काठमाण्डौ, २ साउन । सरकारले शक्तिसञ्चयको लागि विप्लव माओवादीसँग वार्ता हुन नसक्ने बताएको छ । बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले विप्लव माओवादीका अनुचित, गैरजिम्मेवार र असम्भव माग पूरा गर्न सरकारले नसक्ने बताउनुभयो ।
‘संविधान नै फेर्नुपर्ने, राज्यव्यवस्था नै फेर्नुपर्ने कुरा गर्नुहुन्छ । के हामी त्यहाँ पुगेका हौं र !’, मन्त्री बास्कोटाले भन्नुभयो ।
मन्त्री बास्कोटाले विप्लव माओवादी सिके राउतले झै शान्तिपूर्ण राजनीतिमा पार्टी दर्ता गरेर प्रतिस्पर्धामा आउन ुपर्ने धारणा राख्नुभयो ।
उहाँले विगतमा माओवादीले प्रयोग गर्ने गरेका छलाङ, विपत्ति जस्ता शब्दप्रति घोचपेच गर्दै त्यस्ता चक्रमा सरकार नफस्ने बताउनुभयो ।
‘कुमालेको चक्रजस्तोमा जाने होइन । ठ्याक्कै उहाँहरू हिंसा छोडियो, संविधान मानियो, प्रतिस्धर्पामा आइयो भन्नुहुन्छ भने एकै मिनेटका कुरा समाप्त ।’ प्रवक्ता बास्कोटाले भन्नुभयो ।
उहाँले दाउपेचको लागि वार्ता हुन नसक्ने बताउनुभयो ।
‘मान्छे छोड्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने अनि त्यसपछि उहाँहरू वार्तामा आउनुभएन भने !’, विप्लव माओवादी वार्तामा आउने कुराप्रति नै सन्देह पोख्दै उहाँले भन्नुभयो ।