ऐना
- असार २६, २०८३
वाई. पी. प्रधानाङ्ग
एड्म स्मिथ (Adam Smith) जून ५,१७२३ ई. मा स्कटलैन्डको फाइफ काउन्टीको किरकेल्डी नगरमा जन्मनुभएको थियो । त्यसबेला किरकेल्डी नगरमा जनसङ्ख्या १५०० मात्र थियो । एड्म स्मिथ चार वर्षको छँदा एक विचित्र घटना घटेको थियो । स्मिथलाई घुमन्ते वन्यजातिको एक टोलीले अपहरण ग¥यो । एड्म स्मिथका काकाले आफ्नो भतिजाको खोजबिन गर्नुभयो र पछि पत्ता पनि लाग्यो । तिनीहरूलाई पछ्याउँदै जाँदा स्मिथलाई सडकको छेउमा फेला पारियो । स्मिथको जीवनबारे एक लेखक लेख्छन्, “यदि स्मिथलाई छोडेर नगएको भए सायद उहाँ साधारणतया घुमन्ते हुने थियो ।”
सन् १७३७ देखि १७७० सम्म उहाँले ग्लासगो विश्वविद्यालयका प्रा. हचेसनको निर्देशनमा शिक्षा प्राप्त गर्नुभयो । १७ वर्षको उमेरमा उहाँले छात्रवृत्ति प्राप्त गर्नुभयो । छात्रवृत्तिबाट नै उहाँले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्न थाल्नुभयो । विश्वविद्यालयमा ६ वर्षसम्म अध्ययन गर्नुभयो । १७ वर्षको उमेरमै उहाँले दार्शनिक डेविड ह्यूम (सन् १७११–१७७३) सन्देहवादी दार्शनिक, पुँजीवादी युगको राजनीतिज्ञको पथप्रदर्शक, भौतिकवादी र आध्यात्मिकवादीको मध्यस्थता गर्ने मध्यस्थतावादीको पुस्तक ‘मानवीय प्रकृतिको ग्रन्थ’ जस्ता पुस्तक अध्ययन गर्न लाग्नुभयो । त्यसबेला साधारण विद्यार्थीहरूलाई विश्वविद्यालयले डेविड ह्यूमको पुस्तक अध्ययन गर्न मनाही गरिएको थियो । एकदिन अकस्मात् उहाँको कोठामा डेविड ह्युमको पुस्तक भेटाइयो । विश्वविद्यालयले उहाँलाई निकाला गर्न लागेको थियो तर चेतावनीमात्र दियो । विश्वविद्यालयका प्राध्यापकहरूका आँखामा डा. स्मिथ डेविड ह्यूमको दर्शनशास्त्र पढ्न योग्य थिएन ।
डा. स्मिथ १७५० मा अक्सफोर्ड विश्वविद्यालयमा अन्तिम वर्षमा अध्ययन गर्दै हुनुहुन्थ्यो । यही समयसम्म बेलायतको ग्रामीण अर्थ–व्यवस्था खेतीयोग्य भूमिको आधा भाग बाँझो भूमिकोरूपमा विद्यमान थियो । खेती भू–स्वामीको अधीनमा हुन्थ्यो र खेती परम्परालाई साधारण रूपमा मात्र परिर्वतन गर्दथे ! त्यसबेला खेती गर्दा बढी बाली उत्पादन गर्ने नयाँ विचारलाई भन्दा परम्परागत विचारलाई मात्र बढी जोड दिइन्थ्यो । कुनै पनि व्यक्ति या किसान बाँझो भूमिमा घरवार गरिबसेमा तिनीहरूले सित्तै काम गर्नुपर्दथ्यो । त्यसैले तिनीहरूलाई बेगारी भनिन्थ्यो । त्यस्तै अर्का मध्यकालीन दासका सन्तानहरूले भू–स्वामीहरूलाई बेगार दिनुपथ्र्यो वा दीर्घकालीन सेवाबाट मुक्त भएको भए भू–स्वामीलाई मुआब्जा तिर्नुपथ्र्यो । साधारण जोताहा किसानहरूले बाँझो जग्गामा घरवार बनाउन पाउँदैनथे ।
समथल प्रदेशमा किसानहरूलाई भाडामा दिइएको जग्गा नै किसानहरूको सम्पत्ति हुन्थ्यो । २०–३० एकड भूमि भएको किसानले मात्र साधारणरूपमा परिवार पाल्नसक्थ्यो । कम भूमि हुने किसानका परिवारले धागो काटी, कपडा बुनी जीविका चलाउनुपर्दथ्यो ।
त्यसबेला कल–कारखानामा पुरुष र महिलाहरू मिलेर काम गर्थे । पुरुष र महिला दुवैका कमरभन्दा माथि लुगा हुँदैनथ्यो । काम गर्दा गर्दै उनीहरू थाक्थे । पशुलाई गरिने जस्तो अन्याय र अत्याचारपूर्ण व्यवहार उनीहरूले सहनुपर्दथ्यो । कामदारका सात वर्षदेखि दस वर्षबीचका बच्चाहरू पनि हुन्थे, तिनीहरूले जाडो महिनामा सूर्यको एक झलकसम्म हेर्न पाउँदैनथे । ती स–साना कामदार बच्चाहरूले कोइला टम्म भरेको पाङ्ग्रे ठेला घचेट्ने गर्दथे । त्यसबापत ती बच्चाहरूलाई खानपिनको निम्ति केही खानेकुरा दिइन्थ्यो । गर्भवती महिलाहरूले पनि पशुसरह कोइलाको भारी घचेट्नु पर्दथ्यो । ती गर्भवती महिलाहरूले त्यस अँध्यारो र फोहर खाल्डोमा नै बच्चाहरू जन्माउँथे ।
एकातिर किसान र मजदुरहरूको अवस्था गए–गुज्रेको थियो भने अर्कोतिर देशको जनसङ्ख्या बढिरहेको थियो । १८ रौं शताब्दीको उत्तराद्र्धसम्ममा जनसङ्ख्या धेरै वृद्धि भइसकेको थियो । जनसङ्ख्या वृद्धिले गर्दा खाद्यान्नको आवश्यकता पहिलेभन्दा बढी हुने नै भयो । कृषि उत्पादनमा भने आवश्यक आधुनिकीकरणको अभावले गर्दा कुनै परिवर्तन हुन सकेको थिएन । खाद्यान्नको अभावले गर्दा मूल्यवृद्धि भयो । यसको असरले ठूला–बडाबाहेक अन्य जनतालाई धेरै कष्ट भयो । यस्तै देशको सामाजिक व्यवस्थाबाट ती जनता थिचोमिचोमा परेका थिए । दुइटा रोटीको निम्ति पशुसरह काम गर्नुपथ्र्यो । अन्याय, अत्याचार र अपमान पनि तिनीहरूले सहनुपर्दथ्यो । अधिकांश जनताको जीवनस्तर दुःखपूर्ण थियो ।
देशको आर्थिक प्रगतिका सम्बन्धमा एक शताब्दीको अन्तरमा दुई विचारधाराको उदय भइसकेको थियो । यी दुई विचारधारामा निकै अन्तर पाइन्थ्यो– वाणिज्यवादी र भूमि प्रधानतावादी (प्रकृतिवादी) । भूमि प्रधानतावादीहरू सम्पत्तिको स्रोत कृषिलाई मात्र मान्थे । भूमि जोत्दामात्र लागेको भन्दा बढी धन प्राप्त हुन्छ । किसानहरूले खेतमा जति बीउ छर्थे, त्योभन्दा तीस, साठी र सयौं गुणा बढी अन्न पाउँथे ।
वाणिज्य र कल–कारखाना आवश्यक थियो । यसले सम्पत्ति वृद्धि गर्नसक्तैन र उद्योगधन्दामा जति श्रम र कच्चा मालसामानको निम्ति पुँजी लगाइएको हुन्छ, त्यति बराबरमात्र मूल्य पाइन्थ्यो । त्यसकारण वाणिज्य व्यवसायबाट ‘खास वृद्धि’ प्राप्त नहुने भएकोले यसलाई ‘अनुत्पादक व्यवसाय’ को रूपमा मानिन्थ्यो ।
वाणिज्यवादीहरू स्वतन्त्र व्यापारलाई बढी जोड दिन्थे । तिनीहरू जहाँ पनि नियम वा प्रतिबन्ध, एकाधिकार वा विशेषाधिकारको अन्त गर्न चाहन्थे । व्यक्तिहरूको माझमा धेरै हान–थाप भएपछि मात्र प्रत्येक व्यक्तिले बढी फाइदा प्राप्त गर्नसक्छ भन्ने तिनीहरूको विश्वास थियो । यो विचार जेरेमी बैन्थम (Jeremy Bentham) ले आफ्नो पुस्तक ‘फ्रेगमेन्ट अन गभर्नमेन्ट’ (Fragment On Government) मा गर्नुभएको थियो । उहाँको रचना १७७६ ई.मा प्रकाशन भएको थियो ।
अक्सफोर्ड विश्वविद्यालयको अध्ययन सकिनासाथ उहाँ एडिनबरा विश्वविद्यालयमा राजनीतिशास्त्र र अङ्ग्रेजी साहित्यको शिक्षक हुनुभयो । १७५१ ई.मा उहाँ ग्लासगो विश्वविद्यालयमा तर्कशास्त्रको प्राध्यापक र दर्शन विभागको अध्यक्षमा नियुक्त हुनुभयो । १७५९ ई. मा उहाँले ‘नैतिक भावनाको सिद्धान्त’ भन्ने पुस्तक प्रकाशित गर्नुभयो । यस पुस्तक प्रकाशनपछि उहाँलाई अङ्ग्रेजी दार्शनिकहरूको तहमा राख्न थालियो । त्यसबेला उहाँ ३७ वर्षको हुनुहुन्थ्यो ।
१७६० ई.मा बेलायत घुम्न जाने यात्रीहरूमा ग्लासगो विश्वविद्यालयका प्राध्यापक डा. स्मिथको नाउँ नसुन्ने कमै होलान् । डा. स्मिथको नाउँ त त्यति प्रख्यात थिएन तर उहाँलाई नचिन्ने बेलायतवासी कमै थिए होला । फ्रान्सका दार्शनिक भोल्टेयरको कानमा पनि डा. स्मिथको नाउँ पुग्यो, डेविड ह्यूम उहाँको अभिन्न मित्र भइसकेको थियो । यसबाहेक रुसका विद्यार्थीहरू उहाँको भाषण सुन्न उत्साहले बेलायत पुग्थे ।
१७६४ ई.मा बुकलेयच (Buccleuch) को ड्यूकको निजी शिक्षकको हैसियतले उहाँ आफ्नो शिष्यका साथ फ्रान्स जानुभयो । १८ महिनासम्म फ्रान्सको टुलु भन्ने ठाउँमा बस्नुभयो । यस अवधिमा डा. स्मिथले न राम्रोसित फ्रान्सेली भाषा सिक्नुभयो, न राम्रो साथी नै पाउनुभयो । त्यसपछि उहाँहरू दुवै फ्रान्सको दक्षिणी भेग जानुभयो ।
त्यहाँ उहाँले भोल्टेयरसँग भेट गर्नुभयो । त्यसपछि जेनेभा जानुभयो र फेरि पेरिस फर्कनुभयो । यात्राको दिक्दारी हटाउनको निम्ति डा. स्मिथले राजनैतिक अर्थशास्त्रबारे एक ठूलो पुस्तक लेख्न थाल्नुभयो । यस विषयमा पहिले नै उहाँले ग्लासगो विश्वविद्यालयमा भाषण दिइसक्नुभएको थियो, एडिनबडा विश्वविद्यालयका प्रख्यात विद्वानहरूसँग यस विषयमा उहाँले संवाद गरिसक्नुभएको थियो र डेविड ह्यूमसँग परामर्श लिइसक्नुभएको थियो । त्यो पुस्तकको नाम हो – Wealth of Nations (राज्यको सम्पत्ति) । यो पुस्तक १२ वर्षदेखि पूरा हुन पाएको थिएन ।
१७६६ ई. मा यात्रा समाप्त भयो । उहाँको खानदानी शिष्य जागिर खान गए, उहाँ लण्डन फर्कनुभयो । त्यसपछि फेरि किरकेल्डीमै जानुभयो । डेविड ह्यूमको आग्रहअनुसार उहाँले दस वर्षसम्म किरकेल्डीमै बिताउनुभयो । दस वर्षसम्म उहाँ आफ्नो पुस्तकको रचना गर्नतिरै लाग्नुभयो । १७७६ ई.मा उहाँको महान् पुस्तक ‘राज्यको सम्पत्ति’ प्रकाशित भयो । यो पुस्तकमा भूमि प्रधानतावादीहरूको विचारलाई अझ राम्रोसित विश्लेषण गरिएको थियो । साथै अर्थशास्त्रलाई राजनीतिशास्त्र र धर्मशास्त्रबाट अलग्ग पार्न सफल भएको र त्यसबेलादेखि अर्थशास्त्रलाई विज्ञानको रूपमा मानिएको हो । यसबाट डा. एड्म स्मिथले अर्थशास्त्रको जन्मदाताको श्रेय पाउनुभयो । त्यसबेला उहाँ ५३ वर्षको हुनुहुन्थ्यो । दुई वर्षपछि उहाँ एडिनबराको सीमा कर अधिकारीमा नियुक्त हुनुभयो । उहाँले आजीवन विवाह गर्नुभएन । उहाँ आमासँग बस्नुहुन्थ्यो । उहाँकी आमा नब्बे वर्षको उमेरमा बित्नुभयो ।
जीवनका अन्तिम दिनहरूमा उहाँले ठूलो सम्मान एवं आदर पाउनुभयो । उहाँ फेरि पुरानो ग्लासगो विश्वविद्यालयको उप–कुलपतिमा निर्वाचित हुनुभयो । उहाँकै जीवनकालमा ‘राज्यको सम्पत्ति’ डेनिसेली, फ्रान्सेली, जर्मन, इटालियाली र स्पेनियाली भाषामा अनुवाद भएको थियो । उहाँको नाम सारा पाश्चात्य जगतमा फैलियो तर अक्सफोर्ड विश्वविद्यालयले उहाँलाई बेवास्ता ग¥यो । डा. स्मिथलाई भेट्न प्रधानमन्त्री पिट द यंगर उहाँकै घरमा जानुभयो ।
अर्थशास्त्री डा. स्मिथको निधन १७९० ई.मा भयो । त्यसबेला उहाँ ६७ वर्षको हुनुहुन्थ्यो । त्यसबेला बेलायतीहरू फ्रान्सेली राज्यक्रान्तिले चिन्तित भइरहेका थिए । बेलायतीहरू फ्रान्सेली राज्यक्रान्तिको हावा आफ्नो देशमा नल्याउने चिन्तामा फसेका थिए । क्रान्तिको अगाडि उहाँको मृत्युमा बेलायतका ठूलावडाहरूले दुःख मनाएनन् । उहाँको मृत शरीर केननगेटको गिर्जाघरमा गाडियो । उहाँको समाधिस्तम्भमा ‘राज्यको सम्पत्ति’ को रचयिता डा. एड्म स्मिथ ‘सदाका लागि चिरनिद्रामा हुुनुहुन्छ’ भन्ने वाक्य कुँडिएको छ ।
बेलायतको विकासमा अर्थशास्त्री डा. एड्म स्मिथको ठूलो योगदान छ भनिन्छ । डा. एड्म स्मिथ अर्थशास्त्रका जन्मदाता हुनुहुन्थ्यो । नेपालमा पनि आर्थिक विकासको नारा केही वर्षदेखि चलिरहेको छ तर प्रज्ञा प्रतिष्ठानले न डा. एड्म स्मिथको ‘राज्यको सम्पत्ति’ नेपालीमा अनुवाद गरेर निकाल्न सकेको छ, न नेपालको आफ्नो एड्म स्मिथ छ ।
सहायक स्रोत
क) इङ्गलान्डको आर्थिक इतिहास – जर्ज डब्लु साउथगेट
ख) विश्वका महान् अर्थशास्त्रीहरू – रार्बट एल हिलब्रोनर
ग) आर्थिक विचारको इतिहास – हतेला
घ) आर्थिक विचारको इतिहास – श्रीवास्तव
(वर्ष ३, अङ्क १, २०४१)
Leave a Reply