भर्खरै :

पत्रु खाजाले बिगार्दै नयाँ पुस्ताको स्वास्थ्य

नेपाली बजारमा पाइने पत्रु खाजा (जङ्ग फुड) ले हाम्रा बालबालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको छ । पोषणविद्हरूका अनुसार नेपाली अभिभावकहरूले ती पत्रु खाजामार्फत हाम्रा भावी सन्ततिलाई सानै उमेरदेखि नै विष सेवन गराइरहेका छौं । त्यस्ता खाजाले बालबालिकाको शारीरिक र मानसिक विकासमा नकारात्मक प्रभाव परिरहेको छ ।
आजभोलि हामी निकै व्यस्त हुन थालेका छौँ । सबैलाई समयमै कार्यालय पुगेर हाजिर गर्नुपर्ने बाध्यताले लखेटिरहेको छ । त्यही व्यस्ततामा हामीले हाम्रा सन्तानलाई कस्तो खाजा खुवाइरहेका छौँ भन्ने कुरा गौण विषय बन्दै गएको छ । हतारमा हामी केटाकेटीका टिफिन बक्समा स–साना पुरियामा विषादी राखिदिंदै छौँ । अनि सबै दोष व्यस्ततालाई दिइरहेका छौँ ।
पढेलेखेका अभिभावकहरू पनि यो चङ्गुलबाट उम्किन सकेका छैनन् । खासमा पढेलेखेका अभिभावक अझ बढी यो अवस्थाको पेलानमा परेका छन् । केही विद्यालयले जङ्ग फुडको नकारात्मक प्रभावलाई विचार गरी विद्यालयमै अलग खाजाको बन्दोबस्त गरिदिएको देखिन्छ । यो सकारात्मक कुरा हो । तर, विद्यालयमा ताजा खाएका विद्यार्थीलाई अभिभावकले त्यही चिजबल, चाउचाउ, चकलेट आदिको पासोमा हुलेको पाइन्छ ।
यस्ता सामाजिक समस्यातिर सरकारको ध्यान नै पुगेको छैन । ‘आर्थिक विकास र समृद्धिको यात्रा’ मा हिँडेको सरकारले यस्ता मसिना कुरालाई ध्यान दिएर पनि के साध्य ! तर, भावी पुस्तालाई रोगी बनाएर कुनै पनि समाज न विकासको पथमा हिँड्न सक्छ न समृद्धिको यात्रा नै सम्भव छ । सरकारले जङ्ग फुड प्रयोगसम्बन्धी केही नियमावली बनाएको छ । तथापि तिनको कार्यान्वयन भने सरकारी विद्यालय स्वयम्ले गराउन सकेको छैन ।
नेपाली बजारमा भित्रिने अधिकांश जङ्ग फुड विशेषतः भारतलगायत तेस्रो देशबाट आउने गरेको छ । त्यस्ता पत्रु खाजा तरकारीमा विषादीजत्तिकै हानिकारक हो । तरकारीमा विषादीले जस्तै जङ्ग फुडले नेपाली समाजलाई रोगी बनाउँछ । नेपालले विदेशबाट जङ्ग फुड आयातमा निषेध गर्नुपर्छ । जानाजान खान र खुवाउन नहुने थाहा पाएर पनि नेपाली जीब्रो बिगारेर नेपालीलाई रोगी बनाउने विदेशी जङ्ग फुडलाई देश भित्रिन रोकिनुपर्छ ।
नेपालमा रहेका उत्पादकलाई स्वास्थ्यमा प्रतिकूल असर पर्ने सामग्रीको प्रयोग नगर्ने बनाउँदै लानुपर्छ । त्यसको निम्ति सरकारी निकाय स्वयम्को तदारूकता आवश्यक छ । त्यसभन्दा महत्वपूर्ण पक्ष हो–जनचेतना । जङ्ग फुडले स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभावलाई व्यस्तताको बहानाबाजीले दबाउन सकिन्न । विद्यालयदेखि घरको भान्सासम्म पत्रु खानालाई निषेध गर्दै जाने अवस्थाले समाजमा एउटा स्वस्थ पुस्ता निर्माणको लागि योगदान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *