‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
गौरव प्रधान
विश्वमा समाजवाद र साम्राज्यवादी शक्तिबीच तीव्र मतभेद, मुठभेद र द्वन्द्व चर्किरहेको बेला कोरियाली मजदुर पार्टीका महासचिव एवं नेता किम जङ्ग इलले समाजवादको लक्ष्य पूरा गर्न क्रान्ति तथा निर्माणको जुछे चरित्र र राष्ट्रिय चरित्र जोगाइराख्नेबारे एक लेख लेखेका थिए । उक्त लेखलाई नेपाल कोरिया मैत्री सङ्घ काठमाडौँले फेब्रुअरी १६, १९९८ मा पुस्तिकाको रूपमा प्रकाशित ग¥यो । स्वाधीनता र विकासको पथलाई अघि बढाउन कार्यरत कुनै पनि कम्युनिस्ट या वामपन्थी पक्षका सरकार प्रमुख र दलको लागि यो लेख अझै समय सान्दर्भिक देखिन्छ । साम्राज्यवादी र प्रतिक्रिया शक्तिहरूविरुद्ध लड्न क्रान्तिकारी भावना या क्रान्तिकारी सङ्घर्षको आवश्यकता हुन्छ ।
हरेक मुलुक या राष्ट्रहरू समान र स्वाधीन हुन्छन्, हुनुपर्छ । देश ठूलो र सानो तथा बलियो र निर्बलियो हुनु अर्को पक्ष हो । देश सानो या ठूलो, निर्बलियो या बलियो भए पनि ती देशहरू स्वाधीन हुन्छन्, सार्वभौम हुन्छन् । कुनै देशले गरेको प्रगति हेर्न नचाहने, प्रगति गर्यो भनेर बाधक बन्ने या अवरोध खडा गर्ने देश कहिल्यै सच्चा मित्र देश बन्दैन । हामीले आफ्नो देशका जनतालाई देशभक्त बनाउनुपर्छ, हामी राष्ट्रिय चरित्र निर्माणको तयारीमा जुट्नुपर्छ । कुनै दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कार्यकर्ता, कर्मचारी तथा सर्वसाधारण जनतालाई देशभक्त बनाउन सकेनौँ, राष्ट्रिय चरित्रको निर्माण गर्न सकेनौँ भने देश जोगाउन मुश्किल हुन्छ । निर्वाचित राष्ट्रपतिलाई छोडेर स्वघोषित राष्ट्रपतिलाई मान्यता दिन, त्यस राष्ट्रपतिको समर्थन गर्न र गराउन उल्काउने राष्ट्र प्रमुखहरू भएको यो संसारमा जनतालाई सङ्गठित र सचेत गर्न नसके नेपाल पनि कसैले कुनै देशमा गाभ्ने षड्यन्त्र गर्दैन भनेर कसरी विश्वास गर्ने ? देशमा योग्यताअनुसार काम र कामअनुसार ज्यालाको बन्दोबस्त गर्नुपर्छ । त्यो बन्दोबस्त गर्न आफ्नै देशमा काम मामको व्यवस्था गर्नुपर्छ । झारपात सफा गर्न या रोजगारी दिन प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको जरुरत पर्दैन ।
अरु राष्ट्रहरूमाथि लुट मच्चाउनु र प्रभुत्व जमाउनु साम्राज्यवादी देशहरूको काम हो । पुँजीवादमा समानता हुँदैन, पुँजीवादी सरकारले देशको विकास फुके पनि शोषणरहित समाज स्थापनाको परिकल्पना गरे पनि देश विकासमा ध्यान दिंदैन, भ्रष्टाचार अन्त्य गर्नेतर्फ ध्यान जाँदैन । सम्मानित नेता किम इल सङ महान विचारक, सिद्धान्तनिष्ठ, देशभक्त र देश र जनताप्रति समर्पित हुनुहुन्थ्यो । किम इल सङ, किम जङ इलले जति योगदान गरे सबै देश र जनताको निम्ति गरे । उनीहरुले साम्राज्यवादी देशबाट हुने कुनै पनि र आक्रमणको प्रत्याक्रमण गर्नसक्ने पूर्वाधार तयार गरे । प्रजग कोरियाले आणविक परीक्षण गर्नुको कारण कुनै देशमा आक्रमण गर्न होइन बरु आक्रमणको प्रत्याक्रमण गर्न हो । प्रजग कोरियाले आणविक परीक्षण ग¥यो भनेरै साम्राज्यवादी अमेरिका तथा अन्य पिछलग्गू देशहरूको निम्ति डाहा भयो । यही डाहाकै कारण प्रजग कोरियामा अमेरिकाले नाकाबन्दी ग¥यो, नाकाबन्दीलाई निरन्तरता दियो । आफूले भएभरको आणविक शक्ति भण्डारण गर्ने तर अरु मुलुकले गर्न नपाउने के यो पक्षपात होइन ?
साम्राज्यवादी देशहरूको हैकम र बोलवाला अहिले पनि अन्त्य भएको छैन । साम्राज्यवादी अमेरिकी शासकको ध्यान कम्युनिस्ट, वामपन्थी, प्रगतिशील विचारका राष्ट्रप्रमुखहरूविरुद्ध देखिएको छ । समाजवादी आन्दोलन, समाजवादी विचार र समाजवादी पक्षधरहरूको प्रगति रोक्न, ती देशहरूबीच भाँजो हाल्न नै अमेरिकी शासक क्रियाशील छन्, अनेकौँ षड्यन्त्र बुन्दै छन् । कोरियाली कम्युनिस्ट पार्टी र सरकारले सेना, कार्यकर्ता र कर्मचारीलाई मात्र साम्राज्यवादविरोधी भावना जग्गाएर, देशभक्त बनाएर, देशको सुरक्षाको निम्ति लड्ने वातावरण तयार गरेर पुग्दैन । अमेरिकी साम्राज्यवादी देश संसारकै निम्ति आतङ्कको देश, आतङ्क मच्चाउने देश भएको हुँदा संसारकै जनतालाई साम्राज्यवादविरोधी बनाउनुपर्छ । अतः समाजवादी व्यवस्थाको भावनाबाट जागरुक बनाइनुपर्छ । नेपालको सरकार कम्युनिस्ट पार्टीको सरकार हो भने सरकारले पनि जनतालाई साम्राज्यवाद विरोधी भावनाबाट सुसूचित पार्नुपर्छ । नेकपाको सरकारले त्यस्तो काम गरिरहेको छैन, कम्युनिस्टको सिद्धान्त, विचार, आचरणअनुकूल गतिविधि गरिरहेको छैन । तर, ऊ जहिल्यै सरकारको नेतृत्व कम्युनिस्ट पार्टीले गरिरहेको शान फुक्छ ।
सत्तारुढ दलका प्रत्येक नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कार्यकर्ताहरु इमानदार बन्नुपर्छ, चरित्रवान हुनुपर्छ, अन्याय, अत्याचार, भ्रष्टाचार र कमिसनको विरोधमा जागरुक हुनुपर्छ । हर पल हर समय विकासमा केन्द्रित हुनुपर्छ । नेता, मन्त्री र सांसदले विकासको ध्वाङ् फुकेर पदको दुरूपयोग गरी अकुत सम्पति कमाउने होइन । जनतामा विकास ल्याएको भनेर त्यही विकासमा कमिसन खाने सांसदहरूलाई जनताले राम्ररी चिन्नुपर्छ ।
विचारमा खिया लागेपछि जतिसुकै ठूलो र बलियो दल या सरकार भने पनि देश र जनताको हित हुने छैन । सिद्धान्त र विचार छोडेपछि देश विदेशमा दर्शनको कुरा छाँटेरै के गर्ने ? प्रत्येक कम्युनिस्ट पार्टीले समाजवादी आन्दोलनको निम्ति वातावरण तयार गर्नुपर्छ । जनताको सेवामा जुट्नुपर्छ । मुलुकै छैन भने दुईतिहाइको शक्तिको पाखुरा देखाएर के गर्ने ? एकपछि अर्को भूमि अतिक्रमित भइरहेको छ, नेपाली भूमि साँगुरो हुँदै छ भने कम्युनिस्ट सरकारको शासन भनेर के गर्ने ? स्वाधीन र सार्वभौम मुलुक, मुलुकका राष्ट्र प्रमुखहरू विदेशी शक्ति राष्ट्रहरूको इसारामा चल्दैन, चल्नु हुँदैन । बाहिरी शक्ति राष्ट्रहरूको दबाबमा परे, झुके देशले उन्नति गर्नसक्दैन । देश आत्मनिर्भर र स्वाधीन बन्दैन । सरकारको नेतृत्व गर्ने दल साँच्चै कम्युनिस्ट हो भने कम्युनिस्ट सिद्धान्त र विचारअुनसार चल्नुपर्छ, सोहीअनुसार राजनीति गर्नुपर्छ । साम्राज्यवादी देश इतिहासको फोहरको डङ्गुर हो । फोहोरको डङ्गूर हटाउन धाक धक्कु देखाउने साम्राज्यवादीहरूविरुद्ध साहसका साथ उभिनुपर्छ, आवाज बुलन्द गर्नुपर्छ ।
Leave a Reply