भर्खरै :

जम्मु–काश्मीरमा भारतीय थिचोमिचो हुँदा नेपालीले विरोध गर्नुपर्ने

काठमाडौँ, २५ साउन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘जम्मु–काश्मीर मामिला र समसामयिक राजनीति’ विषयमा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले जम्मु–काश्मीरको अलग्ग संविधान, झन्डा र विशेषाधिकार भएका कारण भारतको आफ्नो अभिन्न अङ्ग नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जम्मु–काश्मीरका राजा हरि सिंहले भारतसँग सुरक्षाको लागि मात्र सम्झौता गरेको तर सुम्पेको होइन ।”
जम्मु–काश्मीरको रक्षा, विदेश र सञ्चार मामिला भारतले हेरेजस्तै भुटान र नेपाललाई पनि त्यस्तै व्यवहार भारतले गरेको उहाँले बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंँले भन्नुभयो, “जम्मु–काश्मीरमा भारतीय थिचोमिचो भइरहेको हुँदा नेपाली जनताले विरोध गर्नुपर्छ ।”
भारतीय विस्तारवादले पाकिस्तानलाई पूर्व र पश्चिम गरी विभाजन गराउन प्रतिव्यक्ति आय फरक भएको, फरक जाति भएको, भूभाग अलग्ग भएको आदि कुरा उठाएको अध्यक्ष बिजुक्छेँले आँैल्याउनुभयो ।
सिक्किम भारतमा गाभिसकेपछि अब भुटान अनि नेपाल कब्जा गर्ने भारतीय सोच रहेको उहाँले प्रस्ट्याउनुभयो ।
अध्यक्ष बिजुक्छँले भन्नुभयो, “सार्कको अध्यक्ष देश नेपाल भएकोले सार्क बैठक बोलाउन आवश्यक छ । नेकपाको सरकार निकम्मा हुनुको साथै भारतीय विस्तारवादको दलाल भई काम गरिरहेको छ ।”
विद्यार्थीहरू आ–आफ्नो विषयमा निपुण हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विद्यार्थीहरु राजनीतिकरूपमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवम् नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सबिन ख्याजूले जम्मु–काश्मिरी र अक्साई चीन विषयमा प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय सदस्य मिलन गणेजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *