काठमाडौँ, २० असार । नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति काठमाडौँको आयोजनामा काठमाडौँमा भ्रष्टाचारविरोधी दिवस (असोज १९) को अवसरमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले २०२६ असार १९ गतेको भ्रष्टाचारीविरोधी स्मरण गराउनुको अर्थ भ्रष्टाचारीलाई खबरदारी गर्नु हो भन्नुभयो । अहिले हिजोभन्दा आज भ्रष्टाचार मौलाएको भन्दै बालुवाटार र सिंहदरबार भ्रष्ट ठगहरूको घेरामा रहेको उहाँले बताउनुभयो ।
उहाँले पँुजीवादमा भ्रष्टाचार छायाँसरि आउने भएकोले पँुजीवादको विकल्प समाजवादको उदय भएको बताउनुभयो ।
नेमकिपा केन्द्रीय सदस्य राजवीर डंगोलले भ्रष्टाचारविरुद्धको सङ्घर्ष पार्टी स्थापनाको एक आधार भएको चर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले २०२६ असार १९ र २०२५ साल साउन २ गते सहकारीको नाममा भ्रष्टाचार गर्नेहरूलाई कारबाही गरिएको इतिहासको स्मरण गर्नुभयो ।
उहाँले कार्यकर्ताहरूमा अन्याय अत्याचारविरुद्ध लड्ने राजनैतिक चेतना र वर्गसङ्घर्षको भावना जगाउनुपर्दछ भन्नुभयो । उहाँले सिद्धान्तबाट च्यूत भएपछि जतिसुकै क्रान्तिकारी भने पनि दुर्घटना हुने सम्भावना हुन्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका उपाध्यक्ष उपेन्द्र सुवाल, मदन श्रेष्ठ, कुलनारायण डंगोललगायतले बोल्नुभएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष गुणदास महर्जनको सभापतित्वमा भएको थियो ।