भर्खरै :

खोइ विज्ञानसम्मत चेतना ?

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुखैमा रहेको भद्रकाली मन्दिरमा एक जना युवतीलाई ‘बोक्सी’ लागेको भन्दै कुटपिट र अभद्र व्यवहार गर्ने आफूलाई ‘धर्तीमाता’ भन्ने एक जना महिलालाई प्रहरीले पक्राउ ग¥यो । सामाजिक सञ्जालमार्फत युवतीमाथि कुटपिट गरेको दृश्य सार्वजनिक भएपछि उनलाई गिरफ्तार गर्न सरकारमाथि दबाब प¥यो । उनी पक्राउ परिन् । आश्चर्य त भद्रकाली मन्दिरमा यस्तो घटना भइरहँदा घटनास्थलमा प्रहरीहरू पनि थिए । प्रहरीकै सहभागितामा घटना भएको हो । कानुनले धामी, बोक्सीजस्ता अन्धविश्वासलाई गैरकानुनी र विज्ञानले अवैज्ञानिक भनेको छ । कानुनले बोक्सीको नाममा हुने कुटपिट र अभद्र व्यवहारलाई सजातगी भनेको छ । तर, प्रहरीकै अघि यस्ता वारदात हुनुले राज्य यस्ता अन्धविश्वासविरूद्ध लड्न अझै गम्भीर नभएको प्रस्ट हुन्छ ।
प्रहरी, सेना र कर्मचारी नै धामी र बोक्सीजस्ता अन्धविश्वासको पछि लाग्ने अवस्था रहँदासम्म यस्ता कुप्रथालाई बिदा गर्ने दिन निकै टाढा हुने छ । भद्रकालीको घटनामा ‘धर्तीमाता’ जति सजातगी छिन्, त्यत्ति नै सजातगी त्यहाँ खटिएका प्रहरीहरू पनि छन् । प्रहरीले तिनलाई पनि कानुनी कारबाही गर्नुपर्छ ।
बोक्सीप्रथाजस्ता अन्धविश्वासका कारण साना–ठूला अपराध भइरहनुले नेपाली समाजको सांस्कृतिक स्तर उकास्न राज्यको भूमिका अझै अपुग भएको देखाएको छ । राज्यको भूमिका जनताको खाना र नानामा मात्र सीमित होइन । राज्यले नागरिकको जीवन सुखी बनाउन जीवनका हरेक पहलुमा भूमिका खेल्नुपर्ने हुन्छ । विज्ञानसम्मत संस्कृतिको निर्माण नै सभ्य समाज निर्माणको आधार हो ।
स्कूले विद्यार्थीहरू पनि कतिबेला काम्नेजस्ता रोगबाट पीडित हुन्छन् । राज्यले समाजलाई शिक्षित बनाउने जिम्मेवारी दिएका शिक्षक–शिक्षिका स्वयम् तिनलाई आवश्यक मनोवैज्ञानिक उपचार गर्नतिर भन्दा ‘देवता लाग्ने मान्छे’ को भरपर्छन् । सरकारी कर्मचारी र तिनका परिवार हरेक शनिबार ‘माता’ को मन्दिरमा जान्छन् । समाजको यो दरिद्रता र अन्धविश्वास निर्मूल गर्नु राज्यको दायित्व हो ।
राज्यले आफू मातहतका सबै कर्मचारीलाई यस्ता प्रथाबाट मुक्त गर्नुपर्छ । अन्धविश्वासमा लाग्ने कर्मचारीलाई सचेत र आवश्यक कारबाही गरी यो अभियानको सुरूवात गर्नुपर्छ ।
अन्धविश्वास धर्म होइन । धर्मभित्र निश्चित जीवनदर्शन हुन्छ । धर्मका कतिपय मान्यता विज्ञानसम्मत हुन्छन् । तर, अन्धविश्वास विज्ञानविरोधी हो । यो अन्धपरम्परा हो । यो असभ्यता हो । यसले हाम्रो पछौटेपना र जङ्गली प्रवृत्तिमात्र उजागर गर्छ । त्यसकारण राज्यले अन्धविश्वासलाई धर्म र धार्मिक आस्थाको नाममा संरक्षण गर्नुहुन्न । देवता र धर्मको नाममा हुने अपराधलाई कानुनबमोजिम कारबाही गर्नुपर्छ । त्यस्ता अपराधलाई प्रोत्साहन दिने मानिसलाई पनि कारबाही गर्नुपर्छ ।
विद्यालयस्तरदेखि यस्ता कुप्रथा र अन्धविश्वासबारे विज्ञानसम्मत जानकारी दिने कक्षा सञ्चालन गर्नुपर्छ । प्रचारमाध्यममा यस्ता खालका अन्धविश्वासविरूद्ध प्रचारलाई प्राथमिकता दिइनुपर्छ । राजनीतिक परिवर्तनसँगै जनतामा सांस्कृतिक परिवर्तन ल्याउन नसके राजनीतिक नेतृत्व र व्यवस्था असफल हुनेछन् । गणतन्त्रको चेत विज्ञानको चेत पनि हो । राजतन्त्र र सामन्तको आधार भनेको अन्धविश्वास र अन्धपरम्परा हो । गणतन्त्र विज्ञानबाट आविर्भाव भएको राजनीतिक व्यवस्था हो । कदाचित गणतन्त्रमा यस्तै अन्धविश्वासलाई संरक्षण गरिरहे यस्तो राजनीतिक व्यवस्थाको जरामा समेत हमला हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *