भर्खरै :

नेपाली शासकहरू र सिन ओक जुहरू

काठमाडौँ, १७ साउन । नेपालका शासक वर्गलाई मूर्ख बनाउन विदेशीलाई त्यत्ति महाभारत पर्दैन । कहिले भारतका एक जना जोगी आउँछन् र नेपाली नेताहरूलाई टुँडिखेलमा लाइन लगाएर सुताउँछन् । अस्तित्वमै नभएको विश्वविद्यालयबाट नेपाली नेताहरू विद्यावारिधिको मानार्थ सम्मान ग्रहण गर्छन् । नेपाली चलचित्रका कलाकारहरू राज्यले आफूलाई उपेक्षा गरेको गुनासो गर्दैगर्दा नेपालका शासकहरू भारतीय सिने अवार्ड आयोजना गर्न लागिपर्छन् । दक्षिण कोरियाको एक जना महिला आएर नेपालका उच्चपदस्थलाई ‘होली वाइन’ खुवाउँछन् । कति सजिलै नेपाली शासकहरू उल्लु बन्छन् ।
गत वर्ष राजधानीमा युनिभर्सल पिस फेडेरेसन नामको इसाई धर्म प्रचारक संस्थाले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनको चर्चा अहिले पनि बेलाबेला हुने गरेको छ । सम्मेलनमा सहभागी विदेशी सरकारका प्रतिनिधिको व्यवस्थापनमा प्रधानमन्त्री केपी ओली स्वयम् सोल्टी होटलमा बास बसेको खबरको सरगर्मी अझै सेलाएको छैन । सो सम्मेलनमा सहभागी पूर्वी एसियाका विभिन्न देशका प्रमुखहरूको भन्दा युनिभर्सल पिस फेडेरेसनकी प्रमुख सिन ओक जुको चर्चा कम थिएन । नेपालका अन्य धेरै उच्चपदस्थहरूसँगै प्रधानमन्त्री ओली, नेकपा नेता माधव नेपाल र एकनाथ ढकालको सिन ओक जुप्रतिको तन्मयता देख्दा नेपाली जनता चकित परेका थिए ।
तर, बीबीसीले गत बुधबार सार्वजनिक एउटा समाचारले भने जनतालाई थप चकित बनायो । नेपाली नेताहरूले भगवान मानेका युनिभर्सल पिसफेडरेशनकी प्रमुख सिन ओक जुले फिजीमा आफ्ना अनुयायीहरूलाई बन्दी बनाई चरम यातना दिएको अभियोग पुष्टि भएपछि दक्षिण कोरियाको एउटा अदालतले ६ वर्षको कारागार सजाय फैसला गरेको छ । सन् २०१४ मा चार सय अनुयायीलाई प्राकृतिक विपत्तिबाट जोगाउने भन्दै फिजीमा लगेको र फिजी पुगेपछि उनीहरूबाट राहदानी खोसी जबरजस्ती श्रम गर्न लगाइएको आरोप पुष्टि भएको छ । सिन ओक जु स्वयम्ले ती अनुयायीबाट ‘भूत मन्छाउने’ भनी चरम यातना दिएको प्रमाण फेला परेका छन् । सिनलाई गएको जुलाईमा गिरफ्तार गरिएको थियो ।
पीडित ‘अनुयायी’हरूले आफूलाई फिजीमा सामूहिकरूपमा शारीरिक चरम यातना मात्र नदिइएको बरू चरम त्रास र मानसिक यातना पनि दिइएको अदालतलाई बयान दिएका थिए ।
“धर्मको नाममा हुने कुनै पनि गैरकानुनी कार्य क्षम्य हुनसक्दैन”, दक्षिण कोरियाको सुवन जिल्ला अदालतले फैसला गरेको छ ।
युनिभर्सल पिसफेडरेशन मातहत सञ्चालित ग्रेस चर्चबाट अन्य पाँच जना अधिकारीलाई पनि गिरफ्तार गरिएको छ । उनीहरूको गिरफ्तारीबारे चर्चले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
फिजीबाट भाग्न सफल भएकी एक जना महिला सिओयिओन लीले सिन ओक जुलगायतलाई दिइएको सजाय अपुग भएको बताएकी छिन् । उनले आफूलगायत अन्य बन्दीहरूलाई दिइएको सजायको आधारमा युनिभर्सल पिसका अधिकारीहरूलाई दिइएको सजाय कम भएको भन्दै अदालतको आदेशप्रति असन्तोष व्यक्त गरिन् ।
समाचारअनुसार फिजीको राजधानी सुभमा ग्रेस चर्चको नाममा ठूलो सम्पत्ति जम्मा गरिएको छ । फिजीमा लगिएका ‘अनुयायी’हरूलाई जबरजस्ती श्रम गराई त्यहाँ ठूलो व्यापार विस्तार गरिएको छ ।
फिजी सरकारबाट उनीहरूले अनेकन निर्माण ठेक्का पाएका छन् । फिजीका प्रधानमन्त्रीले पनि सिन ओक जुलाई उत्कृष्टता पदकले सम्मानित गरेको छ ।
नेपालका शासक र कमजोर सरकारको फाइदा उठाउने हेतुले नै नेपालमा पनि सो धार्मिक संस्थाले चासो देखाएको यो घटनाले पुष्टि गरेको छ । विडम्बना ! लघुताभासले पिरोलिएको नेपाली शासकहरूलाई मूर्ख बनाउन सिन ओक जुहरूलाई धेरै मिहिनेत गर्नुपरेन । नेपालका शासनका अड्डाहरूमा अहिले पनि कतिजना सिन ओक जुहरू र उनीहरूले पालेका मानिसहरू नेपाली शासकहरूलाई मूर्खताको जालमा फसाउन लागिपरेका होलान् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *