
आइक्याप एसिया प्यासिफिकका निर्देशक लिइमा मार्टिनेज फेरेको स्वागतमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले आयोजना गर्नुभएको रात्रीभोजमा नेमकिपाको तर्फबाट फेरेमार्फत क्युवाली कम्युनिस्ट पार्टीका महासचिव राउल क्यास्ट्रोलाई उपहार हस्तान्तरण गर्दै अध्यक्ष बिजुक्छेँ ।
काठमाडाँै, ७ साउन । क्युवा ऐक्यबद्धता समिति नेपालको आयोजनामा मङ्गलबार यहाँ ‘क्युवाको वर्तमान परिस्थिति’ विषयक विचार गोष्ठी सम्पन्न भयो ।
गोष्ठीमा अन्तर्राष्ट्रिय जनतासित मित्रताका लागि क्युवाली प्रतिष्ठानकी एसिया प्यासिफिक क्षेत्रकी निर्देशक लेइमा मार्टिनेज फेरेले ६ दशक लामो संरा अमेरिकी नाकाबन्दीको सामना गरेर पनि क्युवा प्रगतिको मार्गमा अघि लम्किरहेको र क्युवाली जनता क्रान्ति र समाजवादमा अडिग रहेको बताउनुभयो ।
सन् २०१४ मा क्युवा र संरा अमेरिकाबीच कूटनीतिक सम्बन्ध पुनः स्थापना भए पनि क्युवामाथिको अमेरिकी आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दी उस्तै रहेको बताउँदै उहाँले नाकाबन्दीले क्युवाली जनतालाई ठूलो नोक्सानी भइरहेको छ भन्नुभयो ।
उहाँले क्युवाली जनताका नेताहरू जोसे मार्टि, फिडेल क्याष्ट्रो, राउल क्याष्ट्रोलगायतले दिनुभएको शिक्षा, एकताबद्ध र बलियो पार्टी, पार्टीको जनतासँगको घनिष्ठ सम्बन्धले नै सानो राष्ट्र क्युवाले संरा अमेरिकी साम्राज्यवादको प्रतिरोध गर्न सकिरहेको हो भन्नुभयो ।
क्युवाली क्रान्ति र समाजवाद दिगो बनाउन दिगो र बलियो अर्थतन्त्र आवश्यक भएकोले नै क्युवामा आर्थिक सुधारका कार्यक्रम अगाडि बढाइरहेको बताउँदै लेइमाले त्यो पुँजीवादी सञ्चारमाध्यमले दुष्प्रचार गरेको जस्तो पुँजीवादतर्फको प्रतिगमन कदापि होइन भन्नुभयो ।
उहाँले क्युवा ऐक्यबद्धता समिति र नेपाली जनताले वर्षाैं वर्षदेखि क्युवाली क्रान्ति र क्युवाली जनताप्रति जनाउँदै आएको ऐक्यबद्धताका निम्ति आभार प्रकट गर्दै “क्युवाबाट भौगोलिकरूपमा यति टाढाको देशमा पनि क्युवाको समर्थनमा यति धेरै मानिस भेला भएको देख्दा ज्यादै खुसी लागेको छ ।” भन्नुभयो ।
सभापतिको आसनबाट क्युवा ऐक्यबद्धता समिति नेपालका अध्यक्ष सुरेन्द्रराज गोसाईले अमेरिकी साम्राज्यवाद र नवउपनिवेशवादविरुद्ध क्युवाका क्रान्तिकारी नेता र जनताले बढाउँदै आएको सङ्घर्षले विश्वका धेरै देशका जनतालाई जस्तै नेपाली जनतालाई पनि प्रेरणा दिइरहेको छ भन्नुभयो ।
उहाँले क्युवा देश भौगोलिक र जनसाङ्ख्यिकरूपमा ठूलो नभए पनि विश्वका न्यायप्रेमी, शोषित र उत्पीडित जनताप्रति क्युवाले ठूलो सहयोग र ऐक्यबद्धता जनाउँदै आएको छ भन्नुभयो ।
क्युवाली क्रान्ति र समाजवादी व्यवस्था ल्याटिन अमेरिका र विश्वकै न्यायप्रेमी र परिवर्तनकारी जनताका लागि नमुना बनिरहेको उल्लेख गर्दै उहाँले त्यसले पनि क्युवा संरा अमेरिकी साम्राज्यवाद र पश्चिमा प्रतिक्रियावादीहरूको प्रहारको तारो बनिरहेको प्रस्ट पार्नुभयो ।
नेपालमा आफूलाई ‘कम्युनिस्ट’ दाबी गर्नेहरू कम्युनिस्ट सिद्धान्त र व्यवहारबाट झन् झन् टाढिंदै गएको बताउँदै उहाँले समाजवाद र साम्यवादको लक्ष्य नराख्नेहरू र साम्राज्यवादको विरोध नगर्नेहरू पनि ‘कम्युनिस्ट पार्टी’ भइरहनु नेपालको विडम्बना हो भन्नुभयो ।
त्यस्तै नेमकिपाको वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सांसद सृजना सैंैजूले क्युवाली क्रान्ति र जनताविरुद्ध अमेरिकी साम्राज्यवादको नाकाबन्दी र हमला क्युवालीविरुद्धको मात्र नभई समाजवादमाथिकै हमला हो भन्नुभयो ।
पुँजीवाद विश्वका बहुमत जनताको दुःखकष्ट, शोषण, उत्पीडन अन्याय र अत्याचारको स्रोत भएको उल्लेख गर्दै उहाँले पुँजीवादका तमाम विकृति विसङ्गतिको समाधान समाजवादी व्यवस्थामात्र भएको बताउनुभयो ।
सांसद सैंजूले नेपाली जनता २०७२ को विनासकारी भूकम्पबाट प्रताडित भइरहेको बेला क्युवाली सरकारले मेडिकल बिग्रेडको नाममा दक्ष चिकित्सक टोली पठाई नेपाली जनताको उपचार सेवा उपलब्ध गराएको स्मरण गर्दै त्यो नेपाली जनताप्रति क्युवाली जनताको ऐक्यबद्धता भएको बताउनुभयो ।
क्युवा ऐक्यबद्धता समितिका सचिव नीरज लवजूले क्युवाली क्रान्ति र क्युवाली समाजवादको वर्तमान परिस्थितिबारे चर्चा गर्दै क्युवा ल्याटिन अमेरिकी र विश्वकै क्रान्तिकारी आन्दोलनका लागि प्रेरणा र आधारभूमि बनिरहेको बताउनुभयो ।
क्युवा अहिले पनि स्वाधीनता आन्दोलनका नेता जोसे मार्टि, क्रान्ति नेता फिडेल क्याष्ट्रो र चे ग्वेभाराको मार्ग निर्देशनमा चलिरहेको बताउँदै क्युवाली जनताले आज पनि ‘समाजवाद या मृत्यु’ को नारा लगाइरहेका छन् भन्नुभयो ।
क्युवाली समाजवादले क्युवाली जनतालाई अन्याय, शोषण, उपनिवेशवाद र साम्राज्यवादको दमनबाट मुक्त गरेर स्वाधीन र स्वतन्त्रताको जीवन दिएको बताउँदै उहाँले क्युवामाथि साम्राज्यवादी आर्थिक नाकाबन्दी नहुँदो हो त समाजवाद क्युवाले अझै धेरै उपलब्धि हासिल गरिसक्ने थियो भन्नुभयो ।
कार्यक्रममा आयोजक समितिका सदस्य राजेन्द्र चवालले पनि समाजवादी क्युवाको वर्तमान स्थितिबारे चर्चा गर्नुभएको थियो ।
Leave a Reply