भर्खरै :

भक्तपुर नगरपालिकाको पाँचौँ नगर सभा सुरु

भक्तपुर, ९ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सोमबार भक्तपुर नगरपालिकाको पाँचौँ नगरसभाको विशेष समारोहबीच उद्घाटन गर्नुभयो ।
उक्त नगरसभामा अध्यक्ष रोहितले गुठी जग्गामा पनि किसानले मोहियानी हक पाउनुपर्ने विचार व्यक्त गर्दै बहुमत जनताको क्रयशक्ति बढेमा व्यापार व्यवसाय चल्ने र उद्योग विकास हुने बताउनुभयो । उहाँले समाजवादी बन्दोबस्तमा उत्पादनका साधनहरू सामाजिकीकरण, योग्यताअनुसार काम र कामअनुसारको ज्याला हुने हुँदा व्यापक जनताको हित हुन्छ भन्नुभयो ।
गुठीको जिम्मेवारी स्थानीय तहलाई दिए यहाँका जात्रा, पर्व, संस्कृति तथा सम्पदा अझ व्यवस्थित हुनेमा उहाँले जोड दिनुभयो । अध्यक्ष रोहितले नगरपालिकामा खाद्यपदार्थको गुणस्तर जाँच्ने उपकरणको व्यवस्था गर्नुपर्ने र वडा–वडाको विकास योजनामा हिसाबकिताब व्यवस्थित गर्न नसके अनियमितता हुने सम्भावना रहेको आँैल्याउनुभयो ।
कानुन बनाइसकेपछि मात्रै आदर निकेतन खोल्ने या सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “जनमतको कदर गर्नुपर्छ, रोजगारी सृजना गर्नेतर्फ पाइला चाल्नुपर्छ, वडा निरीक्षकहरू सचेत र चनाखो भए नपाको उद्देश्य पूरा गर्न सजिलो हुन्छ ।”
स्थानीय तहलाई न्यायिक अधिकार दिए पनि पक्षपात हुने सम्भावना भएको हुँदा न्यायसम्बन्धी ज्ञान थाहा पाउन तालिमको आवश्यकता रहेको पनि उहाँले चर्चा गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले काठमाडाँै उपत्यकामा अव्यवस्थित आवास योजना सञ्चालन हुँदा कृषियोग्य भूमिको विनास भइरहेको बताउनुभयो । भक्तपुरको नगरकोट–बागेश्वरीलाई जलाधार संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विकास निर्माण, पुनःनिर्माण तथा जीर्णाेद्धारको कार्य अमानत वा उपभोक्ता समितिमार्फत गराउनुपर्नेमा जोड दिनुभयो ।
सरकारको नवौँ पञ्चवर्षीय योजनामै भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्ने योजना भए पनि सरकार संवेदनशील नहुँदा योजना सफल नभएको सांसद सुवालले चर्चा गर्नुभयो ।
काठमाडाँै उपत्यकाका उद्योगहरू स्थानान्तरण गर्ने सरकारी प्रतिबद्धता पनि हालसम्म पूरा नभएकोमा चिन्ता व्यक्त गर्दै उहाँले गुठी जग्गामा मोही हक दिनुपर्छ, गुठीको मालिक मोही हुने कुरा झूट हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “गुठी विधेयकको विरोध गर्नेहरू मठाधीशहरू हुन्, जनविरोधी हुन् ।”
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । उहाँले सङ्घीयताको अर्थ प्रशासनिक, वित्तीय स्वायत्तता र विकेन्द्रीकरण भएको चर्चा गर्दै सङ्घ, प्रदेश र स्थानीय तहबीच एकल र साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक स्रोत साधनको उपयोग र बाँडफाँडमा समन्वय हुन आवश्यक छ, सङ्घले प्रदेश र स्थानीय तहलाई तथा प्रदेशले स्थानीय तहलाई हस्तक्षेप रोक्नु आवश्यक छ ।
उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयनका लागि काठमाडाँैकेन्द्रित विकासलाई देशको सन्तुलित विकासमा रुपान्तरण गरिनु आवश्यक छ । स–साना कामको लागि प्रधानमन्त्री र मन्त्रीहरूको आदेश चाहिने प्रथाको अन्त्य हुनुपर्छ ।”
उहाँले स्थानीय तहलाई माथिको आदेश पालना गर्ने एकाइबाट मुक्त गरेर स्वायत्त ढङ्गले आ–आफ्नो क्षेत्रको विकास गर्ने अवसर प्रदान गर्नु नै सङ्घीयताको मर्म भएको प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन डाक्टर र इन्जिनियरबाहेक भूगोल, इतिहास, कला–संस्कृति र राजनीतिशास्त्रलगायतका विषयहरूको अध्ययन आवश्यक भएको उल्लेख गर्नुभयो ।
व्यवहारिक ज्ञानसहितको शिक्षित नागरिक बनाउन भनपाले शिक्षामा जोड दिइरहेको उल्लेख गर्दै सबैको साथ र सहयोग मिले सभ्य, सफा र सुसंस्कृत नगर बन्ने विश्वास व्यक्त गर्नुभयो । भक्तपुरको कला–संस्कृतिलाई जोगाउन र जीवन्त बनाइराख्न नपा लागिरहेको चर्चा गर्दै उहाँले भक्तपुर नगरपालिकालाई पर्यटकीय गन्तव्य स्थल बनाएर आयआर्जनको स्रोत बढाउनसक्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुरका जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भक्तपुर नगरपालिकाले समाज रुपान्तरणका लागि शिक्षालाई उच्च प्राथमिकतामा राख्दै आएको चर्चा गर्दै संस्कारयुक्त दक्ष जनशक्तिलाई समाज रुपान्तरणको लागि परिचालन गर्नु आवश्यक भएको बताउनुभयो । उहाँले सदाचार र भ्रष्टाचारमुक्त नगरको रूपमा भक्तपुर नगरपालिकाको परिचय दिनु उचित हुने बताउनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक सविन प्रधानले नगरपालिका र प्रहरीबीचको सहकार्यले जनमानसमा शान्ति र सुरक्षाको प्रत्याभूति गराउन मद्दत पुग्ने बताउनुभयो । उहाँले अवैध लागूऔषध सेवन र नियन्त्रण गर्न सबैको सहकार्यको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले भक्तपुरको पृथक पहिचान भनेको उपभोक्ता जागरुक भएको र नपा गन्तव्यमा पुग्न अघि बढिरहेको बताउनुभयो । भक्तपुर नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलले शैक्षिक बेरोजगारीलाई रुपान्तरण गर्ने शिक्षा प्रणालीमा जोड दिइरहेको चर्चा गर्दै घोषणापत्र कार्यान्वयन गर्ने देशकै पहिलो नपा हुने बताउनुभयो । भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरसभाको औचित्यताबारे प्रकाश पार्नुभयो ।
नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
भक्तपुर, ९ असार । भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सोमबार सर्वसम्मतिले पारित ग¥यो । भक्तपुर नपा प्रमुख सुनिल प्रजापतिले सोमबार नगरसभाको औपचारिक उद्घाटन कार्यक्रमपश्चात् भनपा सभाकक्षमा सभाको सुरुआत गर्नुभएको थियो ।
सभाअध्यक्ष प्रजापतिले गुठी ऐनबारे जनप्रतिनिधि र कर्मचारीहरू प्रस्ट हुनुपर्ने बताउँदै धर्म र संस्कृतिको नाममा भएको शोषणको विरोध गर्नु आवश्यक भएको बताउनुभयो । भक्तपुर र दाङ मोहियानी हक लागू भएको जिल्ला भएको स्मरण गर्दै उहाँले देश र जनताको सेवा गर्ने भावनाले राजनीति गर्नुपर्ने बताउनुभयो ।
नगरसभामा सभासद्हरू रञ्जना त्वाती, सम्झना खाइजु, शिवप्रसाद बाला, पूर्णगोपाल राजचल, ज्ञानकुमार मगजु, श्यामसुन्दर मातां, तुल्सीलक्ष्मी बाटी, बलराम न्हिसुतु, राजेन्द्र माक, कृष्णगोपाल चौगुठी, रत्नकाजी नातरी, सिद्धिराम अवाल, विश्वराज शिल्पकार, गोविन्द दुवाललगायतले आवश्यक सल्लाह–सुझाव प्रस्तुत गर्नुभएको थियो । नगरसभाको अर्को बैठक असार १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *