भर्खरै :

कम्युनिस्टको नाममा जनता झुक्याउँदै

भक्तपुर, २ साउन । ऐतिहासिक भ्रष्टाचारविरोधी दिवसको स्मरणमा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा बिहीबार किसान भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सांसद् सुरेन्द्रराज गोसाईले कम्युनिस्ट सरकारको नाममा ओली सरकारले जनतालाई झुक्याउने काम गरिरहेको बताउनुभयो ।
समय परिवर्तनसँगै भ्रष्टाचारको रूप फेरिएको चर्चा गर्दै उहाँले भन्नुभयो, “सरकारमा रहेका पार्टीका नेताहरूले अर्बौँ–अर्ब रकम भ्रष्टाचार गरिरहेका छन् । शासक दलहरू देश र जनताको हितभन्दा भारतीय विस्तारवादको चाहनाअनुसार चलिरहेका छन् ।”
अन्तर्राष्ट्रिय कानुनविपरीत भारतले सिमानामा सडक बाँध बनाएकै कारण नेपालको तराई क्षेत्र डुबानमा परेको स्पष्ट हुँदा हुँदै उक्त बाँध भत्काउने साहस नगर्ने सरकार भारतीय दलाल भएको प्रस्ट हुन्छ, उहाँले भन्नुभयो ।
“भष्टाचारविरोधी आन्दोलनको सान्दर्भिकता आज पनि उत्तिकै छ । देशमा पुँजीवाद रहेसम्म भ्रष्टाचार अन्त्य हुँदैन । पुँजीवादको विकल्प समाजवाद हो । समाजवादी व्यवस्थामा भ्रष्टाचार हुने गर्छ,” सांसद गोसाईले स्पष्ट पार्नुभयो ।
देशमा समाजवादी व्यवस्था स्थापनाको लागि नेमकिपाले गणतन्त्र प्रचार अभियानलाई जोड दिँदै आएको जानकारी गराउँदै उहाँले समाजवादी विचारधारा र सिद्धान्तलाई नअङ्गाल्ने सरकार कम्युनिस्ट हुनै नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेमकिपाका अग्रज कार्यकर्ताको योगदानले हामीलाई हौस्याएको छ । उहाँहरूको योगदानलाई हामीले कदापी बिर्सनु हुन्न ।”
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सभासद् सृजना सैँजूले गणतान्त्रिक सङ्घीय शासन व्यवस्थामा भ्रष्टाचार झन् झन् मौलाउँदै आइरहेको बताउनुभयो ।
मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा विकास बजेट बढी छुट्याउनु गलत रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “आज हरेक क्षेत्रमा राजनीतिक नियुक्तिले गर्दा देशमा भ्रष्टाचार बढ्दो छ । त्रिभुवन विश्वविद्यालयलाई योजनाबद्ध रूपमा डुबाउने काम भइरहेको छ ।”
नेक्राकिसङ्घका केन्द्रीय सचिव एवम् भनपा वडा नं. ६ का वडा अध्यक्ष हरिराम सुवालले भनपाका जनप्रतिनिधिहरूले निर्वाचन घोषणापत्रअनुसार पारदर्शीरूपमा विकास निर्माणका कार्य गरिरहेको, कला–संस्कृति र सम्पदा संरक्षण तथा शिक्षा, स्वास्थ्य र सरफाइमा जोड दिइरहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको कार्यक्रममा पाण्डव सुवाल, चन्द्रबहादुर उलक, उपेन्द्र सुवाल, केशवप्रसाद तिमिल्सिना र गङ्गाराम ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *