भर्खरै :

क्युवामा प्रतिहजार मानिसका लागि ९ जना चिकित्सक

हवाना, २५ जुलाई । समाजवादी देश क्युवामा चिकित्सकको कुल सङ्ख्या एक लाखभन्दा बढी र सबै क्षेत्रका स्वास्थ्यकर्मीको सङ्ख्या ४ लाख ८५ हजारभन्दा बढी पुगेको छ । क्युवाका जनस्वास्थ्य मन्त्री जोसे एन्जेल पोर्टल मिरान्डाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अब क्युवामा प्रति एक हजार नागरिकको लागि ९ जना चिकित्सक हुने भएको छ । स्वास्थ्यमन्त्री मिरान्डाले सन् १९५९ मा क्युवाली क्रान्तिअघि पूरा क्युवामा मुस्किलले ३ हजारमात्र चिकित्सक रहेको र क्रान्ति यता हवानास्थित चिकित्सा विज्ञान विश्वविद्यालयले मात्र ३ लाख ७६ हजार चिकित्सक, नर्सलगायत अन्य स्वास्थ्यकर्मीहरू तयार गरेको बताउनुभयो ।
क्युवाका विश्वविद्यालयहरूबाट क्युवालीबाहेक १४१ देशका ३५ हजार ७८७ जना विदेशी विद्यार्थीले चिकित्सा विज्ञानमा दक्षता हासिल गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ । क्युवामा विशेषतः अफ्रिकी र ल्याटिन अमेरिकी देशका विभिन्न देशका विद्यार्थीले चिकित्साशास्त्रको अध्ययन गरे ।
यो वर्षमात्र हवानाबाट दस हजारभन्दा बढी स्वास्थ्यकर्मी तयार भयो । तीमध्ये १ हजार ५३५ जना विदेशी विद्यार्थी छन् । क्युवाको राष्ट्रिय स्वास्थ्य प्रणालीमा आबद्ध ४ लाख ८५ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरूमध्ये २ लाख ३४ हजार स्वास्थ्यकर्मीहरू क्युवाका ते¥ह हजारभन्दा बढी स्वास्थ्य संस्थाअन्तर्गत स्वास्थ्य विज्ञानका विभिन्न शाखामा कार्यरत रहेको मन्त्रालयले बताएको छ ।
समाजवादी देश क्युवाको स्वास्थ्य संसारमै उत्कृष्ट मानिन्छ । स्वास्थ्य क्षेत्रमा क्युवाले लगातार प्रगति गरिरहेको छ । क्युवामा हाल स्वास्थ्य चेतना, सहज उपचार, नानो मेडिसिन र रोबोटिक मेडिसिनजस्ता नयाँ विकासका कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
क्युवाली चिकित्सकहरूले संसारका विभिन्न देशमा सङ्कटकालीन समयमा चिकित्सकीय सहयोग गर्दै आएका छन् । अफ्रिकामा इबोला भाइरसको महामारी फैलिँदा क्युवाली चिकित्सकले पु¥याएको योगदानको संयुक्त राष्ट्र सङ्घले सार्वजनिकरूपमा प्रशंसा गरेको थियो । नेपाल, पाकिस्तान, पूर्वी टिमोरलगायत संसारका विभिन्न साना तथा विकासशील देशका जनताको सेवामा क्युवाली चिकित्सकले अनेकन प्रतिकूलता छिचोलेर पनि सेवा गरेका थिए ।
क्युवाको चिकित्सा सेवामा हासिल गरेको वशिष्टताका कारण संरा अमेरिका र क्यानाडाका जनता समेत क्युवा पुगेर उपचार गराउँछन् । संरा अमेरिकामा ट्रम्प सरकार बनेयता क्युवामा जान संरा अमेरिकी जनतालाई कडाइ गरेको छ । तथापि संरा अमेरिकी जनता विभिन्न तेस्रो देश हुँदै क्युवामा उपचारका लागि जाने क्रम भने रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *