सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
गोपाल नगरकोटी
संसारमा शक्तिको होडबाजी भइरहेसम्म र शक्तिको आधारमा अरू स्वाधीन देशमा हैकम जमाउने या कठपुतली बनाउने खेल भइरहेसम्म तनाव अन्त्य हुने छैन । कुनै देशबाट आक्रमण हुने तनाव रहेसम्म शान्ति स्थापना हुने छैन । एउटा देशले अर्काे देशमाथि आक्रमण हुने चिन्ता या डर भएसम्म शान्ति छाउने छैन । आणविक हतियारको होडबाजी अन्त्य गर्न, आणविक अस्त्रशस्त्र उन्मूलन गर्न संसारमा विश्व शान्ति सम्मेलनको आवश्यकता छ । विश्वमा आणविक युद्ध रोक्न या विश्वमा शान्ति कायम गर्न र सुरक्षाको अनुभूति दिन संयुक्त राज्य अमेरिकाले नै सबभन्दा पहिले शक्तिको होडबाजी रोक्नुपर्छ । किनभने अरु देशमा सबभन्दा बढी आक्रमण गर्ने, नाकाबन्दी गर्ने, कठपुतली सरकार बनाउने, हैकम जमाउने देश संयुक्त राज्य अमेरिका नै हो । आतङ्क मच्चाउने देश अमेरिका हो । संसारका कुनै पनि स्वाधीन देश अरु देशबाट होइन अमेरिकाबाट नै आतङ्कित र आक्रान्त छन् ।
आफ्नो हतियारसहितका सेना संसारका दर्जनाँै मुलुकमा तैनाथ गर्ने देश अमेरिका नै हो । दक्षिण कोरियामा आणविक हातहतियार थुपार्ने देश के संयुक्त राज्य अमेरिका होइन ? दक्षिण कोरियामा अमेरिकाले आणविक अस्त्रशस्त्र र हजारौँ सेना तैनाथ किन गर्नुप¥यो ? के यो प्रजग कोरियालाई आतङ्कित पार्न तैनाथ गरिएको होइन ? अमेरिकाको यस्तै दादागिरीको कारण बाध्य भएर या आफ्नो देशको सुरक्षा या आत्मरक्षा गर्न अरू देशले पनि आणविक परीक्षण गर्न थालेको हो । दुई दशकअघि नै अमेरिकाले दक्षिण कोरियामा एक हजारभन्दा बढी आणविक हातहतियारहरू राखेको थियो । अमेरिकाको उठबसमा चलेको दक्षिण कोरिया सुदूर पूर्वमा विशाल आणविक भण्डार एवम् सबभन्दा ठूलो आणविक चौकी बनेको छ । यसरी दक्षिण कोरियालाई आणविक चौकी बनाइराखेपछि प्रजग कोरियालाई आफ्नो सुरक्षाको निम्ति या प्रत्याक्रमणको निम्ति आणविक परीक्षण गर्न बाध्य भयो ।
वास्तवमा अमेरिका संसारकै सबभन्दा ठूलो खतराको देश हो, आतङ्कारी देश हो । संयुक्त राष्ट्र सङ्घ विश्वमा शान्ति कायम गर्न चाहन्छ भने अमेरिकालाई खतराको सूचीमा राख्नुपर्छ । उसले जुनजुन देशमा सैनिक अखडा खडा गरेर आतङ्कित बनाइरहेको छ तत्तत् स्थानका सेना विनासर्त फर्काउन संयुक्त राष्ट्र सङ्घले दबाब दिनुपर्छ । आफ्नो देश सुरक्षाको निम्ति बनाइएको आणविक अस्त्रशस्त्र अन्त्य गर्न दबाब दिने अमेरिकाले आफ्नो देशको आणविक हातहतियार नियन्त्रण गर्नुपर्दैन ? आफ्नो देशमा आणविक अस्त्रशस्त्र बढाउने, अरू देशमा बेच्ने अनि अरु देशमा बनाइएको आणविक अस्त्रशस्त्र ध्वस्त गर्नुपर्ने अमेरिकाको कस्तो कुचाल ! संसारका मुलुकमा आणविक अस्त्र बेचबिखन गर्ने, आफ्नो देशमा धमाधम उत्पादन गर्ने अनि अरु साना देशले आणविक परीक्षण ग¥यो भनेर खतराको सूची राख्ने, आतङ्कको देश भन्ने ! अरु देशमा आक्रमण गर्ने र आर्थिक नाकाबन्दी लगाउने, अधिकार के अमेरिकासँग मात्र हो ?
आणविक हातहतियारहरू उन्मूलन गर्न, आणविक युद्ध रोक्न अमेरिकी भूभागदेखि नै आणविक मुक्त शान्ति क्षेत्रहरू स्थापना गर्नुपर्छ । विश्वका राष्ट्र प्रमुखहरू भेला भएर अन्तर्राष्ट्रिय शान्ति अभियान सञ्चालन गर्नुपर्छ । संसारमा आणविक युद्धको खतरा हुनु या अन्तर्राष्ट्रिय तनाव बढ्नुको कारण हातहतियारको होडबाजी हो र विश्वका विभिन्न मुलुकमा अमेरिकी सेना र आणविक हातहतियार राख्नु हो । आणविक युद्ध निम्त्याइरहेको अमेरिकाले पछिल्लो पटक व्यापार युद्ध छेड्यो । अमेरिकालाई संयुक्त राष्ट्र सङ्घले कुनै पनि देशमा आक्रमण गर्ने, नाकाबन्दी गर्ने र कठपुतली सरकार बनाइरहने, अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने या उचालेर द्वन्द्व चर्काउने काम रोक्न लगाउनुपर्छ । संयुक्त राष्ट्र सङ्घले यस्तो काम गरिरहेको देखिँदैन या संयुक्त राष्ट्र सङ्घले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छैन । संयुक्त राष्ट्र सङ्घ अमेरिकाको कठपुतली सङ्घजस्तै बनिरहेको छ ।
प्रजग कोरियाको सरकार र कोरियाली जनताले लामो समयदेखि अमेरिकी साम्राज्यवादी नीतिको विरोध गरे, गरिरहेका छन् । विश्व युद्धको खतराबाट छुटकारा पाउन या विश्वमा शान्ति छाउन र सुरक्षाको अनुभूति दिन आणविक हातहतियारहरू उन्मूलन गर्नुपर्छ, रासायनिक हातहतियारको विकास, उत्पादन, सञ्चय र प्रयोगमाथि रोक लगाउनुपर्छ । सैनिक गुट एवम् सैनिक अड्डा बढाउने साम्राज्यवादी नीति रोक्नुपर्छ । सैनिक गुट र युद्धका साधनहरू अन्त्य नभएसम्म विश्वमा कहिल्यै शान्ति छाउने छैन । अतः संयुक्त राष्ट्र सङ्घले सैनिक अड्डा र विदेशी सेनाको उपस्थितिको विरोध गर्नुपर्छ र फिर्ता लान दबाब दिनुपर्छ । आग्रह गर्दा गर्दै अत्तेर गर्छ भने त्यस्तो देशलाई संयुक्त राष्ट्र सङ्घले कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ । साम्राज्यवादी मुलुकले सेना तैनाथ गर्ने काम छोडेको छैन । अमेरिकाले दक्षिण कोरियामा बरोबर युद्धाभ्यास गरिरहेको छ । साम्राज्यवादी मुलुकले युद्ध अभ्यास गरे पनि संयुक्त राष्ट्र सङ्घ मौन छ । प्रजग कोरियाका नेता किम इल सङले उहिल्यै युद्ध अभ्यास रोक्न तैनाथ फौज फर्काउन आग्रह गरेका थिए । नेता सङले युद्धविरोधी, आणविक हातहतियारविरोधी एउटा शक्तिशाली शान्ति आन्दोलन अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । उनले यस काममा असंलग्न मुलुकले युद्धविरोधी, आणविक हतियारविरोधी शान्ति आन्दोलनमा साथ दिनुपर्छ भनेका थिए । हो, युद्धविरोधी शान्तिका शक्तिहरूसित मिलेर अघि बढ्नुपर्छ । अनिमात्रै आणविक युद्धको खटराबाट मुक्त हुन सजिलो हुन्छ ।
संसारका साना ठूला सबै देश स्वाधीन र सार्वभौम हुन्छ, हुनुपर्छ । संसारमा कुनै पनि देशको नायक छैन । कुनै नायकको उठबसमा बस्नुपर्ने बाध्यता बनाइनु हुँदैन । चीन शक्तिशाली देश बनेको छ । तर, चीनमा शक्तिको उन्माद छैन, शक्तिको निहुँ खोजेर कुनै देशमा आक्रमण गर्ने, नाकाबन्दी गर्ने र अरु देशमा सेना तैनाथ गरेको छैन । बरु चीनले आफ्नो देशमात्र होइन अरु देशको पनि विकास गर्ने बाटो कोरेर विश्व मैत्री कायम गर्ने बाटो रोजेको छ । कुनै देशको विकास गर्न आर्थिक तथा स्रोत साधनको सहयोग गर्दा कुनै सर्त राखेको छैन । तर, भारत नेपाललाई आर्थिक सहयोग गरेर आफ्नो हितमा अनेक सन्धि सम्झौता गर्न अघि स¥यो । अमेरिकाले हालैमात्र भेनेजुयलाका निर्वाचित राष्ट्रपतिलाई समर्थन गर्नुको सट्टा स्वघोषित राष्ट्रपतिको समर्थन गराउने सर्तमा नेपाललाई आर्थिक सहयोग गर्ने लोभ देखायो । के यो अमेरिकी दबाब होइन ? सार्वभौम देश नेपाल कहिलेसम्म अमेरिका र भारतको उठबसमा चलिरहने हो ? यसरी अरू देशको उठबसमा चलेर देश कहिल्यै आत्मनिर्भर बन्छ ? समृद्ध बन्छ ?
Leave a Reply