भर्खरै :

सत्तापक्षका सांसद र मन्त्री केन्द्रित बजेट खर्च बाँडफाँट

भक्तपुर, १४ असार । नेपाल प्राध्यापक समाज, केन्द्रीय समितिले प्रकाशित गरेको विभिन्न आलेखहरूको सङ्ग्रह ‘एकेडेमी’ बारे शनिबार कलेज तथा विद्यालयका शिक्षकहरूबीच अध्ययन गोष्ठी गरेको छ ।
नेप्रास बासु कलेज एकाइ समितिको आयोजनामा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय संसद् सदस्य प्रेम सुवालले देशभरिका गाउँपालिका र नगरपालिकाहरूको सदरमुकामलाई सफा–स्वच्छ सहरको रूपमा विकास गरिएको भए खर्बौँ लागतको द्रुतमार्ग र मेलम्ची खानेपानी आवश्यक हुने थिएन भन्नुभयो ।
उहाँले देशको सन्तुलित विकास आवश्यक भएको भन्दै मानव बस्ती वरिपरि कृषि खेती भूमि हुनुपर्ने र यसले बस्ती प्रदूषित हुन रोक्ने विचार राख्नुभयो । सचिव सुवालले भन्नुभयो, ‘‘काठमाडौँ उपत्यकामा दैनिक १२ लाख सवारी साधन गुड्छन् । हजारौँ टिपर सञ्चालित छ । दुर्घटना बढ्दो छ । बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, खासाङखुसुङ, इच्छुमती, नख्खु खोला प्रदूषित छ ।’’
नेमकिपा जोताहा किसानलाई मोहियानी हक दिनुपर्ने सङ्घर्षसँग जोडिएको पार्टी भएको उल्लेख गर्दै उहाँले मछिन्द्रनाथको रथ बनाउन वनबाट काठ ल्याउने ललितपुर र बोङ्गाका ४२ पुतुवार परिवारले पुर्खौँदेखि जोती आएको १४४ रोपनी मछिन्द्रनाथ गुठीको जग्गाको मोहियानी हक नपाएको स्पष्ट पार्नुभयो ।
सचिव सुवालले तराईका कमैया र हलीलाई पुर्खौँदेखि जोती आएको जग्गामा मोहियानी हक नदिई कमैया र हलिया मुक्ति घोषणा गर्ने र समर्थन गर्ने नेका र एमाले सरकारको नेमकिपाले तत्कालै विरोध गरेको स्मरण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘गुठी जग्गा बेचेर मठाधीशहरू अर्बपति हुने तर पुर्खौँदेखि जोतिआएका किसानले मोहियानी हक नपाउने कसरी न्यायोचित हुन्छ ? गुठी जग्गाअन्तर्गतका सम्पदा संरक्षण र संस्कृति संरक्षणको आम्दानी खर्चसमेतको जिम्मेवारी तत् तत् गाउँपालिका र नगरपालिकालाई दिनुपर्ने नेमकिपाको मत हो ।’’
सचिव सुवालले गुठी संस्थानको सट्टा वा प्राधिकरण खारेज गरी जनताको प्रतिनिधि संस्था नगरपालिका र गाउँपालिकालाई जिम्मेवारी दिइए सम्पदा संरक्षण र संस्कृति सञ्चालनको काम जनताको सहभागितामा पारदर्शीढङ्गले हुने भन्दै गुठी विधेयक जस्ताको तस्तै पारित गर्ने पक्षमा नेमकिपा नभएको धारणा राख्नुभयो ।
ओली–दाहाल सरकारको आगामी आव २०७६÷७७ को विनियोजन विधेयक अर्थात् खर्चको बाँडफाँट र आर्थिक विधेयक अर्थात् राजस्व र ऋणसमेतको आम्दानी प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत हुँदा नेमकिपाले विपक्षमा मत दिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘बजेटमा खर्चको बाँडफाँट सत्तापक्षका मन्त्री र सांसदहरूकेन्द्रित गरी गरियो भने आम्दानीमा प्रगतिशील करको व्यवस्था छैन । राष्ट्र ऋण १९५ अर्ब र बाह्य ऋण १२ खर्ब उठाउने प्रस्तावले नेपाललाई ऋणको पासोमा पार्ने छ ।’’
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना–परिघटनाको गम्भीर विश्लेषण गरी समाजको आँखा खोल्न शिक्षकहरू क्रियाशील हुनुपर्ने धारणा राख्नुभयो । उहाँले छलफल तथा अन्तरक्रिया बुद्धि विलासको निम्ति होइन भन्दै समाजको रूपान्तरणको निम्ति काम गर्नु नै बौद्धिक जगतको मुख्य ध्येय हुनुपर्ने उल्लेख गर्नुभयो ।
नेप्रास, बासु कलेज एकाइका अध्यक्ष अम्बिका न्याइच्याईको सभापतित्वमा भएको कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, वागीश्वरी कलेजका सुन्दर राजचल, भक्तपुर क्याम्पसका हरिसुन्दर सुवाल, बासुका शिक्षकहरू रविलाल प्रधान, रामकुमार निरौला, प्रेमकुमार मगर, पूर्णभक्त दुवाल, नारायणप्रसाद ह्योंमिखा, सुनिता घटुवा, सुशीला दुवाल, विष्णुप्रसाद दुमरू, सूर्यलक्ष्मी श्रेष्ठ, कल्पना सुजखू, यमुना कासुलालगायतले विभिन्न नेप्रासको एकेडेमीमा प्रकाशित विभिन्न आलेखबारे आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा नेप्रास, बासुका सचिव सविन ख्याजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *