भर्खरै :

साउन २ र असार १९ को ऐतिहासिक महत्व

२०२५ साउन २ को सङ्घर्ष
विसं २०२१ को भूमिसम्बन्धी ऐनमा व्यवस्था भएअनुसार भक्तपुरमा २०२३ मा नवदुर्गा बहुमुखी सहकारी संस्था खोलिएको थियो । पञ्चायती सरकारले यसको अस्थायी सञ्चालक समितिको अध्यक्षमा मङ्गलेचा भन्ने कृष्णभक्त चगुठीलाई बनायो । सहकारी संस्थाले प्रतिरोपनी जग्गाधनी र मोहीसँग क्रमश ः ३ माना र ६ माना तथा मोही नलागेको जग्गाधनीसँग ९ माना अनिवार्य बचत उठायो । सो सङ्कलित रकम कृषि विकासका लागि उपलब्ध गराउने र ५ वर्षपछि एकमुष्ट ब्याजसहित फिर्ता गर्ने घोषणा गरियो ।
त्यस सहकारी संस्थाका अधिकांश पदाधिकारीहरूको विगत जीवन जनविरोधी र अनैतिक थियो । किसान भएर किसानहरूको शोषण गर्ने उनीहरूको जनविरोधी चरित्र थियो । त्यसका पदाधिकारीहरूका काम–कारबाही सहकारी ऐन–नियमसँग मेल खाँदैनथ्यो । सहकारी नियमअनुसार कोषाध्यक्ष हुन आफ्नो आयआजर्नको आयस्ता हुनुपथ्र्यो । त्यसमा श्रीबहादुर प्रजापति जस्तो कुनै आयस्ता नभएका व्यक्ति नवदुर्गा बहुमुखी सहकारी संस्थाको कोषाध्यक्ष हुँदा सुरुदेखि नै सहकारी विभागमा विरोधपत्र दिए । कहीँ कतैबाट सुनुवाइ भएन किनभने त्यो एकतन्त्रीय पञ्चायती व्यवस्थाको नियोजित काम थियो ।
संस्थाका पदाधिकारीहरूले आफ्नो चरित्रअनुसार काम गर्नु स्वाभाविक थियो । संस्था गठन भएको थोरै समयमै अनेक अनैतिक कामहरू गरेर आफ्नो स्वार्थ पूरा गरेको कुरा थाहा भयो । तिनीहरू निम्न अनैतिक काम गर्थे –
१. संस्थाले उठाएको बचत धान महँगोमा बेचेर सस्तोमा बेचेको हिसाब राख्ने,
२. जम्मा भएको रकमले किसानहरूको लागि आवश्यक पर्ने रासायनिक मल, किटनाशक औषधि, बीउ, पानी तान्ने पम्प (कल), धान चुट्ने कल (थे्रसर) र अन्य कृषि उत्पादनका साधन खरिद गर्नुपर्ने नगरी हेटौँडा, चितवनबाट काठ, तोरी, मकै आदि ल्याएर संस्थाको रकमले व्यक्तिगत नाफा कमाउने,
३. संस्थामा आफ्नो मान्छेलाई नियुक्ति गर्ने र आफ्नो नातेदारलाई हजारौँ रुपैयाँ ऋण दिने,
४. अस्थायी सञ्चालक समितिको बैठकमा जलपानमा अनावश्यक खर्च देखाउने आदि ।
किसानहरूमाझ यी कुरा व्यापक चर्चा भए । आफ्नो रगत–पसिनामा यसरी अनैतिक रूपले रजाइँ गर्दा किसानहरूलाई असह्य भए ।
सहकारी नियम, विनियमअनुसार सहकारी संस्था स्वीकृत भएको ६ महिनामा प्रारम्भिक सभा, प्रत्येक ६÷६ महिनामा साधारणसभा र दुई वर्षको एकपटक सञ्चालक समितिको चुनाव गर्नुपर्ने थियो । त्यस सम्बन्धमा बचतकर्ताहरूले सम्बन्धित विभागमा थुपै्र गुनासोहरू पेश गरे तर कुनै कारबाही भएन ।
२०२५ साउन २ गते प्रारम्भिक साधारण सभा गर्ने निर्णय भयो । निर्वाचनबारे अरुलाई थाहै नदिने र मतदान गर्न नदिने उद्देश्य राखी असार १५ गतेबाट सदस्य बन्न रोक लगाए । कसैले नदेख्ने ठाउँमा सूचना टाँसी नियम पु¥याउने र भित्रभित्रै आफूहरू पुनः निर्वाचित हुने षड्यन्त्र गरे ।
प्रारम्भिकसभा हुने ६÷७ दिनमात्र बाँकी थियो । सहकारी संस्थाको रेखदेख गर्ने सहकारी विभागका कर्मचारीले साउन २ मा नवदुर्गा सहकारी संस्थाको सञ्चालक समितिका पदाधिकारीहरूको निर्वाचन हुँदै छ भन्ने जानकारी दिए । सहकारी संस्थाका पदाधिकारीहरूको षड्यन्त्रपूर्ण कार्यबारे सबैतिर प्रचार भयो ।
भोलिपल्ट बिहान सयौँ बचतकर्ताहरू सदस्य बन्न तेखाचोस्थित सहकारी संस्था अगाडि भेला भए । संस्थाका मेनेजर रामप्रसाद चाँदले बचतकर्ताहरूलाई सदस्य बनाउन मानेन । झण्डै ४÷५ घण्टा वादविवाद भयो ।
सहकारी विभागको जिल्ला शाखा सिद्धपोखरी दूधपाटीमा थियो । नगरका बचतकर्ताहरूले संस्थाका पदाधिकारीहरू चुन्ने र चुनिने अधिकार पाउन सहकारी संस्थामा सदस्यताको माग राखे । सहकारी विभागका शाखा प्रमुखले मेनेजर रामप्रसाद चाँदको नाममा २१ को भूमि ऐनअनुसार नगरका बचतकर्ताहरूलाई असार महिनाभर सदस्यता वितरण गर्न भन्ने आदेशपत्र लेखे । पुनःसदस्य बन्नेहरूको घुइँचो लाग्यो । धेरै सदस्य बने । किसान कार्यकर्ताहरू किसानविरोधीहरूलाई फाल्न लागिपरे ।
२०२५ साउन २ को दिन थियो । लायकुको ५५ झ्याले दरबार अगाडि भूपतीन्द्र मल्लको सालिक पछाडि कृष्ण मन्दिरको पश्चिम मोहडामा नवदुर्गा बहुमुखी सहकारी संस्थाको प्रारम्भिकसभाबाट सञ्चालक समितिका पदाधिकारीहरू छान्ने तयारी भइरहेको थियो ।
बिहानको ७ बजे उम्मेदवारी दिने समय थियो । नगर र गाउँबाट हजारौँको सङ्ख्यामा साधारण किसानहरू भेला भए । मञ्चमा जिल्ला सभापति मदनकृष्ण हाडा, बिकुलाल भैल र सहकारी विभागका रजिस्ट्रार थिए । एकजना माइक फुक्दै थिए ।
सहकारी ऐनअनुसार सबै बचतकर्ताहरू स्वतः सदस्य हुन्थे । अतः उनीहरूलाई मत दिने अधिकार पनि थियो । तर सभाको सुरुमै कृष्णभक्त चगुठीले सबै बचतकर्ताले मत दिन नपाउने नियम सुनाए । तब किसान जनताले प्रश्न गरे–कानुनले दिएको अधिकार तिमीले किन नदिने ?
भनिन्छ, अपराधीहरू एउटा अपराध लुकाउन बारम्बार अपराध गर्छन् । कृष्णभक्त चगुठी र उनका सहयोगीहरूले गरेको भ्रष्टाचार जनताबीच उदाङ्गिने डरले तिनीहरू भित्रभित्रै षड्यन्त्र गर्दै थिए । तिनीहरूले आफ्नो कुरा मान्ने व्यक्तिहरूलाई रातारात सदस्य बनाएको कुरा भेद खुल्यो । षड्यन्त्रको भेद खुलेपछि किसान कार्यकर्ताहरूले सबै बचतकर्ताले मत दिन पाउनुपर्छ अथवा आजको चुनाव स्थगित गर्नुपर्छ भन्ने माग राखे ।
तर कृष्णभक्त चगुठीले अत्तो थाप्दै चुनाव स्थगित नहुने र सबै बचतकर्ताले मत पनि दिन नपाउने धम्की दिए ।
त्यस कुराले उपस्थित जनसमूह आक्रोशित भए । आफ्नो भ्रष्टाचार लुकाउन कसैले नदेख्ने ठाउँमा सूचना टाँसी आफ्नो नजिकका बचतकर्ताको मात्र रसिद संस्थामा पेश गराई, धाँधली गरी चुनाव जित्न खोजेको प्रस्ट थियो । त्यस अनिश्चितको स्थितिमा चुनाव स्थगित हुनैपर्छ भन्ने माग जायज थियो ।
तिनीहरूको कालो कर्तुत उदाङ्गिदै थियो । जनसमूहको विरोधका कारण तिनीहरूले चुनाव स्थगित गरेको घोषणा गरे । सोझा सीधा किसानहरू चुनाव नहुने भएपछि आ–आफ्नो घर फर्के । तर प्रतिक्रियावादीहरू घृणित हुँदारहेछन् । मञ्चको पछाडि (दरबार स्क्वायरकै ठूलो घण्टानिरको कृष्ण मन्दिर पछाडि) अर्कै षड्यन्त्र भइरहेको थियो । तिनीहरूले सोझा–सीधा किसानहरूलाई चुनाव स्थगित भयो भन्दै पाँच ठाउँबाट माइन्युट बुक (निर्णय कापी) मा सही गराए, निर्णय कापीमा आजको साधारणसभाबाट नयाँ कार्यकारिणी समिति गठन गर्न चुनावमा भाग लिएको व्यहोरा लेखिएको थियो ।
किसान कार्यकर्ताले यसको सुइको पाउनासाथ सबै जनतालाई सचेत पारे । तुरुन्त बिकुलाल भैल समातिए । तिनलाई भूपतीन्द्र मल्लको सालिक दायाँतिर ठूलो घण्टाको मुनि लगेर सबैले देखिने ठाउँमा उभ्याए । ठूलो हो–हल्ला भयो । बाबुकाजी बासुकला आइपुगे । तालीको गडगडाहत भयो ।
अग्लो ठाउँमा उभ्याइसकेपछि बिकुलाल भैलसँग कसको आदेशमा यो काम गरेको हो भनी केरकार भयो । तिनले विष्णुप्रसाद नेपालीको आदेशमा भएको भन्ने बयान दिए । संस्थाका तत्कालीन सल्लाहकार विष्णुप्रसाद नेपालीको खोजी भयो । पुरानो डीएसपी कार्यालय अगाडिको शिव मन्दिरको पेटीमा बसेको विष्णुप्रसाद नेपालीलाई देख्नासाथ त्यहीँबाट घोक्र्याउँदै ल्याए र त्यही ठाउँमा उभ्याए । कर्मचारी विष्णुदास भैललाई पनि निर्णय कापीसहित समाते र जनताको बीचमा उभ्याए । जनताले कृष्णभक्त चगुठी, मेनेजर रामप्रसाद चाँदको खोजी गरे । तिनीहरू सभास्थलबाट भागिसकेका थिए । जनतासामु माफी मगाउने काम हुँदै थियो । कृष्ण मन्दिरसँगैको मञ्चमा रहेको आमन्त्रित पाहुनाहरू तत्कालीन सीडीओ, जिल्ला सभापति, भूमिसुधार अधिकारी, सहकारी विभागका रजिस्ट्रार आदि मञ्च छोडेर भागाभाग भए । मञ्च जनताले कब्जा गरे । जनसभा सुरु भयो । भ्रष्टहरूको कालो कर्तुत जनतासामु उदाङ्गियो । पक्राउ परेका भ्रष्टहरूलाई उचित सजाय दिनुपर्ने आवाज उठ्यो । अब उप्रान्त जनतालाई धोखा दिनेछैन भनेर कबुल गरेपछि तिनीहरू छोडिए । तिनीहरूको षड्यन्त्रको दसी प्रमाणसहित आवश्यक कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा पेश गरे । त्यसै सभामा संस्थाको हिसाब जाँच गर्न गणेशभक्त बाटीको संयोजकत्वमा १७ सदस्यीय एक समिति गठन भएपछि सभा स्वतः बिसर्जन भयो । जनता आ–आफ्नो घर फर्के ।
रातको करिब २ बजेको थियो, भनपा वडा नं ५ भोलाछेंका एक किसान कार्यकर्ताको घरमा ती भ्रष्टाचारीहरूले हमला गरे । तिनीहरूले ढोका फोड्ने प्रयास गरिरहँदा वरपरका किसान जनताले तिनीहरूको प्रतिकार गरे । ती हमला गर्नेहरू विष्णुप्रसाद नेपाली, रामप्रसाद चाँद, सूर्यप्रताप राणालगायतका चिनिएका व्यक्तिहरू नै थिए ।
यो खबर तत्काल किसान कार्यकर्ताहरूले टोल–टोल र घर–घरमा पु¥याए । कोदालीको बीँड, खर्पनको नोल, लाठी समातेर ठाउँ–ठाउँका कार्यकर्ताहरू त्यस ठाउँमा पुगे र खोजतलास गरे । तर भेटाउन सकेन । रात छिपिसकेकोले आक्रोशित किसान कार्यकर्ताहरू सम्झाइबुझाइपछि त्यसै फर्के ।
भोलिपल्ट सूर्यप्रताप राणाको घरमा तिनीहरूको बैठक भइरहेको सुइको पाएपछि किसानहरूले घेरा दिए । अन्य सहभागीहरू त भाग्न सफल भए तर घरधनी सूर्यप्रताप राणा भने जनताको घेरामा परे । उपस्थित जनताको बीचमा अब उप्रान्त अर्काको घर र ढोका फोड्न जान्न भनी माफी मागेकाले तिनी उम्किन पाए । यसरी भ्रष्टाचारीहरूलाई जन–कारबाही गरेको कुरा देशव्यापी समाचार बन्यो । भ्रष्टहरूका निम्ति त्यो अशुभ बन्यो ।
२०२६ असार १९ को सङ्घर्ष
२०२५ साउन २ गते नवदुर्गा बहुमुखी सहकारी संस्थाका भ्रष्ट पदाधिकारीहरूलाई जनकारबाही गरेको पुग नपुग एक वर्षपछि अर्को घटनाको वातावरण तयारी भइरहेको थियो । साउन २ गतेको भ्रष्टाचारविरोधी आन्दोलनमा किसानहरूले सक्रिय भाग लिएका थिए । त्यसैले तिनीहरूलाई अरु बेलाभन्दा असार (रोपाइँ) को बेला सास्ती गर्न सकिने देखी संस्थाका भ्रष्ट पदाधिकारीहरू आफ्नो बेइज्जतीको बदला लिने सुरमा थिए ।
असार महिनाको आधा–आधी बितिसकेको थियो । खेतमा पानी पर्याप्त भएर पनि मल नभएकोले रोपाइँ हुन सकेको थिएन । कृषिप्रधान देशमा कृषि उत्पादन र किसान वर्गलाई सुविधा दिन खडा भएको सहकारी संस्थाका पदाधिकारीहरू जानी–जानी कुनै प्रयास नगरी चुपचाप बसे । छेकथुन गरी भँेडा, बाख्रा र भैँसीसमेत बेच्न लगाई उठाएको बचत रकमले संस्थाका भ्रष्ट पदाधिकारीहरू व्यक्तिगत रूपमा नाफा कमाउन हेटौँडा चितवनबाट काठ, मकै, तोरी, सुर्ती आदि ल्याएर व्यापार गर्नमा व्यस्त थिए । संस्थाले भक्तपुरको साकोलन (वडा नं ३), खौमा (वडा नं १५), चोछेँ (वडा नं ९) र गोल्मढी (वडा नं ७) मा कृषिसम्बन्धी रासायनिक मल, बीउ आदि वितरण गर्ने डिपोहरू खोलेको थियो । असार नलाग्दै किसानहरू आफूलाई पायक पर्ने डिपोहरूमा मलको लागि धाउन थाले । तर जहिले पनि आएको छैन भन्ने एकोहोरो जवाफले किसानहरू आजित भइसकेका थिए ।
२०२६ असार १७ गते किसानहरू आ–आफ्नो क्षेत्रको डिपोमा भेला भए । डिपोमा कार्यरत कर्मचारीसँग किसानहरूले मल नल्याउनाको कारण सोधे । सबै डिपोमा कर्मचारीहरूले आफूलाई कुनै जानकारी नभएको र संस्थाको जिम्मेवार पदाधिकारीसँग भेट वेस हुने बताए । किसानहरू संस्थाका जिम्मेवार पदाधिकारीहरूलाई भेट्न तेखाचो टोल (वंशगोपाल) मा गए । संस्थाको मुख्य कार्यालय त्यहाँ थियो । किसानहरू जनता डिपो–डिपोमा मल लिन आएको थाहा पाउनासाथ अर्कै व्यक्तिलाई का.मु. मेनेजर दिएर जिम्मेवार पदाधिकारीहरू भागिसकेका थिए । का.मु. मेनेजरसँग किसानहरूले मल नआउनाको कारण सोधे । धेरै समयको वादविवादपछि असार १९ गते मल ल्याउने लिखित वचन दिए र किसानहरू फर्के ।
असार १९ गते बिहान ८ बजेदेखि किसानहरू मल पाउने आशामा आ–आफ्ना बोराहरू लिएर तेखाचोमा गए । किसानहरूलाई मर्का परेको मल पाउने भएपछि ठूलो जमघट हुनु स्वाभाविक थियो । तर त्यहाँ भ्रष्ट पदाधिकारीहरूले प्रहरी गुण्डाहरू बोलाइराखेका थिए । प्रहरीहरू देखाएर जनतालाई तर्साउने र आफूले गरेका भ्रष्टाचार लुकाउने असफल प्रयास भ्रष्ट पदाधिकारीहरूले गरे । किसानहरूले कृष्णभक्त चगुठीसँग सोधे, “आज मल दिन्छु भनेको खोइ ?”
कृष्णभक्त चगुठीले संस्थामा पैसा नै छैन केले मल ल्याउने र दिने भनी ओठे जवाफ दिए । उनको ओठे जवाफ सुनेर किसानहरू आक्रोशित भए । किसान कार्यकर्ताहरूले घरका जहान परिवारलाई नखुवाई, हामीलाई कुटेर, थुनेर उठाएको बचतको रकम खोइ ? भने प्रश्नहरू राखे । प्रश्न सोध्ने अधिकार प्रत्येक बचतकर्तालाई थियो तर, भ्रष्ट अध्यक्षले प्रशासनको आड र गुण्डाको भरोसामा तिमीहरूलाई हिसाब हेर्ने अधिकार छैन, तिमीहरूलाई के मतलब भन्ने ठाडो जवाफ दिए । किसानहरू उत्तेजित भए । कोही किसान त आवेशमा आएर मुख छोड्न थाले । कसैले हातपात गर्न थाले । तर, किसान कार्यकर्ताहरूले तिनीहरूलाई शान्त पारे । तत्कालै किसान भएर किसानहरूको दुःखमा मोज गर्ने भ्रष्ट कृष्णभक्त चौगुठीलाई समाते र उल्टो टोपी लगाए । त्यसपछि मल लिन आएका किसानहरूको जुलुस भयो । प्रहरी र गुण्डाहरूले किसान नेता तथा कार्यकर्ताहरूलाई कुट्ने प्रयास गरे । अन्यायको विरोधमा लड्दै आएका किसानहरूले ती गुण्डालाई भगाउन सफल भए । उल्टो टोपी लगाएका कृष्णभक्त चौगुठीलाई नगर परिक्रमा गराए । नगर परिक्रमा गराउँदा भ्रष्टाचारविरोधी र किसान एकताको नाराले नगर घन्केको थियो । जुलुस गोल्मढी पुग्दा प्रहरीहरू आइपुगे र भ्रष्टाचारीलाई कानुनी कारबाही गर्ने वचन दिए । कारबाही हुने आशाले प्रहरीको जिम्मा लगाए । जुलुस आमसभामा परिणत भयो । सभामा किसान कार्यकर्ताहरूले भ्रष्टहरूको भण्डाफोर गरे ।
चीनको हुनान किसान आन्दोलनको क्रममा भ्रष्टाचारीहरूलाई लामो टोपी लगाएर गाउँ घुमाइन्थ्यो । त्यही शिक्षाअनुसार चगुठीलाई उल्टो टोपी लगाई नगर परिक्रमा गरिएको थियो ।
यसैक्रममा भ्रष्टाचार गरेको अभियोगमा भक्तपुर नगर पञ्चायतका तत्कालीन सदस्य कृष्णभक्त चौगुठीलाई असार २० गते नगर पञ्चायतबाट निष्कासन गरियो । यसरी भ्रष्टहरूलाई जनताले सजाय र जनप्रतिनिधिहरूले भ्रष्ट पञ्चलाई निकाला गर्नुले भ्रष्टहरू आत्तिए । असार २० गतेकै दिन भ्रष्टाचारीहरूले आफ्नै ‘भाइ–बन्धु’ हरूको सहयोगमा एक आमसभा राखे । भक्तपुर डीएसपी कार्यालयअगाडि राखिएको त्यस आमसभा गणेशबहादुर खत्रीलगायतका वक्ताहरूले भ्रष्टाचारीहरूका समर्थनमा बोले । देशको सम्पूर्ण ऐन कानुनले अपराध मानिएको भ्रष्टाचारको विरोध गर्ने न्यायप्रेमी र भ्रष्टाचारविरोधी जनतालाई खत्रीलगायतले ‘जेलमा हाल्नुपर्छ’ जनताको अगाडि हामीलाई बेइज्जत ग¥यो भनेर दुःख व्यक्त गरे । भोलि पञ्चायती व्यवस्था र श्री ५ को सरकारलाई पनि बाँकी राख्ने छैन भनी भ्रष्टाचारीहरूको पक्षमा सरकारलाई उक्साए ।
भ्रष्टाचारीहरूको मिलेमतो प्रशासनसँग समेत भएको प्रमाण असारको अन्ततिर देखियो । प्रशासनले भ्रष्टाचार भएको देखेन र भ्रष्टाचारीलाई पनि चिन्न सकेन वा चाहेन । प्रशासकहरूको आँखामा भ्रष्टाचारीहरूको विरोध गर्ने किसान कार्यकर्ताहरूमात्र थिए । भ्रष्टाचार, अन्याय, अत्याचारका कट्टरविरोधी भएकाले तत्कालीन प्रधानपञ्च बाबुकाजी बासुकलालाई प्रहरीले नगर पञ्चायतको कुर्सीबाट पक्राउ गरे । उल्टो टोपी लगाई कारबाही गरिएका भ्रष्ट कृष्णभक्त चगुठीलाई जिल्ला पञ्चायतको निमित उप–सभापतिको कार्यभार सुम्पे । प्रशासनले नगर पञ्चायतको ‘स्वायत्तता’ लाई मात्र होइन जनप्रतिनिधिको मान्यतालाई पनि अपमान गरेको यो उदाहरण हो ।
भक्तपुरका न्यायप्रेमी जनताले त्यसको घोर भत्र्सना र विरोध गरे । भ्रष्टाचारको विरोधमा भक्तपुरमा उठेको त्यो आवाज तत्कालीन व्यवस्थाको विरोधमा बन्दै गरेको आम जनमतमा एकाकार हुनपुग्यो । भक्तपुरको भ्रष्टाचारविरोधी आन्दोलनबाट देशभरिका जनताले धेरै ठूलो पाठ सिक्न पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *