भर्खरै :

कम वर्षा ः कम रोपाइँ

भोजपुर, २४ असार । असार महिना बित्न लाग्दा भोजपुरमा ५८ प्रतिशतमात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र जनाएको छ । यस वर्ष कम वर्षा भएको कारण जिल्लाको कुल धान फल्ने १८ हजार २०० हेक्टर क्षेत्रफलमध्ये हालसम्म ५८ प्रतिशत रोपाइँ सकिएको कार्यालयको भनाइ छ ।
धानखेती हुने क्षेत्रमध्ये ६० प्रतिशत हेक्टरमा आकाशे पानीको भरपर्नुपर्ने किसानको बाध्यता छ भने ४० प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको कृषि प्राविधिक युगमणि भट्टराईले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष करीब एक हजार खेतीयोग्य जमीनमा कृषकले अन्य बाली लगाएको कार्यालयको भनाइ छ । बढ्दो वैदेशिक रोजगारीसँगै सहरकेन्द्रित बसाइँसराइ र अलैँचीलगायतका विभिन्न बालीतर्फ किसान आकर्षित भएका कारण खेतीयोग्य जमीन घट्दै गएको प्राविधिक भट्टराईको भनाइ छ । केही वर्षयता कृषक परम्परागत धान बालीको सट्टा बढी प्रतिफल दिने अलैँची, रुद्राक्ष, सुन्तलालगायतका बाली लगाउनेतर्फ आकर्षित हुन थालेका छन् ।
गत वर्ष भोजपुरमा ३२ हजार मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क छ । जिल्लाको ७०० हेक्टरमा हिउँदे र वर्षे धान हुने गर्दछ भने अन्य ठाउँमा वर्षे धान हुने गर्दछ । असार बित्न लागे पनि निरन्तर वर्षा नभएकोले गत वर्षको तुलनामा यो वर्ष कममात्र रोपाइँ भएको कार्यालयको भनाइ छ । वर्षाका कारण गत वर्षको तुलनामा यस वर्ष धानखेती कम हुनसक्ने कार्यालयले जनाएको छ ।
खेत बाँझै
डोटी जिल्लाको दिपायल, पिपल्ला तथा आसपासका क्षेत्रमा लामो समयदेखि पर्याप्त मात्रामा वर्षा नहुँदा किसानका खेतहरू बाँझै छन् । अहिलेसम्म रोपाइँ नहुँदा यो वर्ष धान उत्पादनमा कमी हुने तथा किसानलाई भोकमरी हुने चिन्ता बढेको छ ।
पर्याप्त वर्षा नहुँदा अधिकांश खेतमा धान रोपाइँ त परै जाओस् धानको बीउसमेत राख्न नसकिएको दिपायलका स्थानीयवासी कलक खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “असार सकिन लागिसक्यो, हामीले पानी नहुँदा बीउसमेत राख्न पाएका छैनौँ, कहिले पानी आउला र बीउ राखेर धान रोपौँला ।” जिल्लाका ग्रामीण क्षेत्रमा रोपिएको धान तथा लगाइएको मकैबाली लामो खडेरीका कारण सुकेका छन् । बाली सुक्न थालेपछि किसान निरास छन् ।
असारको २३ गतेसम्म जिल्लामा जम्मा ३० प्रतिशत खेतमा रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्र डोटीका प्रमुख किसनसिंह थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म कम्तीमा ५० प्रतिशत रोपाइँ सकिनुपर्ने हो तर पानी नपर्दा रोपाइँ हुन सकेन, उत्पादनमा कमी हुने निश्चित छ ।”
शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिकालगायतका विभिन्न स्थानीय तहका अधिकांश वडाका खेतमा रोपाइँ हुन नसक्दा धेरै खेत बाँझै रहेको छ ।
कतिपय ठाउँमा रोपाइँका लागि तयार भइसकेको बीउ पनि पानी नहुँदा मर्न थालेको तथा केही ठाउँमा किसानले जसोतसो गरेर धानको बीउसम्म राखेको शिखर नगरपालिका–१ का स्थानीयवासी लोकबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “खोलाको पानीको भरमा धानको बीउसम्म राख्न सकेका छौँ तर रोपाइँ कसरी गर्ने चिन्तामा परेका छौँ ।”
कतिपय ठाउँमा भने अझै बीउ पनि नराखेको बताइएको छ । छिटफुटरूपमा जिल्लामा वर्षा भए पनि खोलामा भेल आउने गरी अझै पानी परेको छैन । दिपायल सिलगढी नगर गाउँपालिका–४ गैराका ४५ वर्षीय वीरभान कामीले कुुलोमा पानी नआउँदा बीउसमेत राख्न नसकेको दुखेसो पोख्नुभयो । उहाँले भन्नयो, “केहीले पानी आउला र बीउ राखौँला भनेर बसेका छाँै, पानी नपरे बीउ नराखेरै खेत बाँझै पर्ने भए ।” उहाँले असार महिना बित्नै लाग्दासमेत पानी राम्रोसँग नपरेकाले यसपटक धान उत्पादन राम्रो नहुने निश्चित भएको बताउनुभयो । त्यसैगरी जिल्लाकै अर्को शिखर नगरपालिका–१ सेरीका ४१ वर्षीय कमल ऐरले जसोतसो बीउ राखे पनि पर्याप्त पानी नहुँदा धान रोप्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जसोतसो धानको बीउ त राखेका छौँ, पानी नपर्दा रोपाइँ गर्न सकेका छैनौँ, उम्रिएको बीउ फुल्न थालिसक्यो पानी पर्ने छाँटकाँट छैन ।”
जिल्लाका अन्य स्थानीय तहहरू बडीकेदार, बोगटान, जोरायल, सायल, पूर्वीचौकी, आदर्श, केआईसिंहलगायतका गाउँपालिकामा रोपाइँ भए पनि पानी नपर्दा रोपो सुक्दै जान थालेको स्थानीयवासी बताउँछन् । सिँचाइ सुविधा पुगेका ठाउँमा धान रोपाइँ सम्पन्न भए पनि अन्य ठाउँमा भने हुनसकेको छैन । जिल्लामा सबैभन्दा बढी जमीनमा सिँचाइ कुलो नहुँदा आकाशे खेतीको भरमा रोपाइँ गरिँदै आएको छ । कृषि ज्ञान केन्द्र डोटीका अनुसार डोटीमा कुल १० हजार ६६५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । सो कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष डोटीमा २२ हजार ४४४ मेट्रिक टन धान फलेको थियो । अघिल्लो वर्ष जिल्लामा २.१४ टन प्रतिहेक्टर धान उत्पादनमा वृद्धि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *