भर्खरै :

त्रिविभित्र विकृतिको यो डङ्गुर कसरी ?

देशकै सबभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयमा सुषुप्त अवस्थामा रहेका विकृति एकपछि अर्को प्रकाशमा आइरहेका छन् । स्वर्ण पदक जित्न अङ्क थपेको घटनादेखि स्वर्ण पदक पाउने विद्यार्थीको अङ्क घटाइएको समाचार बाहिरिएका छन् । यसले त्रिविको मात्र विश्वसनीयता घटाएको छैन, त्रिविबाट उत्तीर्ण विद्यार्थी, प्राध्यापकको योग्यतामा समेत प्रश्न उठाएको छ । त्रिविमा यसप्रकारको विकृति एकै दिन वा वर्षले जम्मा गरेको होइन । लामो समयदेखि त्रिविभित्र मौलाइरहेको विकृतिको केही अंशमात्र यतिबेला बाहिरिएको हो ।
देशका सबभन्दा बढी विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने र देशकै अब्बल बौद्धिक व्यक्तित्वले अध्यापन गर्ने विश्वविद्यालयभित्रको यो लज्जाजनक अवस्थाले धेरै मानिसलाई नराम्ररी पोलेको हुनुपर्छ । विशेषतः आफूलाई त्रिविको उत्पादन र त्रिविमा पढाउने भनी गौरवपूर्ण परिचय दिन रुचाउनेलाई पछिल्ला समाचार शृङ्खला पीडाको विषय बनेको हुनुपर्छ । त्रिविको विकास र प्रगतिका लागि जीवनका निकै अमूल्य वर्ष समर्पण गरेका प्राध्यापक र अध्येताको निम्ति त ती समाचार कष्टकर भएको हुनुपर्छ ।
वर्षौं वर्षदेखि थिग्रिएको यो समस्याको दोष कसलाई दिने ? किन प्राज्ञिक उन्नयनको यस्तो पवित्र मन्दिरमा यस्ता घिनलाग्दा काम भइरहेका छन् ? त्रिविको आगोबाट चुल्हो बाल्ने पदाधिकारी र कर्मचारीले के यस्तो कृत्य गर्दा हात कामेन होला ? घूसबापत प्राप्त पैसा कोठाको दराजभित्र राखेर सुत्दा के राति निद्रा परेको होला ?
राजनीतिको मुहान फोहोर भएपछि नदीका छेउछाउमा यस्ता फोहोर थिग्रिनु कुनै आश्चर्यको विषय होइन । राजनीति नै भ्रष्ट बनेपछि राज्यका अन्य निकाय एकपछि अर्को भ्रष्ट प्रमाणित हुनु स्वाभाविक हो । त्रिवि यस्तै फोहोर राजनीतिको स्थापनाकालदेखि नै शिकार बनेको छ । राजनीतिक संस्कारको कमीले त्रिविको शैक्षिक र प्राज्ञिक उन्नयनमा सत्ता राजनीतिको फोहोर मिसाउने गल्ती आजसम्मका शासक दलले छोडेनन् । विश्वविद्यालयलाई प्राज्ञिक थलो कम, भर्तीकेन्द्र बढी बनाउँदा आउने स्वाभाविक परिणाममात्र आज हामी देखिरहेका छौँ । खोजी पस्दा यस्ता धेरै थरी फोहोर त्रिविमा देखापर्ने छन् ।
त्रिविको शैक्षिण गुणस्तरको कुरा गर्दा पदाधिकारीहरू प्रायशः तथ्य–तथ्याङ्क देखाएर प्रगतिको दाबी गर्नुहुन्छ । हालै त्रिवि पनि विश्वकै सूचिकृत विश्वविद्यालयमा परेको समाचारले पदाधिकारीलाई कम्तीमा आधा दसक चर्चा गर्ने मसला प्राप्त भएको छ । तर, आफू पदमा रहुञ्जेल पदाधिकारीले आफ्नो प्रतिरक्षा गर्न यस्ता तर्क पेश गरे तापनि खासमा त्रिविभित्रको भयावह अवस्था उनीहरू स्वयम्ले स्वीकार्ने विषय हो । पदमा रहुञ्जेल उनीहरूसँग निरीहता प्रदर्शन गर्नुको अर्को विकल्प छैन । ‘हामीले यति भए पनि ग¥यौँ’, ‘यति नगर्दा अवस्था अझै बिग्रिने थियो’ भनी आफ्नो प्रतिरक्षा गर्नुबाहेक पदाधिकारीले गर्नसक्ने पनि केही होइन ।
त्रिविको अवस्था तत्कालै एकाध वर्षमै ठूलो परिवर्तन गर्ने कसैले कुरा गर्छ भने त्यो झूटमात्र हो । त्रिवि अहिले ‘अजियसको तबेला’ (ग्रीथ मिथक) बनिसकेको छ र कोही पनि हर्कुलसले केही वर्षमा यो तबेला सफा गर्नसक्दैन । आगामी वर्षहरूमा बिहारका विश्वविद्यालयबाट सुनिने जस्ता समाचार त्रिविको नाम जोडेर सुनिनेछन् ।
त्रिविभित्रका सबै फोहोर सफा गर्नसक्ने हर्कुलस भनेको फेरि पनि राजनीति नै हो । राजनीतिक नेतृत्वले आफ्नो दलको सङ्कीर्णभन्दा माथि उठेर एउटा अब्बल विश्वविद्यालय भावी पुस्तालाई उपहारको रूपमा छोड्न चाहने हो भने त्रिविभित्र राजनीतिक हस्तक्षेप र नियुक्ति बन्द गरिनुपर्छ । उपकुलपतिदेखि क्याम्पसको एकजना कार्यालय सहयोगीसमेत पार्टीको सदस्यता परीक्षण गरेरमात्र भर्ती गर्ने विकृति अन्त्य गर्नुपर्छ । शैक्षिक तथा प्राज्ञिक उन्नयनमा पूर्ण स्वायत्तता दिइनुपर्छ । कुनै साधारण निर्णय गर्न पनि नेताको दैलो चहार्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्छ । त्रिवि सेवा आयोगभित्र हुर्किएको विषवृक्ष उखेल्ने हैसियत इमानदार राजनीतिक नेतृत्वसँग मात्र हुनसक्छ ।
पदाधिकारीलाई विश्वविद्यालय अनुदान आयोगअघि झोली फैलाएर माग्नुपर्ने मगन्ते बन्ने अवस्थाको अन्त्य गर्नुपर्छ । त्रिविको माना खाएका कोही पनि प्राध्यापक र शिक्षकलाई अन्यत्र कलेजमा लगानी गर्ने र अध्यापन गर्ने सुविधा दिइनु हुन्न । निजी कलेजमा पढाउने समय विश्वविद्यालयमा अनुसन्धानको लागि लगाउने अवस्था बनाउन जरुरी छ । शासक दलका नेता, मन्त्रीको फोन र तोक आदेशको भरमा भर्ती गरिएका कर्मचारी निकालिनुपर्छ । शैक्षिक र प्राज्ञिक विकासका लागि बाहेक गरिने सबै गतिविधिमा रोक लगाइनुपर्छ । मुख्य कुरा त्रिविलाई सत्तासीनले आफ्नो पेवा ठान्ने गल्ती सच्याउनुपर्छ । त्रिविलाई देशकै सुदूर भविष्य निर्माणको कडीको रूपमा हेर्दामात्र पनि धेरै समस्या समाधान उन्मुख हुनेछ ।
अहिले भने त्रिविको यस्तो दुरवस्था धेरैका लागि चिन्ताको मात्र होइन, पीडाको विषय बन्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *