकाको अनिवार्य स्वीकृति लिनुपर्ने र ती संस्थाले वर्षभरि गर्ने कामको विवरण र बजेट पेश गर्नुपर्ने नीतिलाई कडाइका साथ लागू गरिने छ ।
८३. घरेलु तथा साना उद्योगहरू सञ्चालनमा प्रोत्साहित गरिने छ । ती उद्योगहरू करको दायरामा ल्याउन सम्बन्धित पक्षसँग समन्वय गरी अगाडि बढ्ने व्यवस्था मिलाइने छ ।
८४. सहकारी संस्थाहरूलाई व्यवस्थित गर्न अनुगमनलाई जोड दिइने छ र नगरपालिका र सहकारीबीच समन्वय र साझेदारीमा नगरवासीहरूको हितमा कार्य गर्न पहल गरिने छ । नगरभित्र सञ्चालित सहकारी संस्थाहरूलाई उत्पादनमूलक गतिविधिमा लगानी बढाउन प्रोत्साहित गरिने छ ।
८५. घर निर्माणमा देखिएको बढ्दो अनियमिततालाई ध्यानमा राखेर भवन निर्माण मापदण्डलाई कडाइका साथ लागू गरिने छ । मापदण्ड मिची घर बनाएकाहरूलाई कानूनबमोजिम दण्ड जरिवाना गरिने छ ।
८६. नगरपालिकाद्वारा भनपा २ र ६ वडामा १६५३ रोपनी जग्गामा सञ्चालित देको मिवा इटापाके आवास योजना समयमै सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिने छ ।
८७. भक्तपुर औद्योगिक क्षेत्रलाई स्थानीय सीप र स्रोतसाधनको उपयोग गरी वातावरणमैत्री र पर्यटनकेन्द्रित हस्तकला औद्योगिक क्षेत्रको रूपमा विकास गर्न पहल गरिने छ ।
८८. नगरवासीहरू र व्यवसायी तथा घर बहालमा बस्ने परिवारलाई करको दायरामा ल्याउन कर सङ्कलन टोलीको व्यवस्था मिलाइने छ । नगरपालिका क्षेत्रमा घरजग्गा मूल्याङ्कन करको विषयमा नगरवासी जनताको भावनाको सम्मान गरिने छ ।
८९. मर्मत सम्भारबाट सम्पदाहरू संरक्षणमा टेवा पुग्ने हुँदा सम्पदाहरूको नियमित मर्मत घुम्ती टोलीको व्यवस्था गरिने छ ।
९०. नगरवासीहरूको खानेपानी समस्यालाई ध्यानमा राखेर नगरभित्र विभिन्न स्थानमा गरिएको डिप बोरिङको पानी पिउन योग्य बनाई नगरवासीहरूलाई वितरण गर्न पानी ट्याङ्की र फिल्ट्रेसनको व्यवस्था मिलाइने छ । साथै पुरानो नगरमा रहेको पाइप जीर्ण भएको हुँदा सोको सुधारमा ध्यान दिइने छ । नगरभित्र आकाशे पानी सङ्कलन तथा सदुपयोगमा विशेष ध्यान दिइने छ ।
९१. सरकारी र पर्ती जग्गा अतिक्रमण बढिरहेको हुँदा जग्गा संरक्षण कार्यलाई निरन्तरता दिइने छ ।
९२. कर्मचारीहरूको वृत्ति विकासमा विशेष ध्यान दिइने छ । कर्मचारीहरूको क्षमता अभिवृद्धिको लागि समय–समयमा आवश्यक तालिमहरूको व्यवस्था गरिने छ । साथै कर्मचारीहरूको कार्य मूल्याङ्कन गरी उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कारको व्यवस्था गरिने छ ।
९३. सल्लाघारीदेखि ब्यासी, मूलढोका हुँदै नगरकोट जाने सडकको वैकल्पिक मार्ग निर्माणका लागि पहल गरिने छ ।
९४. मासुजन्य खाद्य पदार्थ बिक्री वितरण कार्यलाई व्यवस्थित गर्न तथा खुला स्थानमा पशुबध गर्न निरुत्साहित गरिने छ । नगरको उपयुक्त स्थानमा व्यवस्थित पशु वधशाला निर्माण प्रक्रिया थालनी गरिने छ ।
अन्त्यमा, भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, प्रदेश सरकार र सङ्घीय सरकारबाट प्राप्त हुने शसर्त र निःशर्त अनुदान तथा वित्तीय अनुदानसमेतको आधारमा आ.व. २०७६÷०७७ को बजेट तयार गरी विकास निर्माणको कामलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
Leave a Reply