भर्खरै :

तिलागुफाका उपप्रमुखको अराजनीतिक गतिविधि

कालीकोट, ९ असार । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा सत्तासीन नेकपाले गरेको शक्तिको दुरुपयोगको विरोधमा सोमबार नेपाल मजदुर किसान पार्टीले सदरमुकाम मान्म खाँडाचक्रमा पत्रकार भेटघाट गरेको छ । तिलागुफा नगरपालिकाका उपप्रमुख दन्ता नेपालीले नेमकिपाका तर्फबाट वडा नं ९ मा विजयी वडाध्यक्ष नरेन्द्रबहादुर रोकायामाथि गरेको अराजनीतिक व्यवहारको विरोध गर्न र घटनाको सत्यतथ्य सार्वजनिक गर्न सो कार्यक्रमको आयोजना गरिएको थियो ।
वडा नं ९ मा एक करोड बराबरको खानेपानी योजना स्थानीय उपभोक्ताको भेला राखी उपभोक्ता समितिमार्फत गर्न प्रक्रिया अघि बढाउँदा निर्वाचित उपभोक्ता समितिलाई नगरपालिकामा रहेका सत्तासीन नेकपाका प्रतिनिधिले अस्वीकार गरेका थिए । उपभोक्ता समितिलाई मान्यता नदिई उपप्रमुख नेपालीकै अगुवाइमा ठेकेदारीमा दिन खोज्दा नगरपालिकाको बैठकको क्रममा भएको विवादमा वडाध्यक्ष रोकायालाई उपप्रमुखले ‘गोठाला’ जस्ता अपशब्द प्रयोग गरेकी थिइन् । ३५० घरधुरीलाई खानेपानी पु¥याइने बन्जुगाड–चिलखाया खानेपानी आयोजना उपभोक्ता समितिमार्फत सञ्चालन हुनुपर्ने नेमकिपाले धारणा राख्दै आएको छ ।
पत्रकार भेटघाटमा बोल्ने वडाध्यक्षहरूले उपप्रमुख नेपालीले कर्मचारी भर्तीमा मनोमानी गरेको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले सत्ताको बलमा नेकपाका प्रतिनिधिहरूले जनताको करबाट जम्मा भएको पैसाको दुरुपयोग गर्न खोजेको बताउनुभयो । उहाँले स–साना योजनासमेत ठेकेदारीमा दिएर नगरपालिकाले जनताको शासनभन्दा ठेकेदारको शासन चलाउन खोजेको धारणा राख्नुभयो ।
नेमकिपा कालीकोट जिल्ला समितिका अध्यक्ष नवराज कोइरालाले सत्ताको आडमा निषेधको राजनीति गर्ने कुनै शासक दलको आयु लामो नहुने बताउनुभयो । नेकपाले गरेको अनियमितता र मनोमानीको नेमकिपाका प्रतिनिधिहरूले विरोध गरेकाले शासक दलका कार्यकर्ता तिर्मिराएको बताउनुभयो ।
कार्यक्रममा तिलागुफा नगरपालिका वडा नं ३ का अध्यक्ष सूर्यबहादुर शाही, वडा नं ४ का वडाध्यक्ष खड्गराज शाही र वडा नं ९ का वडाध्यक्ष नरेन्द्रबहादुर रोकायाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *