भर्खरै :

भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण

भक्तपुर, १९ असार । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिले नगरस्तरीय किसान भेला गरी २०२६ असार १९ को ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलन दिवस बिहीबार मनायो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले दशकाँैदेखि नेमकिपाका अग्रजहरूले भ्रष्टाचारविरोधी आन्दोलन अगाडि बढाएको उल्लेख गर्दै जनताले खाइनखाई दुःख गरी बचत गरिराखेको बचत कोष हिनामिना गरेका भ्रष्टाचारीलाई असार १९ गते जनताले कारबाही गरेको दिनको स्मरण गर्नुभयो ।
“किसान आन्दोलन एक वर्गसङ्घर्ष हो । वर्गसङ्घर्ष समय परिस्थितिसँगै फरक–फरक हुन्छ । नेकपा सरकार हरेक क्षेत्रमा भ्रष्टाचारमा डुब्दै छ । निर्वाचनताका करोडौँ पैसा खर्च गरेर निर्वाचित सांसद र मन्त्रीहरूले पदको दुरुपयोग गर्दै अकुत सम्पति कमाएका छन्” उहाँले भन्नुभयो ।
सरकारले वाइडबडी, ३३ किलो सुनकाण्डका अपराधीहरूलाई कारबाही गर्न नसकेको उल्लेख गर्दै उहाँले सरकार, ठेकेदार, तस्कर, जग्गा दलाल, कमिसनतन्त्रको घेरामा छ भन्नुभयो । सङ्घीय संरचनाअनुसार नेपाल प्रहरी सशस्त्र प्रहरीलाई पनि प्रदेश प्रदेशमा पठाइरहेको चर्चा गर्दै उहाँले प्रदेशका मुख्य मन्त्रीहरू प्रदेश प्रहरीलाई व्यवस्था गर्न आनाकानी गर्दै छन् भन्नुभयो ।
सांसद सुवालले सरकारका मन्त्रीदेखि सभासद्सम्म निर्वाचनमा खर्च गरेका करोडाँै रकम असुलउपर गर्न प्रदेश बजेटको विभाजनमा आफू आफू कलह गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो पुँजीवादी राज्य व्यवस्थामा भ्रष्टाचार छायाँसरि भइरहेछ ।”
नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष एवम् भक्तपुर जिल्ला अध्यक्ष गोविन्द दुवालले भ्रष्टाचारीविरोधी आन्दोलन आज पनि उत्तिकै सान्दर्भिक भएको भन्दै देशमा दुईतिहाइ मत प्राप्त सरकार सामन्तवादका पुच्छरहरू मठ मठाधीशहरूको पक्षमा रहेको बताउनुभयो । “यो सरकार नेकपाको भने पनि सामन्तवादको दलाल हो । सरकारले भ्रष्ट मठाधीशहरूको अगाडि केही गर्नसकेन । यो सरकारले जनतालाई झुक्याउने काम गरेको छ,” उहाँले भन्नुभयो । “यो जनताको सरकार होइन, यसले वास्तविक मोही किसानहरूको हित गर्दैन । आफ्नो अधिकार प्राप्त गर्न सङ्घर्षबाहेक अर्काे उपाय छैन,” उहाँले भन्नुभयो ।
कार्यक्रम आयोजक समितिका अध्यक्ष गंगाराम ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा, भक्तपुर नगर समितिका प्रतिनिधि उपेन्द्र सुवाल, नेक्राकिसङ्घका पूर्णगोपाल राजचलले पनि ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा आ–आफ्नो विचार राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *