‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
–दीनबन्धु केसी
ठूलो र शक्तिशाली भनिएको नेकपाको नेतृत्वमा बनेको ओलीको सरकार एकपछि अर्को बदनाम हुँदै गएको छ । धाक धम्की, लोभलालच र पैसाको खोलो बगाएर बहुमत प्राप्त गरेको सरकारको बदनाम भए पनि लाज नमान्नु अस्वाभाविक होइन । नेपाल–भारत सीमा नाकामा विनापूर्वाधार तथा आधुनिक मेसिनविना भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण गर्ने सरकारी निर्णय के कच्चा बुद्धि भएन र ? विषादी परीक्षण गर्न आवश्यक सामग्री र विज्ञ कर्मचारीको व्यवस्था गर्नुपर्दैन ? विनातयारी विषादी परीक्षण निर्णय गर्नु कम्युनिस्ट भनिने शक्तिशाली सरकारीलाई सुहाउँछ ? एउटै पार्टीमा दुई–दुई अध्यक्ष रहनुको के अर्थ रह्यो ? के शीर्ष नेताहरूको काम मुख्य–मुख्य पद ओगट्ने र सेवा सुविधामात्र लिने हो ?
विडम्बना ! विषादी परीक्षण गर्ने विज्ञहरूको व्यवस्था गर्न सकिएन । विषादी परीक्षण गर्ने आधुनिक सामान पनि छैन । विषादी परीक्षण गर्ने निर्णय गरेपछि त्यसको लागि के–के पूर्वाधार तयार गर्नुपर्छ भन्ने कुरा सरकारको नेतृत्व गर्ने नेकपाका नेताहरूलाई कसरी थाहा भएन ? समृद्ध नेपाल बनाउने ध्येय लिएको सरकारसँग विषादी परीक्षण गर्ने आधुनिक मेसिन पनि छैन या भए पनि पर्याप्त भएन । कहीँ विज्ञ कर्मचारीको अभाव ! कहीँ आधुनिक मेसिन छैन त कहीँ प्रयोगशाला छ तर कर्मचारी छैन । यहीँ हो समृद्ध नेपाल बनाउने सरकारको ताल ! क्वारेन्टाइन सुदृढ गरेरमात्र विषादी परीक्षण गर्ने निर्णय गरेको बेला सम्बन्धित मन्त्रालय कहाँ सुतेर बस्यो ? मेसिन नै नभइकन विषादी परीक्षण गर्ने निर्णय किन गर्न पुग्यो ? गोलीविनाको बन्दुक बोकेर पनि कहिले पन्छीको शिकार गर्न सकिन्छ ? के सरकार आलुबारीको ख्याक हो ? जाँच्ने मेसिन भर्खर जडान गर्दै छौँ भनेर प्रम ओलीले केटाकेटीको राजनीति गर्ने ?
मेसिन नहुँदा जाँचमा समय लागेर तरकारी र फलफूल कुहिने कुरा निर्णय गरेर परीक्षण गर्न नसकेपछि मात्र चाल पाउने ? नेता, मन्त्री, सांसद, कार्यकर्ता र जनताबीच हँस्सीमजाक गरेर मख्ख पार्दैमा बुद्धि र विवेक भएको मानिंदैन । विषादी परीक्षण गर्ने निर्णय गरेर विषादी परीक्षण नगरी फलफूल र तरकारी कुहाएपछि फलफूल र तरकारी व्यापारीहरूको विरोध हुँदैन ? भारत सरकारको दबाब आउँदैन ? दबाब दिन सरकारलाई पत्र नै पठाउनुपर्छ ? अनि लोकपत्यारका लागि प्रम ओलीले नेता र सांसदलाई पत्र पठाएको खोइ थाहा छैन भनी जवाफ दिने ?
भारतले बेलाबखत विषादी तरकारी र फलफूल नेपाल ल्याइरहेकै हो । तर, सरकार गम्भीर र संवेदनशील भएन यसले विषादी तरकारी र फलफूल खाएर उपभोक्ताको स्वास्थ्यमा असर परे पनि बेवास्ता भएबाट थाहा हुन्छ । भारतीय फलफूल र तरकारीमा अत्यधिक विषादी पाएको भन्दै युरोपियन युनियन (ईयू) ले सन् २०१४ देखि नै प्रतिबन्ध लगाएको थियो । ईयूले आँप, भन्टा, पिँडालु, तितेकरेलालगायतका फलफूल र तरकारीमा प्रतिबन्ध लगाएको थियो । संयुक्त अरब इमिरेट्स (यूएई) ले सन् २०१६ मा पनि तरकारी तथा फलफूलमा प्रतिबन्ध लगाएको छ । साउदी अरब, सिँगापुर र पाकिस्तानले पनि भारतीय गोलभेँडामा आयातमा प्रतिबन्ध लगाएका थिए । नेपाली जनताले नेपालमा भित्रिरहेको भारतीय फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्न सरकारको ध्यानाकर्षण गरेका थिए । नेपाली जनताको व्यापक दबाबपछि विषादी परीक्षण गर्ने निर्णय पनि कर्मचारी र मेसिनको अभावले फिर्ता लिनुप¥यो । सरकारको बेइज्जत भयो, सत्तारुढ दलका नेता र मन्त्रीहरूलाई नमज्जा भयो । के नेकपाका अध्यक्षद्वय ओली र दाहाललाई लज्जाबोध भएन ?
Leave a Reply