भर्खरै :

नवदुर्गालाई खमे चढाउनेको सङ्ख्या बढ्यो

भक्तपुर, १७ साउन । भक्तपुरको परम्परागत खमे जात्राको लागि नवदुर्गा गणलाई खमे(राँगो) चढाउने दाताको सङ्ख्या बढेको छ । नवदुर्गा नाचमा देवता भई सहभागी बन्दै आउनुभएका धन बनमालाका अनुसार आगामी पाँच वर्षको लागि नवदुर्गा गणलाई खमे चढाउने दाताको नाम अहिले नै टुङ्गो लागिसकेको छ । यसैबीच आगामी दसैंमा हुने खमे जात्राको लागि भक्तपुर नगरपालिका साविक वडा नं. २ हाल वडा नं. ८ बस्ने कृष्णमाया गाईजूले शुक्रबारनवदुर्गा द्योछेँमा खमे (राँगो) चढाउनुभएको छ ।

उक्त खमे (राँगो) नवदुर्गा द्योछेँमा भित्र्याउन द्योछेँकी नकीं (नित्यकर्म गर्ने पुजारी) कृष्णमाया बनमालाले विधिबमोजिम पूजा गर्नुभएको थियो । नकींको पूजापछि राँगोलाई निर्धारित स्थानमा बाँध्ने गरिन्छ । राँगो राख्ने परिवारको तर्फबाट कृष्णमाया गाईजूका छोराहरू न्हुछेराम गाईजू, कृष्णहरि गाईजू र कृष्णश्याम गाईजूले पूजा गरेका थिए ।
न्हुछेराम गाईजूका अनुसार राँगो सुडाल निवासी कृष्ण श्रेष्ठ (चुल्याद्य) बाट रु. ९० हजारमा खरिद गरिएको हो । उहाँले चार वर्षअघि नै राँगो राख्ने भाकल गर्नुभएको थियो ।
देवगण परिवारका सदस्य धन बनमालाका अनुसार खँम्ये (राँगो) कुनै घाउ, चोटपटक नलागेको हुनुपर्छ । कान नचिरेको, दाँत नझरेको, चक्र भएको राँगो हुनुपर्छ भन्ने मान्यता रहेको धन बनमालाले बताउनुभयो ।
खमे (राँगो) राख्ने दाता नभएको बेला पहिले नवदुर्गा देवगणका नाइके (नायो) ले राख्नुपर्ने हुन्छ । नवदुर्गा द्योछेँमा राँगो राख्ने काम गथामुग पर्व सकेपछि र गाईजात्रा पर्वअघि राख्नुपर्ने धन बनमालाले बताउनुभयो । उहाँका अनुसार राँगो राख्ने दाताहरूको सूची विस. २०८१ सम्म भइसकेको छ ।

राँगो खरिद गर्न नवदुर्गा देवगणका नाइके र सदस्यहरू जाने चलन छ । उहाँहरूको अनुमति पाएपछि मात्र राँगो खरिद गरिएको हुन्छ ।
राँगो नवदुर्गा द्योछँेमा ल्याएदेखि राँगोलाई घाँस, पराल नियमित खुवाउनुपर्ने जिम्मा नवदुर्गा देवगणका सदस्यहरूले लिनुपर्छ । राँगोलाई घाँस र पराल खुवाउन बाहिर लान नहुने मान्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *