भर्खरै :

‘आर्थिक आतङ्कवाद’ सामना गर्दै इरान

संरा सङ्घ, १८ जुलाई । इरानका विदेशमन्त्री मोहम्मद जाभेद जरिफले बुधबार संयुक्त राष्ट्र सङ्घको उच्चस्तरीय बैठकमा इरानी जनतालाई निकै निर्मम ‘आर्थिक आतङ्कवाद’ को शिकार बनाइएको बताउनुभएको छ ।
“विदेशी प्रायोजनका आतङ्कवाद, अतिवाद र हिंसाका कारण निम्तिएको क्षेत्रीय खतरा र असुरक्षाले हाम्रा प्रयास विफल भइरहेका छन् । हाम्रा जनता सबभन्दा निर्मम ‘आर्थिक आतङ्कवाद’ को शिकार बनाइएको छ । अवैध राजनीतिक लक्ष्य हासिल गर्न खुलमखुल्ला सोझासिधा नागरिकलाई निशाना बनाइएको छ”, न्यु योर्कस्थित संरा सङ्घको मुख्यालयमा आयोजित दिगो विकास लक्ष्यसम्बन्धी मन्त्रीस्तरीय बैठकमा बोल्दै इरानी विदेशमन्त्री जारिफले भन्नुभयो ।
द्वन्द्व, भोकमरी, लैङ्गिक असमानता र जलवायु परिवर्तनजस्ता विषय आगामी सन् २०३० भित्र सामना गर्ने लक्ष्यसहित सो बैठकको आयोजना गरिएको थियो ।
“संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को निर्णय नं २२३१ उल्लङ्घन गरी संरा अमेरिकाले इरानमाथि थोपरेको गैरकानुनी आर्थिक नाकाबन्दीले इरान र हाम्रो वरपरका देशहरूको दिगो विकास लक्ष्य हासिल गर्न ठूलो चुनौती बनिरहेको छ”, उहाँले भन्नुभयो ।
“बहुपक्षवाद र विश्वव्यापी ऐक्यबद्धताप्रति नवीकृत प्रतिबद्धता अत्यन्त आवश्यक भइसकेको छ । सबै देश, क्षेत्र र सारमा सिङ्गो पृथ्वीको दिगो आर्थिक विकास र दिगो विकासको लागि उपयुक्त वातावरणमा सहयोग पुग्ने गरी विकसित देशले पनि फेरि फेरि आफ्नो प्रतिबद्धता नसच्याउने अवस्था बन्नुपर्छ”, विदेशमन्त्रीले न्यु योर्कमा भन्नुभयो ।
“संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ ग्युटिरेसले आफ्नो प्रतिवेदनमा सन् २०३० सम्मको दिगो विकास लक्ष्य कार्यक्रममा निकै धिमा गतिमा मात्र प्रगति भइरहेको बताउनुभयो । संसारमा सबभन्दा बढी पीडित सबभन्दा कमजोर जनसमुदाय अझै पीडित नै भएको र यसप्रति विश्वव्यापी प्रतिक्रिया धेरै महत्वाकाङ्क्षी योजना होइन”, जारिफले भन्नुभयो ।
उहाँले देशभित्र र देश देशबीचको असमानता अझ फराकिलो बन्दै गइरहेको राष्ट्र सङ्घका महासचिवको भनाइ उद्र्धत गर्दै विकास न्यायपूर्ण र समावेशी नहुञ्जेल दिगो नहुने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *