भर्खरै :

विषादी परीक्षणबिनै भित्रिन्छ टनका टन तरकारी

– राजकुमार श्रेष्ठ
चितवन, २ साउन । नेपालीले उपभोग गर्ने अधिकांश फलफूल छिमेकी देश भारतबाट भित्रिन्छ । दिन प्रतिदिन नेपाली बजारमा फलफूल तथा तरकारीको माग बढिरहेको छ । बढ्दो बजार मागलाई पूर्ति गर्नको लागि भारतीय व्यवसायीहरू प्रतिस्पर्धामा हुन्छन् । आजको भोलि नै तयार गरी भारतबाट फलफूल तथा तरकारी नेपाली बजारमा आउँछन् । जुन फलफूलमा ८० प्रतिशतभन्दा बढी विषादी रहेको पाइयो । यो मानव स्वास्थ्यको लागि अति हानिकारक हो । नेपाल सरकार यसमा संवेदनशील हुनुपर्दछ ।
काठमाडौँपछिको ठूलो बजारको रूपमा चिनिने भरतपुर महानगरपालिका– २, क्षेत्रपुरमा रहेको फलफूल तथा तरकारी बजारमा भारतबाट दैनिक पचासौं टन फलफूल भित्रिन्छ । चेकजाँचविना नै फलफूल आयात भइरहेको छ । विषादी भएको फलफूल उपभोग गर्दा हाम्रो स्वास्थ्यमा दीर्घकालीन रोग लाग्ने छ । चितवन तरकारीमा झण्डै आत्मनिर्भर बनिसकेको अवस्था छ । पछिल्लो समयमा फलफूल तथा तरकारीको बढ्दो मागका कारण छिटो उत्पादन, धेरै परिमाण र धेरै कमाउने नियतसाथ मानिसले विषादी नै विकल्पको रूपमा प्रयोग गर्न थालेका छन् । नेपालको तरकारी तथा फलफूल बजारहरूमा विषादी मापन यन्त्र राख्नु आवश्यक र अनिवार्य ठानिएको छ । वस्तु उपभोग्य छ कि छैन भन्दा पनि वस्तुको माग र मूल्यमा मात्र बजार चलेको आजको अवस्था छ । मानिसको स्वास्थ्य, मूल्य र मान्यता, मानवीयता र भावनासँग आजको बजारले कुनै सम्बन्ध राखेन । पुँजीवादी अर्थ बजारको परिणाम आज सोझासीधा जनताले भोग्दै छन् ।
महानगर फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद सापकोटा भन्नुहुन्छ, “दैनिक बजारमा ५० देखि ६० टन फलफूल भित्रिन्छ । सरकारसँग भरपर्दो, समयमै र सम्बन्धित स्थानमा उपकरण नहुँदा नेपालीले जानी नजानी विषादी खाइरहेका छौँ । चितवन तरकारीमा करिब करिब आत्मनिर्भर भइसक्यो भने फलफूल त भारतबाट नै आयात हुने हो ।”
बजारबाट आयातीत फलफूल कावसाती, हेटौंडा, डुम्रे, तनहुँ र चितवनकै बजारहरूमा वितरित हुन्छ भने उत्पादित तरकारी गोर्खा, धादिङ, पोखरा, काठमाडौँ, बुटवल, दाङ, काठमाडौँलगायत क्षेत्रहरूमा वितरित हुन्छ । भरतपुर महानगर फलफूल तथा तरकारी बजारमा पनि विषादी मापनयन्त्र राख्ने तयारी भइरहेको अध्यक्ष सापकोटाले बताउनुभयो ।
नाकामा फलफूल तथा तरकारीको गाडी रोकेर काठमाडौँमा चेकजाँच गराएर परिणाम आउनेबेलासम्म ताजा तरकारी पनि सडेर बिग्रिसकेको हुन्छ जसको कारण व्यापारी मर्कामा पर्छ । अध्यक्ष सापकोटा बताउनुहुन्छ, “नतिजा राम्रो हुन्छ भने पनि फलफूल सडिसकेको हुन्छ । पूर्वाधार विकासमा राज्य लाग्नुपर्दछ ।”
नेपाल कृषिप्रधान देश भएर पनि कृषि आधुनिकीकरण र व्यवसायीकरण हुनसकेको छैन । बजार व्यवस्थापन नहुनु, किसानले पाउने वस्तुको न्यूनतम मूल्य कायम नहुनु, उत्पादनको मात्रा बढाउन विषादी अन्तिम विकल्प ठान्नु कृषि क्षेत्रको समस्या हो । नेपाल फलफूल तथा तरकारीमा आत्मनिर्भर हुनेतर्फ लाग्नुपर्दछ । भारतबाट भित्रिने फलफूल तथा तरकारीमा चरम मात्रामा विषादी हुनु र सिमानामा विषादी चेकजाँच नगर्न भारतले पत्र काट्नु भारतीय एकाधिकार पुँजीको प्रभाव हो । यो नेपाल सरकारबाट नागरिकको स्वास्थ्यमाथि भएको खेलबाड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *