भर्खरै :

पाकिस्तानी आकाश भारतीय विमानका लागि खुला

कराची, ३१ असार : (एएफपी) । पाकिस्तानले मङ्गलबार सबै प्रकारका नागरिक उडानहरूका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ ।
पाकिस्तान र भारतबीच उत्पन्न तनावका कारण पाकिस्तानले भारतका गैरसैनिक विमानको पाकिस्तानी आकाश हुँदै उडानहरूमा प्रतिबन्ध लगाएको थियो ।
पाकिस्तानी नागरिक उङ्डयन प्राधिकरण (सीएए) ले सबै प्रकारका गैरसैनिक उडानहरूका लागि पाकिस्तानी हवाई क्षेत्र खुला गरिएको जनाएको छ ।
सीएएका प्रवक्ताले भारतसँग सीमा जोडिएको पूर्वी सीमावर्ती क्षेत्रमा पनि हवाई क्षेत्र खुला गरिएको जानकारी दिए ।
गत फेब्रुअरीमा भारत र पाकिस्तानका हवाई सैनिकबीच आक्रमण र प्रत्याक्रमण भएपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र विदेशी विमानका लागि प्रतिबन्ध लगाएको थियो ।
पाकिस्तानले केही प्रतिबन्धहरू मार्चमै फिर्ता लिएपनि भारतसँगको तनाव मत्थर नभएका कारण पाकिस्तानको पूर्वी क्षेत्रमा यस्तो प्रतिबन्ध फुकुवा गरेको थिएन ।
पाकिस्तानको उक्त कदमका कारण भारतबाट पश्चिमी मुलुकमा हुने उडान प्रभावित भएका थिए । पाकिस्तानबाट पूर्वतर्फ हुने हवाई यात्रामा समेत पाकिस्तानी कदमबाट ठूलो असर परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *