भर्खरै :

प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दो

प्रकाश अधिकारी
सुर्खेत, ४ साउन । दैलेखको नौमूले गाउँपालिका–३ का अर्जुन गुरुङलाई अमिन (बेसिक सर्भे) पढ्ने चाहना छ । एसइई नतिजामा ३.०० जेपिएसहित उत्तीर्ण उहाँ छिटो रोजगारी पाउने आशामा प्राविधिक कोर्ष पढ्ने तयारीमा हुनुहुन्छ । “अमिन पढाइ हुने कलेज छान्दैछु, कोटा सीमित हुँदोरहेछ”, उहाँले भन्नुभयो, “प्रवेश परीक्षाको तयारी गर्दैछु, अन्य विषत्न्दा अमिन उपयुक्त लागेको छ ।”
सुर्खेत, सिम्ता–४ की कमला वली वीरेन्द्रनगरमा हेल्थ असिस्टेन्ट (एचए) को प्रवेश परीक्षाका लागि तयारी गर्दै हुनुहुन्छ । स्टाफ नर्स पढ्ने रुचि भए पनि उहाँलाई अभिभावकबाट अन्ततः एचए पढ्न सुझाव आयो । नौमूलेका अर्जुन र सिम्ताका कमला मात्र होइनन् एसइई उत्तीर्ण अधिकांश विद्यार्थीको प्राविधिक शिक्षा रोजाइ बन्न पुगेको छ ।
प्राविधिक शिक्षा पढेर गाउँघरमै रोजगारी पाइने हुँदा विद्यार्थीको आकर्षण बढेको हो । “साधारण विषय पढेर तत्काल रोजगारीको अवसर पाइँदैन, वर्षौं लगाएर मास्टर पढ्यो जागिरको टुङ्गो हुँदैन, त्यही भएर प्राविधिक शिक्षामा आकर्षण बढेको हो”, दैलेख गुराँसेका हिक्मत वलीले भन्नुभयो । कृषि जेटिए हिक्मत नेपालगञ्ज खजुरास्थित एक कृषि फर्ममा काम गर्नुहुन्छ । “फर्मले राम्रै सेवासुविधा दिएको छ”, उहाँले भन्नुभयो, “जेटिए नपढेको भए अहिलेसम्म जागिर पाउने सम्भावना थिएन, कमाइ पनि राम्रै छ ।”
प्राविधिक शिक्षा पढेर सरकारी निकाय, गैरसरकारी एवम् निजी सङ्घसंस्थामा विभिन्न रोजगारीका अवसर पाउन सकिन्छ । प्रदेश राजधानी सुर्खेत प्रशासनिक मात्र नभई शैक्षिक केन्द्र पनि हो । यहाँ कर्णाली प्रदेशका साथै सुदूरपश्चिमका अछाम, बाजुरादेखि ५ नं प्रदेशका बाँके, बर्दिया, दाङका साथै विभिन्न प्रदेशबाट विद्यार्थी यहाँ पढ्न आउँछन् । विद्यार्थीको बढ्दो मागलाई मध्यनजर गरेर वीरेन्द्रनगरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) अन्तर्गतका कलेज खुल्नेक्रम बढ्दो छ ।
लघुउद्यम सहजकर्ता कोर्ष पढाइरहेका वीरेन्द्रनगर खजुरास्थित मध्य नेपाल प्राविधिक शिक्षालयका प्रिन्सिपल विनोद लम्सालले पढाउने मात्र नभई आफूहरूले विद्यार्थीको रोजगारीको ग्यारन्टीसम्म गर्ने गरेको बताउनुभयो । आफूकहाँ पढेकामध्ये विरलै बेरोजगार भएका उहाँको दाबी छ । नेपाल सरकारले उद्यम विकासलाई प्राथमिकतामा राखेपछि यो विषयका विद्यार्थीलाई रोजगारीको राम्रो अवसर मिलेको हो ।
वीरेन्द्रनगर–५ चिसापानीस्थित देउती इञ्जिनियरिङ कलेज प्रालिका सञ्चालक उपेन्द्र खड्काले छिटो रोजगारी पाउने सम्भावनाले गर्दा प्राविधिक शिक्षामा आकर्षण बढेको बताउनुभयो । प्राविधिक शिक्षा पढेका विद्यार्थी कुनै न कुनै पेशा व्यवसायमा संलग्न भइरहेको उहाँको भनाइ छ । “जागिर पाउने भएपछि आकर्षण बढ्ने भइहाल्यो”, सञ्चालक खड्काले भन्नुभयो, “यदि कतै जागिर पाइएन भने पनि प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी आफैँ पेशा–व्यवसाय सञ्चालन गर्न सक्छन् ।”
सिटिइभिटीले कार्यक्रम स्वीकृत गरेसँगै शिक्षण संस्थाले भर्ना सुरु गरेका छन् । कोटा सीमित भए पनि विद्यार्थीको बढ्दो चापले छनोट प्रक्रियामै समस्या आउने गरेको सञ्चालक बताउँछन् । वीरेन्द्रनगरमा विभिन्न प्राविधिक कोर्ष पढाइ हुने सामुदायिक स्कूलबाहेक नौ वटा निजी शिक्षण संस्था छन् । यहाँ बेसिक सर्भे, इलेक्ट्रोनिकल सव–ओभरसियर, सिभिल सव–ओभरसियर, पशु स्वास्थ्य, विज्ञान बाली, एचए, स्टाफ, नर्सलगायतका विषय पढाइ हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *