भर्खरै :

विश्वकप एशिया फाइनलका लागि खेलाडी छनोट

काठमाडौँ, १५ असार (रासस) :  सिङ्गापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एशिया फाइनलका लागि आज १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै १४ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको खेलाडीको सूचीमा कप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, अविनाश बोहरा, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी छन् ।
त्यसैगरी वैकल्पिकतर्फ कुशल भुर्तेल, सुशन भारी, आरिफ शेख र जीतेन्द्र मुखिया छन् । आगामी सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको उक्त फाइनल आगामी साउन ६ देखि १२ गतेसम्म सिङ्गापुरमा हुँदैछ ।
एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत गरी पाँच राष्ट्र सहभागी छन् । जसमा विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । ग्लोबल छनोट आगामी अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई)मा हुँदैछ ।
यस्तै विश्वकप छनोटको तयारीको लागि नेपाली टोली यही असार २४ गते मलेसिया प्रस्थान गर्नेछ । त्यहाँ नेपालले असार २८ र २९ गते मलेसियाविरुद्व दुईवटा टी –ट्वान्टी सिरिज खेल्नेछ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *