भर्खरै :

बन्दबाट कम प्रभावित भक्तपुरका शिक्षालयहरू

मङ्गलबारको नेपाल बन्दमा भक्तपुरका विद्यालयमा पठनपाठन भएको ‘कान्तिपुर टीभी’ को रिपोर्टिङले बुधबारभरि पनि महत्व पायो । बन्द आह्वान गरिएकै बेला नेमकिपाप्रति आस्थावान वा समर्थक वा सहानुभूति राख्नेहरूले विद्यालय सञ्चालन गरेको समाचारमा भनियो । विद्यालयहरू बन्द हुँदा लाखौँ विद्यार्थी प्रभावित हुने भएकोले विद्यालयहरू बन्द गर्नु उचित नभएको समाचारको आशय थियो । अब प्रश्न उठ्न सक्छ, नेमकिपा र यसका जनवर्गीय सङ्गठनहरूले पनि विगतमा शैक्षिक संस्था बन्दको आह्वान गरे, बन्दहरू पनि भए । के यो विरोधाभाष हो ? आफूले गरे जे पनि ठीक अरूले गरे उही काम बेठीक कसरी हुनसक्छ भन्ने प्रश्न उठ्नसक्छ ।
कुनै पनि घटना निरपेक्ष हुँदैन, कारण र परिणाम जोडिएरै आएको हुन्छ । बन्द र हडताललाई सापेक्षमा हेरिनुपर्छ । बन्द र हड्ताल एउटा प्रक्रियामा अगाडि बढ्नुपर्छ । कुनै राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक वा भौतिक परिवर्तनको निम्ति गरिने बन्दका सरोकारवालाहरूलाई सचेत बनाउनु र बन्दको निम्ति उनीहरूको समर्थन प्राप्त गर्नु आवश्यक छ । जबरजस्ती बन्दको कुनै औचित्य पनि हुन्छ । जनता वा सम्बन्धित पक्ष आफै बन्द गर्न तत्पर बनाउने जिम्मेवारी बन्दकर्ताको हो ।
बन्द एवम् हडतालको बेला जनता सडकमा हुनुपर्छ, घरघरमा बसेर तास खेल्ने वा दिनभर गफ गरी बिताउने परिस्थिति उपयुक्त होइन । राजनीतिक गतिविधिसहितको बन्द र हडताल हुनुपर्छ भन्ने मान्यता नेमकिपाले राख्दै आएको पाइन्छ ।
लामो समयको शैक्षिक हडतालले गरिबका छोराछोरी पीडित भए, उनीहरूको पढाइ बिग्रियो । तत्कालीन नेकपा माओवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले गरेका जबरजस्ती र अनिश्चितकालीन बन्दको विरोधमा खासगरी नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले राजनीतिक बहस एवम् छलफल चलायो । यसले भियतनाम क्रान्तिको बेला गुफामा विद्यालय सञ्चालन गरिएको तर्क गरेको थियो ।
२०६२÷०६३ को जनआन्दोलन र त्यस अगाडि थालिएको विद्यार्थी आन्दोलनको बेला पनि बन्दको आह्वान गर्नुभन्दा पहिले विद्यालय–विद्यालयमा गई राजनीतिक कक्षा सञ्चालन गर्ने प्रस्ताव नेक्राविसङ्घले नै राखेको थियो र सोहीअनुसार विद्यार्थी नेता तथा कार्यकर्ताहरू प्रतिगमन के हो, प्रजातन्त्र के हो, निरङ्कुश राजतन्त्रको विरुद्ध किन लड्ने भन्ने विषयमा विद्यालय तथा कलेजमा गई प्रशिक्षण तथा बहस चलाइएको थियो । पर्चा वा अपिलमा उल्लिखित बुँदाको व्याख्या गर्ने काम विद्यार्थी आन्दोलनमा सहभागीले गरे । विस्तारै राजनीतिक चेतना बढ्यो, निरङ्कुश राजतन्त्रको विरुद्ध लड्न विद्यार्थीसमेत तयार भए । शिक्षकले आन्दोलनलाई समर्थन गरे, शिक्षक विद्यार्थी सडकमा ओर्लिएपछि आन्दोलन थप बलियो भयो । आन्दोलनकारीकै आह्वानमा आन्दोलनको क्रममा क्षति भएको पढाइको पूर्ति थप कक्षा लिएर गरिएको स्मरणीय छ । किनभने राजनीतिक आन्दोलन र सङ्घर्षको अर्थ पनि नबुझेका स–साना बालबालिकासमेत बन्दबाट प्रभावित हुने स्थितिको जिम्मेवारी बन्दकर्ताले लिनुपर्छ ।
जनताका छोराछोरीले पढ्ने विद्यालय सदा चालू हुनुपर्छ भन्ने मान्यताकै कारण बन्द तथा हडतालमा पनि विद्यालय सञ्चालन गर्न सजिलो भएको भक्तपुरका विद्यालय क्षेत्रका जिम्मेवार पक्षहरूको भनाइ छ । बन्द भन्नेबित्तिकै आराम गर्ने वा काम गर्न नपर्ने दिनको रूपमा लिने मनोवृत्ति यहाँका शिक्षक तथा विद्यार्थीमा नहुनु सबभन्दा राम्रो एवम् सकारात्मक पक्ष हो । विद्यार्थी, शिक्षक तथा अभिभावकको सहयोग, सचेतताको कारण भक्तपुरका विद्यालय तथा कलेज बन्द तथा हड्ताल कम प्रभावित भएको पाइन्छ । तर, यो एकदुई मात्रको प्रकाश र कम समर्पणको परिणाम होइन । रोम एक दिनमा बनेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *