भर्खरै :

अनुदानको ब्याड बोका काटेर मासु

गोरखा, २३ साउन (रासस) : सिरानचोक गाउँपालिका–३ हर्मीमा नश्ल सुधारका लागि अनुदानमा वितरण गरेको उन्नत जातको बोका काटेर स्थानीयवासीले मासु भागबण्डा गरेका छन् । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले भूकम्पपछिको जीविकोपार्जन कार्यक्रम अन्तर्गत साविकको हर्मी गाविस वडा नं ८ का स्थानीयका लागि बाख्रामा नश्ल सुधार गर्न भन्दै गएको मङ्सिरमा बयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो ।
समूहले सामूहिकरुपमा सेवा लिने गरी वितरण गरिएको उन्नत जातको बोका काटिएको हो । “स्थानीय प्रकाश अधिकारीले पालनपोषण गर्ने गरी रेडक्रसले अनुदानमा उपलब्ध गराएको बोका आज इलाका प्रहरी कार्यालय हर्मीमा काटेर मासु भागबण्डा गरिएको हो”, वडाध्यक्ष वीरबहादुर गुरुङले भन्नुभयो ।
उहाँले घरधनी अधिकारीले धेरै ऋण लागेर बेपत्ता भएकाले घरमा उहाँको आमा हुनुभएको र पालनपोषण गर्न नसक्ने भएपछि मासु काटेर बिक्री गरिएको बताउनुभयो । “ प्रकाश घर छोडेर हिँडेपछि घरमा भएका अन्य बाख्रा, खसी, गाईभँैसी पनि लिलाम गरी समूहको ऋण बुझायौँ ।”
वडाध्यक्ष गुरुङले मासु बिक्रीबाट रु १४ हजार ४०० जम्मा भएको र सबै रकम घरधनीलाई उपलब्ध गराएको दाबी गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी गोरखाका सभापति भगवान्बाबु मास्केले करीब रु ३२ हजार बराबरको रकमबाट नश्ल सुधारका लागि गुल्मी अर्घाखाँचीबाट महङ्गो मूल्य तिरेर ल्याएको बोका काट्नु गलत भएको बताउनुभयो ।
“रु ३० हजार बराबरको त बोकाको बीमा गरिदिएका छौँ”, उहाँले भन्नुभयो, “पाल्न नसक्ने भए पनि हामी अर्र्को किसानलाई वितरण गथ्र्यौं उनीहरुले हामीलाई खबर पनि गरेनन् ।” रेडक्रसले साविकको हर्मी गाविसमा नौवटै वडामा नश्ल सुधारका लागि भन्दै बयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *