सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी गरिँदै छ । कति देशले दुईचार वर्षको तयारीमा मात्रै भ्रमण वर्ष गरेको हिसाबकिताब गर्दा नेपालको तयारी ढिलो भइसकेको मान्न सकिन्छ ।
नेपालको सांस्कृतिक र भौगोलिक विविधता संसारको आकर्षणका विषय हुन् । यहाँको अनुपम जैविक विविधता एवम् प्राकृतिक सुन्दरता अतुलनीय छ । यसलाई मूल्यमा रुपान्तरण गर्ने प्रशस्तै आधार छ । त्यसको निम्ति पर्यटन उद्योगको विकास अपरिहार्य छ । यो नेपालको एउटा भरपर्दो र दिगो आर्थिक जग बन्नसक्छ । तर, अत्यन्तै सम्भावना बोकेको उद्योगको विकास यथोचित तरिकाबाट भइरहेको छैन । नेपालमा विभिन्न प्रयोजनका निम्ति विदेशी आउँछन् । विदेशी भनेपछि हुरुक्कै हुने नेपाली पनि धेरै छन् । अझ गोरो छाला भनेबित्तिकै नतमस्तकै हुने नेपाली शासक प्रवृत्ति छ । विभिन्न कूटनीतिक नियोगका कर्मचारीको रूपमा आउने विदेशी हुन्छन् । ती विदेशी पर्यटकको रूपमा भन्दा आफ्नो देशको हितको पक्षमा काम गर्न नै बसेका हुन्छन् । धर्म प्रचारको नाममा प्रशस्त विदेशी आउन गरेको विभिन्न स्रोतले बेलाबेला सार्वजनिक गरेकै छन् । त्यस्तै नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको उद्देश्य राखी विभिन्न गैरसरकारी निकायमार्फत नेपाल आउने विदेशीको सङ्ख्या पनि कम होइन । लागूपदार्थको कारोबारलगायत विभिन्न आपराधिक काममा संलग्न विदेशीले नेपाली समाजलाई कुठाउँमा पु¥याएका घटना पनि प्रशस्त भेटिन्छन् । पर्यटकको छद्मभेषमा छिमेकी देशको अखण्डताविरुद्ध काम गर्ने विदेशी पनि धेरै आएका पाइन्छन् । त्यसैले विदेशी आए भन्दैमा नेपाली सधैं खुसी हुने अवस्था छैन । नेपालीले चनाखो हुनैपर्छ ।
पर्यटक बढाउन विश्वभर राम्रो प्रचार हुनु जरुरी छ । नयाँ–नयाँ गन्तव्य पत्ता लगाउने एउटा उपाय हुनसक्छ । नगएको ठाउँमा पुग्ने रहर जोकोहीमा हुन्छ । सीधा हवाई सेवा अर्को महत्वपूर्ण उपाय हो । नेपालसँग आफ्नै पर्याप्त विमान सेवा उपलब्ध छैन । भएका विमान उपयोग पनि भइरहेको छैन । कति पर्यटक भारत भएर नेपाल आउँछन्, त्यसो हुँदा पर्यटकले नेपालमा कम समय दिने वा आउँदै नआउने समस्या पनि छ ।
पर्यटक त नेपाल आउँछन्, तिनले उपभोग गर्ने वस्तु कताबाट आउँछ ? विदेशीको पैसा विदेश नै पुगिरहेको अवस्था पनि छ । नेपालका मौलिक उत्पादनको उपभोग बढाउन के गर्नु पर्ला भन्नेबारे पनि ध्यान दिनु आवश्यक छ । गुणस्तरीय खानाको उत्पादन पनि कम महत्वको पक्ष होइन । पर्यटकले खर्च गर्ने पैसाको वितरण कसरी हुन्छ ? के पैसा केही व्यापारीमा सीमित हुन्छ ? व्यापारीमा पनि ठूला उद्योगीमा मात्र ? त्यसो हो भने समतामूलक समाज कसरी बन्ला ? सर्वसाधारण जनतामा पनि पर्यटन उद्योगबाट कसरी फाइदा पु¥याउन सकिन्छ ? यसबारे पनि चिन्तन गर्नुपर्ने आवश्यकता छ ।
हस्तकलाका उद्योगको विकासले ससाना पुँजीले विकास गर्ने अवसर पाउला । पर्यटन उद्योगले रोजगारीको सृजना गर्नेमा दुईमत छैन । सर्वसाधारण जनताका छोराछोरीलाई पर्यटनमा लाग्न तालिमको व्यवस्था गर्नुपर्ने हुन्छ । स्तरीय भाषा तालिम, पाककला तालिम, व्यवस्थापन तालिम, ट्रेकिङ तथा पथप्रदर्शक तालिम पनि जरुरी छ ।
Leave a Reply