भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद – ८

  • कार्तिक २६, २०८२
  • ए. बादायेभ
  • विचार
जारशाही संसद्मा बोल्शेभिक सांसद – ८

बोल्शेभिक सांसदहरूसँग पत्राचार गरेको थाहा पाए प्रहरीले पक्रिने र जाली मुद्दामा फसाउने खतरा थियो । तैपनि, रुसका सबै कुनाकन्दराबाट मजदुरहरूले हामीलाई आफ्नो निर्देशन, अभिवादन र समर्थन गर्ने वचनहरू लेखेर पठाए ।
मजदुरहरूले सांसदहरूसँग सम्पर्कमा रहने आकाङ्क्षा व्यक्त गरे । त्यस्तै, उनीहरूले आआफ्ना सांसदहरूलाई सेन्ट पिटर्सबर्गका सर्वहारा जनतासँग घनिष्ट हुन भने । किनभने, पिटर्सबर्गका सर्वहारा क्रान्तिकारी आन्दोलनको अग्रदस्ता रहँदै आएका थिए । खार्कोभ सहरमा गाडीको पुर्जा बनाउने मजदुरहरूले त्यो सहर, त्यहाँका उद्योग र रेलवेमा काम गर्ने सामाजिक जनवादी समूहसँग मिलेर एउटा पत्र पठाए । पत्र मुरानोभलाई पठाइएको थियो । त्यसमा यस्तो निर्देशन थियो :
“कुनै राजनीतिक सङ्कट आउँदाका घडीमा सांसदहरूले आफूलाई संसद्मा निर्वाचित गर्ने मजदुरहरूसँग सल्लाह लिनैपर्छ । साथै, उनीहरूले सेन्ट पिटर्सबर्गका सर्वहारा जनतासँग घनिष्ट सम्बन्ध राख्नुपर्छ ।”
यसै शैलीका निर्देशनहरू अन्य मजदुर सांसदहरूले पनि पाए । सेन्ट पिटर्सबर्गका मजदुरहरूको समर्थन बोल्शेभिक सांसदहरूको लागि निकै महत्वपूर्ण ठहरियो । संसद्को दबुबाट बोल्दा बोल्शेभिकहरू सरकारलाई आरोप लगाउँथे । उनीहरूले सरकारका नकामहरू उदाङ्ग्याउँथे । त्यो बेला तुराइद दरबारको पर्खालबाहिर सेन्ट पिटर्सबर्गका तमाम मजदुरले आफूलाई साथ दिनेछन् भनेर उनीहरू सधैँ निर्धक्क रहन्थे । ती मजदुरले हडताल र जुलुस प्रदर्शन गरेर धेरैपल्ट संसद्मा बोल्शेभिकहरूले राखेका विचारलाई प्रभावशाली बनाइदिएका थिए । रुसका अन्य भेगका मजदुरहरू पनि चाँडै नै यो बाटोमा आए । तर, सबैभन्दा पहिलो र चोटिलो मार जहिल्यै सेन्ट पिटर्सबर्गका मजदुरले हान्थे ।
संसद्मा हाम्रो काम सुरु भएपछि ‘प्राभ्दा’ ले त्यसलाई स्वागत ग¥यो । उसको सन्देशमा सेन्ट पिटर्सबर्गका मजदुरहरूको भावना प्रतिबिम्बित थियो ः
“‘प्राभ्दा’ का सम्पादकहरू चौथो ड्युमा (संसद्) मा सामाजिक जनवादी समूहलाई स्वागत गर्छौँ । समूहले गाह्रो र जिम्मेवारीपूर्ण काम गर्नुपर्नेछ । त्यो कर्तव्यमा यो समूह सर्वहारा जनताको हित एवम् प्रजातन्त्रको रक्षामा निरन्तर दृढ भएर लाग्नेछ र सफल पनि हुनेछ भन्ने कामना गर्छौँ ।”
सेन्ट पिटर्सबर्गका मजदुरहरूको एक समूहले ‘प्राभ्दा’ मा यस्तो अभिवादन प्रकाशित ग¥यो ः
“चौथो ड्युमाका केही कुर्सीमा केही सांसद बस्छन् । अर्ध गोलो घेराको एउटा कुनामा बस्ने तिनै सांसदले जनताको साँचो प्रतिनिधित्व गर्छन् । तिनको मुटु रुसका सारा मजदुर र किसानहरूको मुटुसँगै ढुकढुक गर्छ । तिनीहरू नै मजदुरका सांसद हुन्; सामाजिक जनवादी समूहका सांसद हुन् ।”
यी सबै सन्देशले हामीलाई ढुक्क बनाए । निर्वाचनमा प्रत्यक्ष भाग लिने मजदुरहरूले मात्र हामीलाई संसद्मा पठाएका होइनन् बरु रुसका सम्पूर्ण सर्वहारा जनताले पठाएका हुन् भन्ने विश्वास भएर आयो । जनतासँगको यो बलियो र आत्मीय लगावले संसद्को काममा जटिलता र अप्ठ्याराहरू आउँदा हामीलाई असाध्यै सहयोग ग¥यो । समय बित्दै जाँदा जनतासँगको हाम्रो सम्बन्ध झन्झन् प्रगाढ हुँदै गयो ।
संसद्मा अप्ठ्यारो पर्दा मेन्शेभिकहरूले त्यसलाई सजिलै सल्टाउँथे किनभने तिनीहरूलाई यस्तो कामको अनुभव थियो । उनीहरूसँग अनुभवी सांसदहरू थिए । मेन्शेभिक नेता चखेइद्जे तेस्रो संसद्मा पाँच वर्षसम्म सामाजिक जनवादी समूहका अध्यक्ष थिए । त्यो अवधिमा उनले पर्याप्त अनुभव लिएका थिए । संसदीय प्रक्रियाका गञ्जागोल नियमहरूबाट कसरी काम लिने भन्ने उनले जानेका थिए । संसद्को दबुमा गएर बोल्ने बानी निकै महत्वपूर्ण थियो । सभापतिले दिने दबाब थेग्न र बहुसङ्ख्यक कालासयहरूमाथि हमला गरेर हराउन विशेष विधि अपनाउनुपथ्र्यो । त्यो विधिको ज्ञान पनि उत्तिकै महत्वपूर्ण थियो ।
संसद्का सबै समूहलाई सघाउनका लागि तथाकथित विज्ञहरूको बन्दोबस्त हुन्थ्यो । तिनीहरू संसद्मा निर्वाचित पार्टीहरूकै सदस्य र समर्थक हुन्थे । तिनकै मद्दतले मन्तव्य तयार पार्नका लागि आवश्यक सामग्री जम्मा गरिन्थ्यो । साथै, विधेयकका मस्यौदा, सुनियोजित प्रश्नोत्तर र मन्तव्यको भाषाबारे छलफल गरेर अनुमोदन गरिन्थ्यो । सामाजिक जनवादी समूहका लागि यस्ता विज्ञहरूको विशेष महत्व थियो किनभने हाम्रो पार्टी गैरकानुनी थियो ।
सामाजिक जनवादी समूहका सांसदहरूको काममा पार्टीका प्रचारक र पत्रकारहरूले सघाउँथे । साथै, विभिन्न पेसामा लागेका (वकिल, अर्थविद्जस्ता) पार्टी सदस्यहरूले पनि मद्दत गर्थे । यिनीहरू बोल्शेभिक र मेन्शेभिक दुवै हुन्थे । यस्तो पेसामा बोल्शेभिकभन्दा बढी मेन्शेभिक नै थिए । किनभने, बोल्शेभिकहरू जार सरकारका डरलाग्दा शत्रु थिए । त्यसैले उनीहरू गुप्त प्रहरीको निसानामा परिहाल्थे र धेरै दुःखकष्ट भोग्थे । मेन्शेभिकहरूलाई अलि बढी कानुनी सुविधा थियो । तिनका महत्वपूर्ण सदस्यहरू लामो समयदेखि सेन्ट पिटर्सबर्गमा बसोबास गर्दै आएका थिए । यसरी बस्नेहरूको जमात ठुलै थियो । उनीहरू मज्जाले साहित्यिक र सामाजिक काम गर्थे । उदाहरणको लागि मेन्शेभिक नेता डान, पोत्रेसोभ र यजोभ कानुनी रूपमै पिटर्सबर्गमा थिए ।
बोल्शेभिकहरूको हाल अर्कै थियो । कामरेड स्तालिन, स्वेर्दलोभ, कामेनेभ, ओल्मिन्स्की, मोलोतोभ, क्रेस्तिन्स्की, क्रिलेन्को, कुइरिङ, कोन्कोर्दिया सामोइलोभालगायत पार्टीका अग्रणी कार्यकर्ताहरूले संसदीय बोल्शेभिक टोलीमा आलोपालो काम गर्नुहुन्थ्यो । तर, सेन्ट पिटर्सबर्गमा उहाँहरूको बसाइँ गैरकानुनी थियो । उहाँहरू छोटो समयलाई काम गर्नुहुन्थ्यो । पक्राउ प¥यो कि उहाँहरूलाई निर्वासनमा पठाइन्थ्यो । निर्वासनबाट भागेर उहाँहरू पुनः छोटो समयका लागि काममा लाग्नुहुन्थ्यो ।
पाठ ४
चौथो संसद् खुल्यो
संसद्को उद्घाटनकै दिन हडताल । हडतालमा मेन्शेभिक र बोल्शेभिक । चौथो संसद्को पहिलो बैठक । सामाजिक जनवादी समूह र संसदीय अध्यक्षमण्डलको चुनाव । सरकारको घोषणा । सामाजिक जनवादीहरूको जवाफ । मालिनोभ्स्कीलाई ‘निकाला’ ।
नयाँ संसद्को थालनीसँगै हडतालको लहर सुरु भयो । मजदुरवर्गले हडताली अस्त्रको महत्व राम्ररी बुझिसकेका थिए । त्यसकारण, जारशाही सरकार र पुँजीपतिविरुद्धको सङ्घर्षमा मजदुरहरूले यसको व्यापक गर्दै थिए ।
संसद्को उद्घाटन १९१२ नोभेम्बर १५ गते तोकिएको थियो । संसद् खुल्नभन्दा ठिक अघि सेन्ट पिटर्सबर्गमा एउटा भेला भयो । कालासागरको एउटा जहाजका नाविकहरूलाई मृत्युदण्ड दिइएकोमा विरोध जनाउन सो भेला डाकिएको थियो । सेबास्तोपोलको जलसेना मुख्यालयले विद्रोहको षड्यन्त्र बुनेको हुनाले ७ नाविकलाई मृत्युदण्ड दिएको थियो भने १०६ जनालाई श्रम शिविरको सजाय सुनाएको थियो । यसको जवाफमा मजदुर हडतालहरू सुरु भयो । हडताल छिट्टै सेन्ट पिटर्सबर्गबाट रुसका अन्य क्षेत्रमा फैलियो । रुसभरि झन्डै साढे २ लाख मानिस विरोध हडतालमा सहभागी भए । सेन्ट पिटर्सबर्गका केही ज्यासलहरूमा विरोध जुलुसको आयोजना भयो । मजदुरहरूले रातो झन्डा बोक्दै सडकमा क्रान्तिकारी गीतहरू गाए ।
जलसेनाको मृत्युदण्ड काण्डले गर्दा सुरु भएको हडतालको सिलसिला संसद् सुरु हुँदासम्म चालु रह्यो । संसद् सुरु भएपछि हडतालले राजनीतिक हडतालको रूप लियो । संसद्को पहिलो बैठकसँग हडतालको समय मिलाइयो । यो हडताल जून ३ को निर्वाचन ऐन प्रतिक्रियावादी संसद्विरुद्ध सामाजिक जनवादी सांसदहरूको समर्थनमा आयोजना गरिने घोषणा गरियो । त्यति नै बेला आल्गाचिन्स्की र मुतोमास्र्की कारागारका राजनीतिक बन्दीसँग क्रूर व्यवहार गरिएकोमा विरोध सुरु भयो । यसरी हडतालीहरूले मृत्युदण्ड काण्डका साथै बन्दी काण्डको पनि विरोध गरे ।
यी हडताल र जुलस प्रदर्शनको आयोजना सेन्ट पिटर्सबर्गका सामाजिक जनवादीहरूका तीन समूहले गरेका थिए । संसद् खुल्नुभन्दा तीन दिनअघि जारी गरिएको पर्चामा हातले यस्तो लेखिएको थियो – “सेन्ट पिटर्सबर्गका ट्रेड युनियनहरूको केन्द्रीय सामाजिक जनवादी समूहको आयोजना”, “सामाजिक जनवादी समूह”, “क्रान्तिकारी सामाजिक जनवादीहरूको समूह” । यसरी यी हडताल गर्नु वा उक्त पर्चा प्रकाशित गर्नुमा न बोल्शेभिकहरूको पिटर्सबर्ग समितिको हात थियो न मेन्शेभिकहरूको सङ्गठन ब्युरोको हात थियो । हडताल सुरु गर्नेहरूले पार्टी समितिहरूलाई पूर्व जानकारी गराएका थिएनन् । न उनीहरूले ‘प्राभ्दा’ वा ‘लुच’ का सम्पादकहरूलाई केही भने । उनीहरूले हाम्रो संसदीय समूहलाई पनि केही बताएनन् । त्यो बेला हाम्रो संसदीय समूह बनेको दुई हप्ता बितिसकेको थियो ।
यसरी अलग्गै समूहले छापामार शैलीमा स्थितिलाई आफ्नो हातमा लिनुको विशेष कारण थियो । क्रान्तिकारी आन्दोलनलाई सुसङ्गठित गर्न नपुगेकैले त्यो अवस्था आएको थियो । यसको अर्को कारण थियो – नेतृत्वकारी पार्टी समितिसँग सम्बन्ध स्थापित गर्नमा आइरहेको जटिलता । गुप्त प्रहरीले जहिल्यै पार्टी नेतृत्वलाई खेदिरहने र भेट्यो कि पक्राउ गर्ने गथ्र्यो । त्यसकारण, पार्टी नेतृत्वले आफ्नो थातबासबारे धेरै गोप्य राख्नुपथ्र्यो ।
यस्तो स्थितिले गर्दा त्यसप्रकारका हडताल र जुलुस गर्नेहरूले पार्टीको ठोस र प्रस्ट मार्गदर्शन पाउन सकेनन् । तिनीहरूले जहिल्यै ‘गैरगुट भावना’ र ‘एकता’ जस्ता नारा लगाउँथे । त्यसकारण, उनीहरूमा एकप्रकारको अस्पष्टता र अनिश्चय थियो । पछि यही प्रवृत्तिलाई ‘मिज्रायोन्त्सी’ भनियो । (टिपोट : विश्वयुद्धभन्दा ठीक अघि स्थापना भएको तथाकथित ‘एकीकृत सामाजिक जनवादीहरूको अन्तरजिल्ला सङ्गठन’ का सदस्यलाई ‘मिज्रायोन्त्सी’ भनिन्थ्यो । यसमा केही सामाजिक जनवादी ‘इतर समूह’ पनि समावेश थिए । सन् १९१७ को गर्मी यामसम्म यसको अलग्गै अस्तित्व थियो । पछि यो हाम्रो पार्टीमा समाहित भयो ।)
यी समूहहरूले जारी गरेको पर्चामा बोल्शेभिक र मेन्शेभिक दुवैका नारा लेखिएको थियो । पर्चामा ‘जमिनदारहरूको भूमि अधिग्रहण गर्ने’, ‘सङ्गठनको अधिकार’, ‘जनताको साँचो प्रतिनिधित्व’ र ‘लोकतान्त्रिक गणतन्त्रको लागि सङ्घर्ष’ आदि माग राखिएको थियो । नोभेम्बर १५ भन्दा तीन दिनअघि यो पर्चालाई कलकारखानाहरूमा बाँडिएको थियो । त्यो बेला पर्चा वितरण गर्ने हडतालका आयोजकहरूले मजदुरहरूबिच मौखिक प्रचार पनि गरेका थिए । हाम्रा दुवै खेमा र सेन्ट पिटर्सबर्ग पार्टी समितिहरूले यो नौलो तथ्यको सामना गर्नुप¥यो ।
–क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *