भर्खरै :

तीन अन्तरिक्ष यात्री सकुशल पृथ्वी फिर्ता

कजाखस्तान, १० असार (एएफपी) : अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन् । यसअघि अन्तरिक्ष यान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यकै बारेमा आशङ्का उत्पन्न भइरहेका समयमा रुसी वैज्ञानिकहरूलाई सफलता प्राप्त भएको हो ।
कजाखस्तानको झेखाजगान सहर नजिक अन्तरिक्ष यात्रीहरू सकुशल अवतरण गरेका थिए । पहिलो चरणमा पृथ्वीमा आइपुगेका अन्तरिक्ष यात्रीहरूमा नासाका अन्तरिक्ष यात्री आन क्याकक्लेन, वरिष्ट रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्को र क्यानाडाली अन्तरिक केन्द्रका डेभिड सेन्ट–ज्याक्स रहेका छन् ।
नासा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको अवतरणको दृश्यमा तीनै जना यात्रु पृथ्वीमा अवतरण गरेपछि साथीहरूसँग मुस्काइरहेका थिए । क्यानाडाली र अमेरिकी अन्तरिक्ष यात्री कजाखस्तानबाट मस्को हुँदै स्वदेश फर्किने छन् ।
तीनै जना अन्तरिक्ष यात्री गत डिसेम्बर ३ मा रुसी अन्तरिक्ष यान सोयुजबाट अन्तरिक्षमा गएका थिए । तर, गत वर्षकै अक्टोबरमा रुसी अन्तरिक्ष यात्री अलेक्सी ओभ्चिनीन र अमेरिकी अन्तरिक्ष यात्री निक हेग चढेको यान भने दुर्घटनाग्रस्त भएको थियो । उड्नासाथ दुर्घटना भए पनि उक्त यानबाट दुवै यात्रीले आपत्कालीन अवतरण गरेका थिए ।
रुसी अन्तरिक्ष विज्ञानमा सन् १९९० यता यो पहिलो दुर्घटना थियो । चालीस वर्षीया अन्तरिक्ष यात्री म्याकक्लेनले गरेको ट्वीटमा पृथ्वीमा अवतरण गर्नुअघि आफूले अन्तिम पटक अफ्रिकी आकाशमाथिबाट गुज्रेको बताएका छन् । अन्तरिक्ष केन्द्रमा रहँदा उनीले दुई पटक अन्तरिक्षमा हिँडेका थिए ।
सन् २०११ देखि रुसले मात्र अन्तरिक्ष केन्द्रमा मानिस पठाएको छ । अमेरिका समेतका मुलुकले अन्तरिक्ष यात्रा खर्चिलो भएको भन्दै हाल स्थगित गरेका छन् । रुसले हालसम्म सात जना पर्यटकलाई अन्तरिक्ष केन्द्रमा पठाएको छ र सन् २०२१ देखि यसमा वृद्धि गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *