भर्खरै :

‘हिरो’ बनेर छवि बढाउने !

– वस्तुराज ‘शीतल’
यतिबेला राजनीतिमा ‘हिरो’ बन्ने रहर चलेको छ । फिल्ममा हुने हिरो र हिरोनीको कुरा छोडेर हाम्रा नेताहरू ‘हिरो’ बन्ने चाहना व्यक्त गर्दै छन् । नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले हेग लगे झन् हिरो बन्ने वाणी सञ्चारमाध्यममार्फत फुकेपछि फिल्मका नायक नायिकाहरूले नफुके पनि ‘हिरो’ को एकाएक चर्चामा आयो । कसैको चर्चा या त सुकामले हुन्छ या त कुकामले हुन्छ । इज्जतदारको नाम सुनाम हुन्छ, इज्जत फालेर काम गर्नेको कुनाम हुन्छ । तर विडम्बना ¤ हाम्रा नेताहरू देश र जनताको सेवा गरेर, देशलाई समृद्ध बनाएर आफू ‘हिरो’ बन्ने सपना छोडेर अन्तर्राष्ट्रिय अदालत हेगको कठघरामा उभेर नाम कमाउने अभिलाषामा स्याबासी लिन आतुर छन् । यही भएर यो साता ‘हिरो’ कै चर्चा परिचर्चा भयो ।
राजधानीको ‘कुरी–कुरी’ शीर्षकको कार्टून कोलममा उत्तम नेपालले लेखे, ‘हेग लगे विश्वकै हिरो हुन्चु भनेर ‘रेडी’ पर्या… कसैले ‘अफर’ गरेन एलेसम्म …!!! । नागरिक दैनिकमा रविन साय्मिको ‘यो पनि’ शीर्षकको कार्टूनमा ‘हिरो’ नै हो नि ‘जनयुद्ध’ भने नाटकको’ छाप्यो । नयाँ पत्रिकामा रवि मिश्रको ‘कर्नर किक’ मा ‘हेग नजानाले हिरो बन्न पाइएन ¤ तब यहाँ कमेडियनको बाहेक भविष्य छैन !’ भन्ने छाप्यो । यसरी देशकै ठूलठूला पत्रिकाहरूमा पनि अध्यक्ष दाहालको हेगको अदालतमा उभेर हिरो बन्ने इच्छाप्रति व्यङ्ग्य गरियो ।
अदालतको कठघरामा उभेर ‘हिरो’ बनी अन्तर्राष्ट्रिय छवि बढाउने अध्यक्ष दाहालको सपना पूरा होला, नहोला त्यो आफ्नो ठाउँमा छ । के नेपालीहरूको चाहना हाम्रा नायकहरू अन्तर्राष्ट्रिय अदालतमा दण्डित भएको हेर्ने हो ? तर, किन हो कुन्नि हाम्रा नेताहरू हेगै पुगेर हिरो बन्न चाहन्छन् । अध्यक्ष दाहाल यत्रो ठूलो दलका नेता । प्रधानमन्त्री बन्ने क्युमा पर्खेर बसेका लोभलाग्दा आशामुखी नेता । स्वदेशी ‘हिरो’ बनिरहेका नेता दाहालले अन्तर्राष्ट्रिय ‘हिरो’ बन्ने सपना देख्नु पनि अनौठो होइन ।
अन्तर्राष्ट्रिय अदालतमा उभेर हिरो बन्ने लालसा राखेरै ‘जनयुद्ध’ छेडेको रहेछ, हगि ¤ झन्डै १७ हजार नेपालीको रगतको खोला बग्ने गरी भएको ‘जनयुद्ध’ को हिसाब किताब त पीडितहरूले गरिरहेकै होलान् । सायद पीडितहरूको दुःख पीडा बुझेरै, तौलेरै अध्यक्ष दाहालले पनि आफू ‘हेग’ को अदालतमा उभेरै ‘हिरो’ बन्ने रहर व्यक्त गरेको होइन कसरी भन्ने ¤ हुँदा हुँदा नेकाका सभापति शेरबहादुर देउवाले पनि ‘तपार्इँहरू हिरो हुने, मचाहिँ भिलेन ?’ भनी प्रश्न गर्नथाले । देश र जनताको हित या पक्षमा ‘हिरो’ भएर काम गरेको भए ठिक्कै हो । कि होइन, कसो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *