भर्खरै :

डन छिरेपछि समाजवाद ल्याउन बल मिल्ने ?

– दानबहादुर कपाली
सरकारले नेतृत्व गरिरहेको नेकपाभित्र भ्रष्ट, पत्रु तस्कर, राष्ट्रघाती, विदेशीका गुप्तचर, डन, कालाबजारी, कमिसनखोर, ठेकेदार आदिहरूको संलग्नता छ । तिनीहरू पार्टीभित्र क्रियाशील छन् । सत्तासीन दलले तिनीहरूसँगै चन्दा लिन्छन् । फोरजी सेवा यसको गतिलो उदाहरण हो । तर, सत्तासीन नेकपाको प्रसङ्ग र उदाहरण जोडेर सबै कम्युनिस्ट पार्टीलाई त्यही आँखाले हेर्नु ठीक होइन । सत्तासीन दल नेकपाले पार्टीभित्र डन, कमिसनखोर आदिलाई ठाउँ दिनु हुँदैनथ्यो । कारणबस पसिहाले पनि शुद्धीकरण गर्नुपथ्र्यो, कञ्जुस्याइँ नगरी फाल्नुपथ्र्यो । तर, विडम्बना ! सत्तासीन दलका नेता, मन्त्री र सांसदहरू डन, कालाबजारी र भ्रष्टाचारीहरू छिरेपछि समाजवाद ल्याउन बल मिल्ने भयो भनी फुक्छन् ।
संसदीय प्रणालीको खोल ओढेर सरकारले समाजवादको ढ्वाङ फुकिरहेको छ । समाजवादको आधार निर्माण गर्ने बखान गरिरहेको छ । तर, विकासको गति चिप्लेकीराको गतिमा छ । भइरहेको विकासमा पनि व्यापक चुहावट या अनियमितता छ । विकासको जिम्मा लिएका ठेकेदारहरूले समयमै काम गर्न सकेका छैनन् । समयमा काम गरे पनि गतिला छैनन् । यसरी एकातिर काम समयमा भइरहेको छैन भने अर्कोतिर कमसल कामको कारण तुरन्तै बिग्रिएका छन् । सत्तासीन दलका सांसदहरू पनि विकासमा सन्तुष्ट छैनन् । कुनै छुट्याइएको योजनामा ५० प्रतिशत काम भए धेरै भएको सम्झन्छन् उनीहरू ।
पाँच वर्षको लागि प्राप्त ‘जनादेश’ आत्मप्रशंसा गर्न, कामभन्दा बढी बखान गर्न र आफू अनूकूल नीति तथा कार्यक्रम नबनाउन सरकारलाई बुद्धिजीवीहरूले ध्यानाकर्षण गरेका हुन् । सरकारलाई गतिलो बनाउन, सुशासन ल्याउन सुझाव दिने बुद्धिजीवीहरूलाई सरकार मूर्ख ठान्छ, दिमाग सन्तुलित नभएको दोषारोपण गर्छ । नेकपाको नेतृत्वमा रहेको सरकारले सधैँ आफ्नो शासन हुने ठानेर निश्चित ठाउँमा मात्र विरोध प्रदर्शन गर्न पाउने निर्णय ग¥यो । यसरी जनताका प्राप्त अधिकार सरकारले कुण्ठित पा¥यो भनेर ओली प्रचण्डहरूले गरेको कामको दोष अरु कम्युनिस्ट नेताहरूलाई दिन मिल्दैन । कसैको दोष माओ त्सेतुङ्ग, लेनिन, माक्र्स, होचिमिह्न, किम इल सङ्ग, फिडेल क्यास्ट्रो, ह्युगो चाभेजहरूलाई दिन मिल्दैन । हो, कम्युनिस्टहरू बहुमत जनताको प्रतिनिधित्व गर्छन्, शोषित पीडित जनताको पक्ष लिन्छन्, साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद र पुँजीवादको विरोध गर्छन् । यो कम्युनिस्ट पार्टीको धर्म नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *