अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
अजित श्रेष्ठ, मध्यपुर
‘विकास’ भन्ने शब्द आजभोलि ज्यादै खतरनाक बन्दै छ । विकासको नाममा जसले जे गर्दा पनि छुट हुने अवस्था छ । ‘विकास’ को नाममा गरिएको कुनै पनि कामप्रति कसैले असहमति र विरोध गर्नु ज्यादै जोखिमको विषय बनिसकेको छ । विकासको नाममा जे गरे पनि चुपचाप सहनुपर्ने अवस्था छ । झिनो स्वरमा त्यसप्रति असहमति व्यक्त गरे वा त्यो काममाथि प्रश्न उठाउनेबित्तिकै ‘विकासविरोधी’ को गाली वर्षा हुन्छ । सामाजिक सञ्जालमा अशिष्ट शब्द प्रयोग गरी अपमानित गर्नेदेखि ‘मार्ने धम्की’ सम्म आउने गरेका छन् ।
बोल्ने मानिसको मुखमा पैसाको बुजो लगाइएको छ । विरोधमा लेख्ने कति पत्रकार किनिएका छन् । विकासका नाममा हुने गलत र गैरकानुनी क्रियाकलापलाई सकेसम्म बाहिर आउनै नदिई दबाउने, आइहाले पनि नसुनिने बनाउने र कदाचित सुनिने भए त्यो आवाजलाई पनि दबाउने संयन्त्र बनाइएको छ । दबाउनको निम्ति विभिन्न आर्थिक लोभमा लोभ्याइएका लाठाहरू पालेका हुन्छन् । अनि यो सबै तारतम्यलाई सत्ताले संरक्षण दिन्छ ।
‘विकास र समृद्धि’ को लहर चलिरहेको देशको चित्र हो यो । सत्ताले जे गर्छ चुप सहेर बस, नभए ‘विकासविरोधी’को कोपभाजनमा पर ।
असार १ गते मध्यपुर नगरपालिकाको ऐतिहासिक दुईपोखरीमा एउटा कार्यक्रमको आयोजना गरियो । गत वर्षझैँ यो वर्ष पनि हनुमन्ते खोलामा बाढी आए हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नेपाली सेनाको वीर दल गणसमेतको उपस्थितिमा विपद् व्यवस्थापन पूर्वतयारी अभ्यास गरियो ।
सो कार्यक्रममा आकस्मिक उद्धारको लागि करिब रु. २० लाख बराबरको उद्धार सामग्री खरिद गरिएको पनि जानकारी दिइयो । ‘स्थानीय व्यवसायी’हरूको आर्थिक सहयोगमा ती सामान खरिद गरिएको जानकारी दिइयो । झण्डै २० जना व्यवसायीले १–१ लाखको दरमा चन्दा प्रदान गरिएको जानकारी सार्वजनिक भयो ।
दुईपोखरीमा सो कार्यक्रम भएको झण्डै चार दिनअघि मध्यपुर थिमि नपाको नयाँ थिमिस्थित हनुमन्तेको साविकको धार नै परिवर्तन गरी भूमाफियाले जग्गा निकाली प्लटिङ गर्न लागेको विवादित ठाउँबारे मध्यपुर थिमि नपा र सूर्यविनायक नपाका नेतृत्वबीच सहमति भएको र सहमतिअनुसार भूमाफियाले चाहेजस्तै गरी हनुमन्ते घुमाइने खबर प्रकाशमा आयो ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हनुमन्ते खोलामा बनाउँदै गरेको ‘हनुमन्ते करिडर’ अन्तर्गत मध्यपुरथिमि नपा–३ र सूर्यविनायक नपा–३ मा पर्ने चारदोबाटो क्षेत्रमा निर्माण कार्य पुगेपछि प्रदेश नं ३ का नेकपाका सांसदहरू राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठले तत्काल काम रोक्न निर्देशन दिएपछि निर्माण कार्य रोकिएको थियो । तर, कथित ‘भक्तपुरको विकासको भाग्य’ मानिएको सो आयोजना रोकेकोमा सांसद राजेन्द्र श्रेष्ठले ज्यान मार्ने धम्की खेप्नुप¥यो ।
‘यसबारेमा जानकारी लिन खोज्दा डा. श्रेष्ठले भन्नुभयो, “सिमाङ्कनको समस्या रहेको जनताबाट गुनासो आएपछि हामीले हनुमन्ते करिडोर निर्माण रोकेका हौँ, मलाई गोली ठोकिदिन्छु भनेर धम्क्याएका छन् रे, म केही दिनमा पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गर्छु ।”
(राष्ट्रिय समाचार समिति, १० असार)
राससले अगाडि लेखेको छ, “मध्यपुरथिमि नगरपालिका क्षेत्रमा ब्लक कारखानाले पर्खाल लगाएर वर्षौदेखि कब्जा गर्दै आएको करोडौँको मूल्य पर्ने सात रोपनी सार्वजनिक जग्गा झिक्न पर्खाल भत्काउने भएपछि भू–माफियाको चलखेलमा हनुमन्ते करिडोर बीचमै रोकिएको स्थानीयवासीको भनाइ छ ।”
मध्यपुर नपाका हालका मेयर मदनकृष्ण श्रेष्ठ सो विषयमा मौन बस्नुभएको छ ।
दुईपोखरीको कार्यक्रममा हनुमन्ते खोलामा बाढी आए मानवीय क्षति नहोस् भन्ने मनोकामनाका साथ तयारीका सामान खरिद गर्न चन्दा दिने ‘स्थानीय व्यापारी’ मध्ये केही चन्दादाता हनुमन्तेको बहाव घुमाएर सार्वजनिक जग्गा हडपी रातारात धनी बन्ने सपना पालेका भूमाफियाहरू पनि भएको स्थानीयको भनाइ छ ।
हनुमन्तेको सार्वजनिक जग्गा सिध्याउन ‘मध्यपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाबीच भएको सम्झौता’ को चर्चालाई छोप्न दुईपोखरीको कार्यक्रमलाई प्रचारमा ल्याइयो । अझ करोडौँ करोड आम्दानी हुने सार्वजनिक जग्गा बेच्न पाउने भएपछि भूमाफियाहरू नै चन्दा दिन तम्सिए । करोडौँ करोड नाफा हुने व्यापारमा एक लाखको चन्दा दिनु उनीहरूको लागि कुनै समस्या होइन ।
यतिबेला हनुमन्ते कोरिडरमाथि कसैले प्रश्न उठाए ‘विकासविरोधी’ को आरोप लगाइने गरेको छ । विवादित जग्गाप्रति चासो राखेर तत्काल काम रोक्न निर्देशन दिने सांसदलाई ‘गोली ठोकिदिने धम्की’ आइरहेको छ । यस्तो धम्की एक जना सत्तासीन दलका सांसदलाई कसले दियो ? कसको संरक्षणमा यी सबै काम भइरहेका छन् ?
सार्वजनिक सम्पत्ति सिध्याउने खेलमा लागेका भूमाफियालाई ‘असल’ आवरणले छोप्ने र अनि जनविरोधी कामलाई ढाकछोप गराउने काम किन भइरहेको छ ? सम्बन्धित जनप्रतिनिधि र निकायबाट जवाफ अपेक्षित छ ।
Leave a Reply