भर्खरै :

नगरकोट सडकको दुरवस्थाको विरोधमा प्रदर्शन : नगरकोट सडक खण्ड निर्माण विलम्बमा सरकार दोषी

भक्तपुर, २५ साउन । झन्डै ६ वर्षदेखि अस्तव्यस्त बनेको भक्तपुरको कमलविनायक–नगरकोट सडक खण्ड निर्माण ठेक्का लिने ठेकेदार कम्पनीलाई कारबाही गर्न र यथाशीघ्र बाटो निर्माण सम्पन्न गर्न माग गर्दै शनिबार नगरकोट सडकखण्डअन्तर्गत तेलकोटदेखि खरिपाटीसम्म विरोध प्रदर्शन तथा सभा भएको छ । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिको आह्वानमा भएको सो विरोध प्रदर्शनमा सहभागी नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभाको लागि भक्तपुर क्षेत्र नं १ का सांसद प्रेम सुवाल, प्रदेश नं ३ को प्रदेशसभा सदस्य सृजना सैंजू, चाँगुनारायण नपा वडा नं ८ का वडाध्यक्ष गणेश त्यातलगायत स्थानीय पीडित जनता र जिल्लावासी सर्वसाधारणको सहभागिता थियो ।
प्रदर्शनमा सहभागीहरूले ओली–दाहाल सरकारको संरक्षणमा रहेका सडक निर्माण ठेक्का पाएका ठेकेदारलाई कारबाही गर्न मार्ग गर्नुका साथै समयमै सडक निर्माण पूरा नगर्ने ठेकेदारलाई म्याद थप गर्ने निर्णयको विरोध गरेका थिए । उनीहरूले सडकको धुलो र हिलोले जनताको जीवन कष्टसाध्य भएको भन्दै सडक निर्माणमा भइरहेको विलम्ब सह्य नहुनेलगायतका नारा लगाएका थिए । उक्त प्रदर्शन खरिपाटीमा पुगेर विरोधसभामा परिणत भएको थियो ।
सभामा नेमकिपाका सचिव तथा सो क्षेत्रका सांसद प्रेम सुवालले कमलविनायक–नगरकोट सडक खण्ड समयमै नबन्नुमा ओली–दाहाल सरकारले ठेकेदारलाई दिएको राजनीतिक संरक्षण नै भएको बताउनुभयो ।
उहाँले सत्तासीन दलका नेताहरूको सम्पर्क जनतासँग भन्दा पनि भ्रष्टाचारी र जनविरोधीसँग भएको बताउनुभयो ।
सांसद सुवालले नगरकोट सडकबारे प्रतिनिधिसभाको विकास समितिले ठेकेदारलाई कारबाही गर्न सिफारिस भए पनि ठेकेदार आफै शासक दलका नेताहरूको संरक्षणमा रहेकोले ठेकेदारलाई कारबाही हुनेमा जनताले पत्याउन नसकेको बताउनुभयो ।
उहाँले नगरकोट सडकको दुरवस्थाबारे संसदमा कुनै पनि शासक दलले चुँसम्म नबोल्दा २०७५ को जेठ २० र २७ गतेको प्रतिनिधिसभाको शून्य समयको बैठकमा विषयमा उठाएको जानकारी दिनुभयो ।
त्यत्तिबेला हामीले भनेका थियौँ, “नगरकोट सडकको ठेकेदार शासक दलकै अध्यक्ष दाहालको घरभेटी शैलुङ कन्स्ट्रक्सनका शारदा अधिकारी हुन् । यसै कारण सन् २०१६ मा सम्पन्न हुनुपर्ने काम हालसम्म पनि पूरा भएको छैन । आज भक्तपुरका जनता, पर्यटक व्यवसायी समस्यामा परेका छन् । जनता वर्षामा हिलो र अरू बेला धुलो खान बाध्य छन् । मुहान पोखरीको पानीमा त्यही हिलो मिसिँदा फोहोर पानी खान स्थानीय जनता बाध्य छन् ।”
प्रधानमन्त्रीले भ्रष्टाचारीको मुखै हेर्दिनँ भने पनि सरकार भने एकपछि अर्को भ्रष्टाचारका मुद्दामा डुबेको बताउँदै उहाँले वाइडबडी खरिद, नेपाल टेलिकमको फोरजी सेवा, एनसेलमा भएको अर्बौंको भ्रष्टाचारलगायत उदाहरण प्रस्तुत गर्नुभयो ।
सचिव सुवालले संसदीय व्यवस्थामा प्रतिपक्षले उठाएका विषयप्रति सरकार संवदेनशील र जवाफदेही बन्नुपर्ने तर दुईतिहाइको दम्भका कारण सरकारले जनताको आवाज सदनमा सुन्न नचाहेको बताउनुभयो ।
“जनताको आवाजप्रति समयमै सरकारले ध्यान नदिए जनता सिंहदरबार र बालुवाटार घेर्न बाध्य हुनेछन्”, उहाँले भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सृजना सैंजूले चुनावमा समृद्धिको नारा लगाउने शासक दलले जनतालाई दैनिक धुलो र हिलो खुवाइरहेको बताउनुभयो ।
सन् २०२० को नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने तयारी गरिरहेको दाबी गर्ने नेपाल सरकारले काठमाडौँ उपत्यकाको सबभन्दा चर्चित पर्यटकीय केन्द्र जाने बाटोको अवस्थामा सुधार गर्र्न बेवास्ता गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाजवादको बाटोमा हिँडेको दाबी गर्ने सरकार दलाललाई पाल्ने र पोस्ने काममा लागेको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोंजूले सत्तासीन दलकै कार्यकर्ताले नगरकोट सडक खण्ड निर्माणबारे बनाएको दबाब समूह पीडित जनताको आक्रोश मत्थर गर्न बुनिएको चालबाजी भएको बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका पूर्वअध्यक्ष नीरज लवजू, नेक्रायुसङ्घका मीनबहादुर बाटा र कुमार थिङलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *