भर्खरै :

प्लेजियारिज्म अर्थात् बौद्धिक चोरी

प्लेजियारिज्म अर्थात् बौद्धिक चोरी अपराध मानिन्छ । अर्काको लिखतलाई आफ्नो बनाउने र त्यसबाट लाभ लिने सबै कार्य बौद्धिक चोरी हुन् । खासगरी विश्वविद्यालयमा बुझाउनुपर्ने प्रोजेक्ट प्रतिवेदन, थेसिस तथा अन्य लिखित दस्तावेजमा व्यापक बौद्धिक चोरी हुने गरेको छ ।
१. पीएचडी गरेको दशकौँपछि सन् २०१२ मा बौद्धिक चोरी गरेको प्रमाणित भएपछि जर्मनीमा एकैपटक एक दर्जन राजनीतिज्ञले आफ्नो पदबाट हात धुनु परेको यथार्थ छ । तीमध्ये रक्षामन्त्री र शिक्षामन्त्री प्रमुख थिए ।
२. पीएचडीको लागि अनिवार्य गरिएपछि जर्नलमा देखापर्ने लेखहरुमा प्रायः बौद्धिक चोरी हुने गरेको पाइन्छ ।
३. हाम्रा विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि गर्ने कतिले बौद्धिक चोरी गरेका छन् भनेर नाप्ने आधार अझै बनाइएको छैन जबकि विश्वमा नाम चलेका विश्वविद्यालयले विद्यार्थीको होमवर्कसमेत प्लेजियारिज्म चेकरमा राखेरमात्रै स्वीकार गर्ने परम्परा बसालिसकेका छन् ।
४. बौद्धिक चोरी विद्वानहरुले नै गर्दै आएका छन् । कतै भाषणमा, कतै छोटो लेखनमा, कतै किताब प्रकाशनमा, कतै प्रोजेक्ट डकुमेन्टमा, कतै जर्नल आर्टिकलमा त कतै थेसिसमा ।
के के भयो भने बौद्धिक चोरी ठहर्छ त ?
१. अरुको कामलाई बेवास्ता गरी सार्नु र आफ्नो भनेर जनाउनु र यस्तो परम्परा धेरै भेटिन्छ तर कसैले वास्ता गरेमा वा खोजी गरेमा बौद्धिक चोरी जुनसुकै बेला पनि फेला पर्नसक्छ ।
२. अरुको विचारलाई आफ्नो विचार बनाउनु र सन्दर्भ नदेखाउनु , मौलिक व्यक्तिको पहिचान नखुलाउनु र मौलिक व्यक्तिको पहिचान नखुल्नु नै बौद्धिक चोरीको प्रमुख कारण हो ।
३. अरुको भनाइको प्याराग्राफ जस्ताको तस्तै उतार गर्नु तर कोटेसन चिह्नभित्र नपार्नु र यसको अर्थ मौलिक व्यक्तिको विचार आफ्नो बनाएको ठहर्छ ।
४. आ’’ जे लेखिदिए पनि हुन्छ भनेर एउटा सन्दर्भ लेख्नुपर्ने ठाउँमा अर्कै सन्दर्भ उल्लेख गर्नु र कहिलेकाहीँ सन्दर्भ सूची बनाउँदा कतिपयको सन्दर्भ टिप्न बिर्सेको वा कतै परेको हुनसक्छ, यस्तो अवस्थामा काम चलाउ त हो नि भनेर आफ्नो सजिलोको लागि मौलिक लेखक खोज्नुभन्दा अर्कैको सन्दर्भ राख्ने गरेको पनि भेटिन्छ ।
५. अरुको भनाइलाई केही शब्दमात्रै परिवर्तन गरी हुबहु उतार गर्नु र आफ्नो बनाउनु र विद्यार्थीहरुमा यस्तो रोग बढी देखा परेको छ । व्यस्त मान्छेले गर्ने भाषण अर्कैले बनाइदिँदा पनि यो समस्या देखापरेको छ । उदाहरणको लागि त्रिविको पोहर सालको दीक्षान्तमा उपकुलपतिले गरेको भाषण धेरै अघि सोही विश्वविद्यालयका उपकुलपतिले गरेको भाषणको नक्कल भेटिएको हो ।
६. अरुको लेख वा किताब वा थेसिसमा भएका कुराहरु अधिकांश उतार गरेर आफ्नो बनाउनु । यस्तो अवस्थामा सन्दर्भ उल्लेख भए पनि बौद्धिक चोरी ठहर्छ । खासगरी हाम्रा विश्वविद्यालयमा स्नातकोत्तरको थेसिस लेख्नेले यस्तो बदमासी गरेको उदाहरण बढी भेट्न सकिन्छ ।
यस्तो बौद्धिक चोरीले न त चोरी गर्नेलाई फाइदा पुग्छ न त नयाँ ज्ञानको सिर्जना नै हुन्छ । खासगरी विश्वविद्यालय यस्तो अपराधको निर्मूल गर्नेतर्फ लाग्नुपर्छ ।
मनप्रसाद वाग्ले, फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *