विश्वव्यापीकरणले ल्याउने अकाल
- कार्तिक १८, २०८२
छेन स्याओही
चीनका राष्ट्रपति सी चिनफिङ र प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनबीच सन् २०१८ को मार्चदेखि सन् २०१९ को जनवरीसम्मको एक वर्षभन्दा छोटो समयावधिभित्र चारपटक भेटघाट भयो । यो एउटा इतिहास हो । हालै सम्पन्न सीको प्रजग कोरिया भ्रमणले यो इतिहासको बहावलाई निरन्तरता दिएको छ । साथै चीन–प्रजग कोरिया सम्बन्धमा नयाँ अध्याय थपिएको छ । सीको भ्रमणबाट प्राप्त केही उपलब्धिबारे चर्चा गरिएको छः
पहिलो, सीको यो भ्रमण किमले गरेको चार पटकको चीन भ्रमणको शिष्टाचार फिर्ती भ्रमण हो । प्रोटोकल र शिष्टाचारलाई जनताले मिहीनरूपमा ध्यान दिने देशहरू पर्दछन्–चीन र प्रजग कोरिया । निकै छोटो समयावधिमा लगातार चारपटक चीनको भ्रमण गरेर किमले कूटनीतिक परम्परामा क्रमभङ्ग गर्नुभएको छ । किमको आफ्नै शब्दमा चीनका नेता सीप्रति आफ्नो आदर व्यक्त गर्न यस्तो गरिएको हो । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको महासचिव पदमा सी चिनफिङ पुनःनिर्वाचित हुनु भएलगत्तै सन् २०१८ को मार्चमा किमले चीनको भ्रमण गर्नुभएको थियो । दुई देशबीचको मैत्रीपूर्ण परम्पराअनुसार नै सीलाई बधाई ज्ञापन गर्न आफैँ जानुभएको थियो । किमको शब्दमा त्यसो गर्नु उहाँको दायित्व हो ।
किमको पहिलो चीन भ्रमणको क्रममा भएको बैठकमा अनुकूल समयमा प्रजग कोरियाको भ्रमण गर्न निमन्त्रणा दिइएको थियो । त्यसयता सीको सम्भावित प्योङयाङ भ्रमणबारे सञ्चारमाध्यमले निकै चासोका साथ अध्ययन गरिरहेका थिए । प्रजग कोरियाको भ्रमण गरेर राष्ट्रपति सीले आफ्नो वचन पूरा गर्नुभयो । रणनीतिकरूपमा महत्वपूर्ण आफ्नो छिमेकी देशमा चौध वर्षदेखि चिनियाँ सर्वोच्च नेताको भ्रमण भएको थिएन । चौध वर्षपछि प्रजग कोरियामा चीनका राष्ट्रपतिको भ्रमण भएको छ । यसले उच्चपदस्थ नेतृत्वको एकपक्षीय जस्तो बनेको आदानप्रदानलाई सन्तुलित बनाएको छ ।
अरू कुरालाई एकछिन थाती राखेर कुरा गर्दा सीको प्योङयाङ भ्रमणले प्रजग कोरियाली जनताप्रति चिनियाँ जनताको शुभकामना र बलियो समर्थन अभिव्यक्त गरेको छ । अध्यक्ष किमले जोड दिनुभएको छ, “कामरेड महासचिवको भ्रमणले समाजवादको लक्ष्यतिर एकजुट भएर अघि बढिरहेका प्रजग कोरियाली पार्टी सदस्य र जनताप्रति बलियो राजनीतिक समर्थन र उत्साह प्रदान गरेको छ ।”
दोस्रो, चीन र प्रजग कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा विभिन्न गतिविधि गरिँदै छ । सीको प्रजग कोरिया भ्रमण ७० औँ वर्षगाँठ मनाउने शिलशिलाको प्रमुख कार्यक्रम हो । वास्तवमा जनवरीमा अध्यक्ष किमको पेइचिङ भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको वर्षगाँठले गति लिएको हो । दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्धको परम्परा र भविष्यमा विकासको नयाँ बाटो कोर्ने प्रक्रियालाई सीको भ्रमणले एउटा नयाँ उचाइ प्रदान गरेको छ ।
दसकौँ लामो चीन र प्रजग कोरियाबीचको सम्बन्धमा धेरै आरोह र अवरोह आए, गए । सन् १९५०–५३ मा भएको कोरिया युद्ध लड्न दुवै देशबीच अमूल्य मित्रता कायम भएको थियो । सोभियत सङ्घसँग भएको वैचारिक बहसमा दुई देशबीच ऐक्यबद्धता प्रदर्शन भएको थियो । चीन र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएलगत्तै प्रजग कोरियासँग चीनको सम्बन्ध केही चिसिएको थियो ।
समयान्तरमा आणविक विवादले द्विपक्षीय सम्बन्ध प्रभावित बन्न पुग्यो । सन् २०१८ को सुरुदेखि राष्ट्रपति सी र अध्यक्ष किमले सम्बन्ध बलियो बनाउन मिहिनेत गर्नुभयो । सम्बन्धमा स्थायित्वको लागि उहाँले साझा प्रयास गर्नुभयो । हालै भएको पछिल्लो बैठकमा दुवैले दुई देशबीचको सम्बन्ध कायम, सबल र विकास गर्नेमा जोड दिनुभएको छ ।
यसपटक सी र किमले अन्तर्राष्ट्रिय परिस्थितिमा आउने परिवर्तनबीच दुवै देशको रणनीतिक सम्बन्ध दिगो रहनेमा जोड दिनुभएको छ । चीन र प्रजग कोरियाबीच सम्बन्धको उज्यालो भविष्य सिर्जना गर्न कूटनीतिक, रणनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा निम्न कदम चाल्ने सहमति भएका छन्ः
क) विश्व र क्षेत्रीय परिस्थितिमा आउने जटिल परिवर्तनबीच दुई देशबीचको सम्बन्धमा उच्चस्तरीय भ्रमण चालू राख्ने ।
ख) दुईपक्षीय सम्बन्ध विकासका लागि राम्रो वातावरण बनाउन प्रमुख विषयमा रणनीतिक सूचना तथा धारणा आदानप्रदान गर्ने ।
ग) दुवै देशका जनताको हितमा सहकार्य विस्तार गर्ने ।
घ) प्रशासनमा आपसी सिकाइ विस्तार गर्न र सरकारी अधिकारीलाई त्यही सिकाइको आधारमा तालिम दिने । शिक्षा, स्वास्थ्य, खेलकुद, मिडिया, युवा तथा स्थानीय प्रशासन आदि क्षेत्रमा आपसी सिकाइलाई जोड दिने ।
ङ) जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्षगाँठ भव्यताका साथ मनाउन साझा कार्यक्रमको योजना बनाउने ।
तेस्रो, उच्चपदस्थ चिनियाँ तथा कोरियाली नेताहरूबीच रणनीतिक छलफललाई निरन्तरता दिन सीको भ्रमण भएको हो । सी र किमबीचको हरेक बैठकमा दुई देशबीचको सम्बन्धबारे कुराकानी हुनुका साथै प्रजग कोरिया र संरा अमेरिकाबीचको वार्ताबारे केही न केही कुराकानी भएको छ । सन् २०१८ को अप्रिलमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आफ्नो पहिलो बैठक तय भएलगत्तै किमले चीनको भ्रमण गर्नुभएको थियो । त्यस्तै त्यही वर्ष जूनमा संरा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्नुअघि पनि किमले चीनको भ्रमण गर्नुभएको थियो ।
किमले एकपटक भन्नुभएको थियो, “कोरियाली प्रायःद्वीपको अवस्थामा तीव्रगतिमा परिवर्तन भइरहेको छ । धेरै महत्वपूर्ण परिवर्तनहरू भएका छन् ।” अनि ‘यस्ता सबै परिवर्तनबारे राष्ट्रपति सीलाई सूचित गर्न आफैँ आउनु कमरेड भावना र नैतिक दायित्व भएको’ उहाँले भन्नुभएको थियो । किम र ट्रम्पबीचको पहिलो शिखर वार्ताअघि र पछि गरी तीनपटक किमले सीलाई भेटिसक्नुभएको थियो । निःसन्देह प्रजग कोरिया र संरा अमेरिकाबीचको सम्बन्धबारे कुराकानी गर्न सी र किमबीच मनग्य समय खर्चिनुभएको छ ।
प्योङयाङमा हालै भएको बैठक पनि अपवाद भएन । आज चीन र संरा अमेरिकाबीच व्यापार युद्ध चालू छ । यस्तो परिस्थितिमा चीनले प्रजग कोरिया र संरा अमेरिकाबीच हुने वार्तालाई समर्थन गर्ने हो वा होइन भन्नेबारेमा संसारभर एक प्रकारको अलमल कायम थियो । व्यापार युद्धको मुद्दामा आफ्नो हातमाथि पार्न संरा अमेरिकामाथि दबाब पु¥याउन चीनले भूमिका पो खेल्ने हो कि भन्ने आशङ्का पनि व्याप्त थियो ।
अब ती आशङ्का र प्रश्नको उत्तर प्रस्ट भएको छ । सीले भन्नुभएको थियो, “कोरियाली प्रायःद्वीपको आणविक निःशस्त्रीकरण र सो क्षेत्रमा शान्ति स्थापनाको लागि प्रजग कोरियालगायत संवद्ध सबै पक्षसँग चीनले समन्वय र सहकार्य गर्न चाहेको छ ।”
आफ्नो पहिलेको स्थानलाई कायम राख्दै चीनले प्रजग कोरियाको सुरक्षा र आर्थिक पक्षमा अझ बढी सक्रिय भूमिका खेल्न तयार छ । चीनको पहिलोदेखिको स्थान भन्नाले क) सबै पक्षले तर्कपूर्ण अपेक्षा राख्नुपर्छ । कसैले निकै धेरै अपेक्षा पनि गर्नुहुन्न वा कुनै एकपक्षीय, अवास्तविक माग पनि राख्नुहुन्न । ख) शान्ति स्थापना गर्न र आणविक निःशस्त्रीकरणको लागि सबैले एउटा खाका बनाउनु उपयोगी हुनेछ । ग) त्यही खाकामा आधारित भएर तालमेल मिलेको, प्रस्ट, अन्तरसम्बन्धित र प्रभावकारी कदमको पहिचान गरिनुपर्छ । त्यस्ता कदम क्रमिक तरिकामा हुनुपर्छ । सजिलोदेखि सुरु गरी सबै पक्ष सहमत हुनेतर्फ सहमति अघि बढाउनुपर्छ ।
(लेखक चीनको रेनमिन विश्वविद्यालय, अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका सहायक प्राध्यापक हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला
Leave a Reply