भर्खरै :

उत्खननको पर्खाइमा फलामखानी

बागलुङ, १९ असार । बडिगाड गाउँपालिका–८ रणसिंहकिटेनीमा रहेका फलामखानी उत्खननको पर्खाइमा छन् । जङ्गलभित्र फलामखानीका सुरुङ र भग्नावशेष भेटिन्छन् । कुनै ताका गाउँलेले रैथाने प्रविधिबाट खानीबाट फलाम निकाल्ने काम गर्थे । स्थानीयवासीका अनुसार सो फलामखानी पाण्डवखानीको रमुवा र तमानखोलाको खुङ्गासम्म फैलिएको छ । “पहिले घरेलु औजार र सीप लगाएर फलाम निकाल्ने गरिन्थ्यो”, हर्कबहादुर विश्वकर्माले भन्नुभयो ।
विशेषगरी विश्वकर्मा समुदायका कालिगढले सामूहिकरुपमा फलाम निकालेर घरेलु औजार र हातहतियार बनाउँथे । बलियो र टिकाउ हुने हुँदा त्यहाँ बनेका सामग्री प्रयोगकर्ताको रोजाइँमा पर्थे । ठूलो फलामखानी भेडिखोरको डहरेमा रहेको उहाँले बताउनुभयो ।
कालो ढुङ्गाजस्तो देखिने कच्चा पदार्थलाई घरेलु प्रविधिबाट खारेर फलाम निकाल्ने गरिन्थ्यो । खार्नुअघि माटोका डरामा राखेर कच्चा पदार्थ गाल्नुपर्ने स्थानीय कालिगड बताउँछन् । १० किलो कच्चा पदार्थबाट दुई किलो फलाम निकाल्ने गरिन्थ्यो । खानीबाट निकालेका फलाम गाल्न र औजार बनाउन धेरै कोइला खर्च हुन्छ । कोइलाका लागि वनमा भरपर्नुपर्छ ।
“आफैँले बनाएका भाँडाकुँडा, औजार, हातहतियारलगायतका सामग्री बेच्न कालिगढ गाउँगाउँ डुल्थे । स्थानीयवासीको आयआर्जन र जीविका खानीबाटै चलेको थियो । तर अहिले न खानी सञ्चालनमा छन्, न गाउँमा उद्यमी छन्”, विश्वकर्माले भन्नुभयो ।
गाउँलेले सरकारी तवरबाटै खानी संरक्षण, उत्खनन र सञ्चालनका लागि पहल हुनुपर्ने माग गरेका छन् । “दुई वर्षअघि फलाम छ कि छैन भनेर परीक्षण गर्न मैले नै फलाम निकालेर औजार बनाए”, विश्वकर्माले भन्नुभयो ।
पछिल्लो पुस्ता पनि फलामखानीप्रति बेखबर छ । खानी सञ्चालनमा ल्याउनसके गाउँमै रोजगारी सिर्जना हुने देखिन्छ । स्थानीयवासीका अनुसार अन्यत्रको जस्तो रणसिंहकिटेनीको फलामलाई धेरै प्रशोधन गर्नुपर्दैन ।
वडाध्यक्ष हेमबहादुर श्रीसले खानी उत्खननका लागि गाउँपालिकाले पहल थाल्नुपर्ने बताउनुभयो । “हाम्रै बाबुबाजेले यहीँको फलामबाट बनेका औजार प्रयोग गर्थे”, उहाँले भन्नुभयो ।
फलामखानीको सम्भाव्यता अध्ययनका लागि तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताउनुभयो । “म स्वयं खानीमा गएर सबै हेरेको, बुझेको छु”, उहाँले भन्नुभयो ।
उहाँले फलामखानी उत्खननका लागि सङ्घीय र प्रदेश सरकारको सहयोग चाहिने उल्लेख गर्नुभयो । बन्द भएका फलामखानी सञ्चालनमा ल्याउन यसअघि प्रयास भए पनि त्यो सार्थक हुन सकेन । खानी तथा भूगर्व विभागले पनि चासो दिएको छैन ।
यस क्षेत्रमा फलामखानी उत्खनन गर्नसके जिल्लालाई मात्र नभएर देशलाई नै फाइदा पुग्ने अध्यक्ष पाइजाको भनाइ छ । बडिगाड गाउँपालिकामा तामा र सिसाखानी पनि रहेको बताइएको छ । गाउँपालिकामा सिसाखानी नाम गरेको सिङ्गै वडा छ । खानीको भौगर्भिक अध्ययन तथा खोज हुन आवश्यक छ । खानीको विषय सङ्घीय सरकारसँग जोडिएका कारण माथिल्लो तहबाटै पहल र चासो लिनुपर्ने देखिन्छ । भौगोलिक हिसाबले दुर्गम मानिने रणसिंहकिटेनीवासीका लागि सडकलगायत विकासका पूर्वाधारमा समेत सहज पहुँच छैन ।
जिल्लाको गलकोट नगरपालिका, तमानखोला गाउँपालिकालगायतका क्षेत्रमा तामा र फलामखानी छन् । कतिपय ठाउँमा उत्खननका लागि भौगर्भिक अध्ययनको कामसमेत अघि बढाइएको छ । संरक्षण र उत्खनन हुन नसक्दा खानीको अस्तित्व मेटिने खतरा बढेको छ । खानीको उत्खनन र उत्पादनको बजारीकरण गर्नसके नेपाली अर्थतन्त्रमा यसले ठूलो टेवा पुग्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *