भर्खरै :

रामदेवको योग विज्ञान सम्मत छैन : सांसद प्रेम सुवाल

भक्तपुर, साउन ३ :  मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा शुक्रबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १० दिने फोटोग्राफी तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै सांसद सुवालले फोटोग्राफी तालिमप्राप्त प्रशिक्षार्थीले समाजको इतिहास निर्माणको निम्ति काम गर्न शुभकामना दिनुहुँदै फोटोग्राफीले कुनै समाज वा ठाउँको इतिहास र सभ्यतालाई जीवन्त बनाउन सहयोगी भूमिका खेल्ने बताउनुभयो ।
दरबार क्षेत्रमा अवस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन जीर्णोद्धार गर्न पुराना प्रमाण भेटाउन नसक्दा सो भवन निर्माणमा ढिलाइ भइरहेको बताउनुहुँदै सांसद सुवालले फोटाग्राफीमा आबद्ध प्रशिक्षार्थीहरुलाई ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका सम्पदा र सार्वजनिक तथा पर्तीजग्गाहरुको अभिलेखीकरण राख्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले युवा जनशक्तिलाई सही ढंगले प्रयोग गर्न नसके युवाहरु विकृति र कुलतमा फस्ने सम्भावना भएको हुँदा नयाँ पुस्ताका युवाहरुलाई पनि विभिन्न रचनात्मक गतिविधिमा संलग्न गराइराख्नुपर्नेमा जोड दिनुभयो ।
अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराईमा बाढी र डुबानको समस्या भएको बताउनुहुँदै सांसद सुवालले संसदमा विचाराधीन परमाणु र रेडियोधर्मी विधेयकको सत्यतथ्यबारे नेपाली जनता प्रस्ट हुनुपर्ने बताउनुभयो । उहाँले रामदेवको योग विज्ञानसम्मत नभएको प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले फोटोग्राफरले फोटो के हो र कसको निम्ति खिचिने हो भन्ने कुरामा स्पष्ट हुनुपर्ने बताउनुहुँदै देशको भविष्य युवाहरुको हातमा भएको बताउनुभयो ।
कृषि प्रधान देशले करोडौं रुपैयाँको खाद्यान्न आयात गरिरहेको चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले सरकारको अदुरदर्शी नीतिले देश पछाडि परेको बताउनुभयो ।
दरबारको मान्छे सडकमा पु¥याउने र सडकको मान्छे दरबारमा पु¥याउनमा फोटोग्राफीको हात हुने बताउनुहुँदै उहाँले भाषाको विकास हुनु अगाडि चित्रको विकास भएको हुँदा फोटोग्राफीलाई इतिहास र समाजको ऐनाको रुपमा ब्याख्या गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नगरपालिकाद्वारा सञ्चालित विभिन्न तालिमहरुमा युवाहरुको सक्रिय सहभागिता रहेको उल्लेख गर्नुहुँदै फोटोग्राफीको पहिलो पक्ष अभिलेखीकरण भएको बताउनुभयो ।
फोटोग्राफीले समाजको सकारात्मक पक्ष उजागर गर्न मद्दत पुग्ने विचार भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले राख्नुभयो ।
फोटोग्राफी तालिमका प्रमुख प्रशिक्षक शरद राइले भक्तपुरको प्राचिन इतिहास खोतल्न भक्तपुरका पुराना फोटोग्राफरहरुलाई अगाडि ल्याउन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र प्रशिक्षार्थीको तर्फबाट प्रवीणा सुजखुले पनि बोल्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि सांसद प्रेम सुवालले फोटोग्राफी तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र दिनुभयो । भक्तपुर नपा प्रमुख सुनिल प्रजापतिले प्रशिक्षक शरद राईलाई मयुर झ्याल मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *